• १३ साउन २०८१, आइतबार

विद्युत अवरुद्ध हुँदा तीन सातादेखि अन्धकार

blog

रेखीराम राना
पाल्पा, असोज ३ गते ।
विद्युत अवरुद्ध हुँदा जिल्लाको पश्चिम भेगस्थित रैनादेवी छहरा–३ भुवनपोखरी गाउँ तीन सातादेखि अन्धकार भएको छ ।

बिग्रिएको विद्युत् ट्रान्सफर्मर समयमै मर्मत हुन नसक्दा भुवनपोखरी, अर्सोदी, दमार, ढुकुरखोला, नयाँ बस्तीका ७१ घरधुरी परिवार तीन सातादेखि अँध्यारोमा बस्न बाध्य भएका हुन् ।

सामुदायिक विद्युतीकरणमार्फत १८ वर्षअघि बिजुली बत्ती बालेका यहाँका बासिन्दाले ट्रान्सफर्मर बिग्रिएपछि गत भदौ १२ गतेदेखि अँध्यारोमा बस्न बाध्य भएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । गाउँमा विस्तार भएको विद्युतीकरणमा जडान भएको ट्रान्सफर्मर मर्मत नहुँदा आफूहरू तीन सातादेखि अँध्यारोमा बस्न बाध्य भएको स्थानीय बासिन्दा कमल भट्टराईकाे गुनासो छ ।

‘‘सामुदायिक विद्युतीकरणको ट्रान्सफर्मर नबन्दा अध्याँरोमा बसेको २१ दिन भयो,’’ भट्टराईले भन्नुभयो, ‘‘उपभोक्ता समितिको गैर जिम्मेवारीपनका कारण उपभाक्ताले कहिलेसम्म दुःख पाउने हुन् ?’’ विद्युत् अवरोध भएपछि उपभोक्ताको दैनिक जीवनयापनमा समेत समस्या भएको छ ।

ट्रान्सफर्मरमा देखिएको समस्या समाधानका लागि पटक–पटक पत्राचार गरिएको वडा कार्यालयले जनाएको छ । तर उपभोक्ता समितिलाई पठाएको पत्रको जवाफ नआएको वडा अध्यक्ष प्रदीप पौडेलले जानकारी दिनुभयो । सामुदायिक विद्युतीकरण समितिका अध्यक्ष लालबहादुर दर्लामीले भने आफू बिरामी भएर अस्पतालमा उपचाररत रहेको बताउनुभयो ।

आफू सन्चो भएपछि उपभोक्ताको समस्या समाधान हुने र ट्रान्सफर्मर बनेपछि विद्युत् अबरोध हट्ने जानकारी दिनुभयो । अबको केही दिनभित्रै समस्या समाधान हुने अध्यक्ष दर्लामीको भनाइ छ ।