• १० मंसिर २०८१, सोमबार

टिकट वितरणका मापदण्ड

blog

मतदातालाई लाग्छ, मेरो प्रतिनिधि इमानदार होस् । दङ्गा फसादी नहोस् । भ्रष्टाचारी नहोस् । चोरी चकारीवाला नहोस् । झुटो नबोलोस् । मतदातालाई माया गरोस् । सुखदुःखमा साथ देओस् । मतदाताको सहारा बनोस् । विकासका काममा निष्पक्ष भएर योजना छनोट गरोस् । न्याय दिन सक्ने क्षमतावान् होस्। प्राथमिक स्कुलमा पढ्दा कलम, कापी पनि नचोरेको होस्। गर्वका साथ अमुक हाम्रो नेता हो भनेर छाती फुलाउन सकियोस्। निर्वाचन प्रक्रियासँगै काठमाडौँमा शीर्ष नेताको डेरा वा घरमा टिकट माग्नेको भीड लागेको छ । सोर्सफोर्स र नातागोताको चलखेल बढेको छ रे ! प्रत्येक उम्मेदवारका चेला, आफन्त लबिङ गर्न काठमाडौँ भित्रिएका छन् । 

सोझासादा कार्यकर्ता अनुशासनमा रहन्छन्। चलखेल जान्दैनन्। पार्टीको आदेश भन्दै सदावहार झोला बोक्न र वालपेन्टिङ गर्न बाध्य हुन्छन्। उम्मेदवार सिफारिस निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश हुँदै आएको छ। अहिले राजनीतिमा आर्थिक कमाइका दृष्टिकोण सुरक्षित हुँदै गएको छ। राजनीतिबाट हुने कमाइ चोखो मानिन्छ। अख्तियार र सम्पत्ति सुदृढीकरणले छानबिन गर्ने औकात राख्दैनन्। चुनावी उत्सवलाई लिएर जनमानसमा अनेकन सवाल उत्पन्न भएका छन्। पैसा, शक्ति, मोलतोल आदिको जोहो नगर्नेहरू टिकट विमुख हुन्छन्। पार्टीको टिकट कसले पाउँछ भनेर निर्वाचन क्षेत्रका मतदातामा उत्सुकता छ। अड्कल काट्दैछन्। 

टिकट कसलाई दिने विषयमा राजनीतिक पार्टीभन्दा पनि शीर्षस्थको आफ्नै काइदा कानुन छ। लगनगाँठोमा बाँधिएका दलहरूको आ–आफ्नो तानातान छ। ठूला भनिएकाहरू र तिनका परिवारका सदस्य टिकटमा सुरक्षित छन्। अन्यको हकमा हानथाप चलिरहेको छ। एकल रूपमा चुनाव लड्ने दलीय टिकट सुरक्षित भए पनि जित सुनिश्चित छैन। गठबन्धनमा टिकट अन्योल छ भने जित प्रायः (अन्तरघात भएन भने) सुनिश्चित हुने अड्कल काटिँदै छ। कोसँग चुनाव लड्ने भन्ने विषय पनि अहम् हुन्छ । राजनीतिक दलले अन्य दलको प्रत्यासी हेरी टिकट दिने गर्दछ। दलीय राजनीतिमा चुनाव महìवपूर्ण हुन्छ। आफ्नो उम्मेदवार जितोस् भन्ने चाहना सबैको हुन्छ। 

राजनीतिक दलको टिकट पाउनु भनेको दलको अधिकारपत्र पाउनु हो। दलको आधिकारिक कार्यकर्ता प्रमाणित हुनु हो। अब्बल र त्यागी हुनु हो। चुनावी टिकटका विरुद्ध अन्य कार्यकर्ताले उम्मेदवारी दिन पाउँदैनन्। कसैले उम्मेदवारी दिए पनि आधिकारिक हुँदैन। राष्ट्रिय दलहरूमा टिकटको बाँडफाँट चलिरहेको छ। एकले अर्कालाई नानाथरिका आरोप–प्रत्यारोप लगाउने क्रम जारी छ। आ–आफ्नो जितको आधार प्रस्तुत गरिरहेका छन्। टिकटमा पहुँच नभएका र टिकटको आशा नभएकाहरू शीर्ष नेतृत्वको खुलेआम आलोचना गर्दैछन्। 

अनुमानका भरमा अनेकन आकाङ्क्षीको नामले बजार गरम छ। ठूला भनिएका नेताहरूलाई टिकटको वास्ता हुँदैन। उनीहरू स्वतःसिद्ध टिकटधारी हुन्छन्। दलीय व्यवस्थामा टिकट दिइने अनेकन आधार हुन्छन्। टिकटमा पनि ‘जसको लट्ठी उसैको भैँसी’ प्रमुख आधार हुन्छ। टिकट पाउन साम, दाम, दण्ड र भेद चलाउनु पर्छ। टिकटमा धर्म, वर्ग, क्षेत्र, लिङ्गभन्दा पनि अर्थले प्रभावित गर्दछ। टिकट सजिलै पाउनु र नपाउनुमा दलको आन्तरिक संस्कारको भूमिका महìवपूर्ण हुन्छ। जनताका नजरमा कस्ता व्यक्तिलाई टिकट दिइयोस् भनेर चाहना राख्छन् भन्ने विषयमा छोटो बहस गर्न सकिन्छ। 

टिकटधारी अपराधी नहोस्। राजनीतिमा अपराधीकरण बढ्दै गएको छ। अपराधमा संलग्नलाई दलले कतिपय अवस्थामा टिकट दिएकोमा मतदाता रुष्ट छन्। उम्मेदवारमा कुनै किसिमको दाग नहोस् भन्ने जनचाहना हुन्छ। अपराधीसँगको नाताले निर्वाचन क्षेत्रको शिर झुक्ने गर्छ।

इमानदार व्यक्ति होस्। उम्मेदवारलाई टिकट दिनु महìवपूर्ण कार्य हो। कुन निर्वाचन क्षेत्रमा कुन दलले कस्तो उम्मेदवारलाई टिकट दिन्छ, सोही आधारमा राजनीतिक दलले जनताको सम्मान वा अपमान गरेको स्पष्ट हुन्छ। जनप्रेमी कार्यकर्ताले टिकट नपाएको अवस्थामा टिकट ‘बेचेको’ आरोप लाग्दै आएको छ। 

टिकटको खरिदबिक्रीले निर्वाचित जनप्रतिनिधिले आफ्नो निर्वाचन क्षेत्रका जनताको सेवा गर्दैनन्। खरिदबिक्री व्यवसाय गर्ने भएकाले टिकटधारी आफ्नो पैसा असुलीमा तल्लीन रहन्छ। राजनीतिक दलले जनतामा लोकप्रिय, शिक्षित, स्वच्छ छवि र इमानदारलाई टिकट दिनु नै मतदाताको सम्मान गर्नु हो।

लोकप्रिय होस्

पर्यटक उम्मेदवार (उम्मेदवारी पाएपछि देखिने) होइन कि सधैँ जनतासँग घुलमिल भएको लोकप्रिय उम्मेदवारलाई टिकट दिनुपर्छ। राजनीतिक दलहरूले लोकप्रियताभन्दा धनबल, बाहुबल र जातिबललाई आधार बनाएको पाइन्छ। यसले निर्वाचन पद्धतिलाई कुरूप बनाउँदै गएको छ। योग्यतमले सङ्घ, प्रदेश र स्थानीय तहलाई सुशोभित गर्दै संस्थाको गरिमा कायम गर्न महìवपूर्ण भूमिका निर्वाह गर्छ।

परिवारवाद समाप्त होस्

भाइभतिजावादभन्दा माथि उठेर टिकट दिने कार्य भएमा आमकार्यकर्ताको नेतृत्व क्षमता, कार्यक्षमता र निष्पादन क्षमता, धैर्यता आदिमा उचित विकास गर्ने अवसर पाउँछ। कार्यकर्ताले नीति, नियम, व्यक्तित्व, चरित्र, योग्यता आदि आर्जनको मौका प्राप्त गर्छन्। परिवारवादले राजनीतिक दलमा आन्तरिक अनुशासनहीनता निम्त्याउँछ। नेपाली राजनीतिमा परिवारवादको गन्ध परम्परागत रूपमा चलिआएको छ। परिवारवादकै कारणले सङ्घ, प्रदेश र स्थानीय तहको भलो हुन सकिरहेको छैन । सर्वसाधारण राजनीतिप्रति नकारात्मक धारणा बनेको छ। टिकट वितरण प्रणालीमा सुधार हुनु आवश्यक छ। परिवारवादको गन्ध मेटाउन सकियो भने आमजनताले राजनीतिलाई विकास, राहत, सन्तोष एवं उत्साहको सूचक स्वीकार्नेछन्। साथै उम्मेदवार सर्वपक्षीय नेतृत्व होस्। सबै जातजाति, धर्म, वर्ग र लिङ्गलाई टिकट दिन सकिँदैन तर जसले सबैको नेतृत्व गर्ने क्षमता राख्न सक्छ, उसैलाई टिकट दिइनु पर्छ।

पार्टीले आन्तरिक परीक्षा गरोस्

राजनीतिक दलले स्वार्थी र अवसरवादीलाई पाखा लगाउनका लागि आन्तरिक रूपमा गोप्य तवरले कुन कार्यकर्ता निर्वाचन क्षेत्रमा लोकप्रिय छ भनेर जाँचपडताल गर्ने परिपाटी बसाउनु पर्छ। जनतामा लोकप्रिय भएकालाई टिकट दिएमा राजनीतिक दलप्रति जनविश्वास कायम हुन्छ। 

भूगोलसँग जोडिएका कार्यकर्ता होस्

भूगोलसँग जोडिएका कार्यकर्तालाई सम्बन्धित निर्वाचन क्षेत्रको धरातलीय समस्याका बारेमा जानकारी हुन्छ। जनताको सुखदुःखमा साथ दिन सक्छ। भूगोलबाहिरको नेताले जनताको समस्या बुझ्दैनन् र फलस्वरूप सकारात्मक परिणाम आउन सक्दैन। 

जनताको राय बुझ्ने प्रथा होस्

टिकटका सम्भाव्य उम्मेदवारको आचरणका बारेमा बुझ्न सम्बन्धित दलहरूले सम्बन्धित निर्वाचन क्षेत्रमा बुझेर टिकट दिँदा न्याय हुन्छ। जनताको भावी नेता कतिको इमानदार, कर्मठ, निष्पक्ष, वफादार, स्वच्च छवि र सकारात्मक सोच भएको छ कि छैन भनेर बुझ्नु जरुरी हुन्छ। युवाको भावनालाई नेतृत्व गर्ने होस्। टिकटधारी युवा हुनुपर्छ भन्ने आसय होइन तर उसले युवाका समस्यालाई प्राथमिकता दिने हुनुपर्छ। निर्वाचन क्षेत्रका बुद्धिजीवीसँग सुमधुर सम्बन्ध राखेर विकासका गतिविधिमा संलग्न गराएर भावी पुस्तालाई राजनीतिप्रति सकारात्मक सोच उत्पन्न गर्ने उम्मेदवार हुनु आवश्यक छ। 

व्यक्तिगत चरित्रलाई प्राथमिकता दिइयोस्

अन्ततः जनप्रतिनिधिको प्रमुख कार्य भनेको देश र जनताको सेवा गर्नु हो। टिकटधारी अब्बल भएमा एकआपसमा द्वन्द्व सिर्जना उत्पन्न हुँदैन। विद्रोह वा अन्तर्घात हुनै सक्दैन। चरित्र हत्याको काम बन्द हुन्छ। राजनीतिक दलमा थिति र विधि संस्थागत हुन्छ। कार्यकर्ता आन्तरिक कलहमा अल्झिनुको सट्टा जीवन मरणको प्रश्नले रातोदिन दलका लागि काम गर्छ। एक परिवार एक टिकट नीति लागू गरियोस्। एक परिवार, एक टिकटको प्रावधान लागू गरिनुपर्छ। त्याग तपस्याको नाममा परिवार हावी भएमा देशको राजनीति परिवारवादमा परिणत हुन्छ। लोकतन्त्रमा परिवारवाद र वंशवादको आमूल नष्ट भएन भने व्यवस्था नै समाप्त हुन्छ। 

राजनीति व्यापार र व्यवसाय होइन। जनताको सेवा गर्ने माध्यम हुनुपर्छ। राजनीतिमा आउनेबित्तिकै प्रत्येक कार्यकर्ताले सांसद, मन्त्री र प्रधानमन्त्री बन्नैपर्छ भन्ने छैन। लोभीपापी कार्यकर्ताले गर्दा बहुमत आएका दलहरू विभाजनको सिकार भएका छन्। एउटै संसद्को कार्यकालमा ठूलो दल टुक्रिएर सानो बनेको इतिहास छ। 

शीर्षस्थ नेताहरू देशको सेवाभन्दा आफ्नो परिवारको पजनीमा लाग्दै गर्दा देशको राजनीतिमा नैतिकता र आदर्श देखिँदैन। हरेक किसिमका प्रपञ्च गरी कुर्सीमा बनिरहने खेल चलिँदै आएको छ। देशको अर्थव्यवस्था खस्कँदै गएको छ। मतदाताले आगामी पाँच वर्षका लागि आफूले रोजेको विकासप्रेमी प्रतिनिधिलाई देशको कमान्ड सुम्पनुपर्छ। सही प्रतिनिधि छान्न प्रत्येक व्यक्तिले मतदानमा सचेत हुनु आवश्यक छ।