• १० मंसिर २०८१, सोमबार

बढ्दो परनिर्भरता

blog

विकास सर्वाधिक प्रचलित र लोकप्रिय अवधारणा हो। जुन मानव सभ्यताको सुरुवातको चरणदेखि नै निरन्तर चल्दै आएको मानवीय तथा सामाजिक प्रक्रिया हो। विकाससम्बन्धी धारणा आफैँमा व्यापक, विवादित र जटिल पनि हो। विकासको अर्थ के हो ? यसका आफ्नै अर्थ, व्याख्या र धारणा हुने गरेका छन्। नेपालमा विकाससम्बन्धी अवधारणालाई अनेकौँ अर्थमा अथ्र्याइयो, बुझाइयो र बुझियो। खासमा विकासलाई ठूला भवन, चिल्ला सडक, पक्की पुल तथा सहरीकरणका अनेकौँ पक्षलाई सीमित गरेर भनियो र बुझियो। अब चुनावी नारा, घोषणापत्र तथा राजनीतिक नेताहरूद्वारा फैलाइने विकासको भ्रमले विकासलाई गाउँमा खनिने धुले सडक र खोलामा हालिने पक्की पुल जस्ता पक्षलाई मात्र बढी भनियो, बुझियो। त्यति मात्र होइन आजको चुनावी विकासको भ्रममा ठूला सुरुङमार्ग, रेलमार्गदेखि पानीजहाजसम्मका कुरासमेत हुने गरेका छन्। आखिर किन र कसरी यस्तो चुनावी भ्रम बढी नै बिक्री हुँदै गएका छन् ? अर्कोतर्फ  विकाससम्बन्धी भ्रमले नेपाली समाजलाई कसरी परनिर्भर बनाउँदै छ ? यस्ता अनेक प्रश्नका बीचमा निर्वाचन, उम्मेदवारी र दलीय चहलपहलसँगै गाउँ–गाउँमा विकासका विविधखाले सपना र भ्रम बेचिँदै छन्। अर्कोतर्फ  विकाससम्बन्धी पुरातन मान्यताबाट नेपाली समाज माथि उठ्नै सकेन।

धनी हुनु विकासको एउटा प्रमुख सूचक त हो तर सम्पूर्ण सूचक होइन। नेपाल इतिहासदेखि नै मूलतः भारत र तेस्रो विश्वका कतिपय मुलुकमा नोकरी गर्ने वा लाहुर जाने र फर्कंदा ‘छड्के टोपी, कालो चस्मा, ठूलो ब्याग र धन (?) बोकेर’ आउने भन्ने सोच र चिन्तन हाबी भयो। त्यसैले हाम्रो विकासको सोच र सपनामा लाहुरे मानसिकता देखियो। यद्यपि त्यो सपना पनि विकासको सोचचाहिँ हो तर ‘लाहुरे सोच र मोडेलको’ विकास वास्तविक तथा सम्पूर्ण विकास भने होइन। यो त प्राविधिक र केही हदसम्मको भौतिक विकासको सोच मात्र हो। यो सोचले समाज, देश तथा व्यक्तिले दिगो र बृहत्मा सफलता पाउँदैनन्। बृहत् अर्थमा विकास मानिसको आर्थिक उन्नति, जीवन र स्वास्थ्य, आधुनिकता, मानवीय मूल्य, सामाजिक दर्शन, सभ्यता, संस्कृति, शिक्षा र ज्ञान, विज्ञता, विज्ञान, समृद्धि, उन्नति, प्रगति, स्तर, पहिचान, पूर्वाधार र सामथ्र्य, प्रणाली, विधि, व्यवस्थापन, तरिका, सूचना, प्रयोग, सम्पन्नता, सोच्ने क्षमता, तुलनात्मक दक्षता, भ्रमण तथा खर्च गर्ने हैसियत, विश्व दृष्टिकोणजस्ता कुरा सन्तुलित ढङ्गले झल्कनुपर्दछ। 

युरोपका स्विजरल्यान्ड, नेदरल्यान्ड, फिनल्यान्ड, बेलायत, जर्मन, फ्रान्सजस्ता मुलुकहरूमा उल्लेखित कुराहरूको सन्तुलित, सार्थक तथा अर्थपूर्ण संयोजन भएको देखिन्छ। यसैकारण ती मुलुक र समाज हरेक दृष्टिले सम्पन्न तथा आत्मनिर्भर बनेका छन्। 

अफ्रिका, ल्याटिन अमेरिका र एसियन मुलुकहरूलाई तेस्रो विश्व भन्ने गरिएको छ। चीन, क्युबा जस्ता समाजवादी मुलुकलाई दोस्रो विश्व तथा अमेरिका, जापान, अस्ट्रेलिया, युरोपको स्विजरल्यान्ड, न्युजिल्यान्ड जस्ता विकसित र सम्पन्न मुलुकलाई पहिलो विश्व भनिने गरिएको छ। पहिलो विश्वका मुलुक सबै दृष्टिले सम्पन्न र धनी भए पनि ती मुलुकले विकासको भ्रम छर्दै दोस्रो र तेस्रो विश्वका मुलुकमा आफ्ना नीति, योजना, कार्यक्रम र खासमा स्वार्थ थोपर्दा गरिब मुलुकहरू थप परनिर्भर बन्दै गएका छन्। विकास र सहयोगको नारा, सपना, लोभ र कागजी प्रस्तावले गरिब र पछौटे समाज छिट्टै भ्रममा फस्ने भएकाले पनि मुलुक र समाज परनिर्भर हुँदै आए। सहयोग र आश्वासनले ‘हामी सक्छौँ’ भन्ने भावना पूरै धुलो हुँदै गएको छ। अर्कोतर्फ  उनीहरूले जे भने वा दिए त्यो मात्र विकास हो भन्ने ठान्दा आफ्ना मौलिक क्षमता, सीप, ज्ञान र स्रोत ध्वस्त हुँदै छन्। विकास हरेक मानिस, व्यक्ति र समाजका लागि आवश्यक कुरा भए पनि मुलुक, समाज र देशको इतिहास, भूगोल, अवस्था, आवश्यकता, स्थानीय सीप एवं नागरिक छनोटको आधारमा हुनुपर्ने कुरा हो। 

नेपालको आन्तरिक अवस्थामा विश्लेषण गर्दा ‘अर्काले देला र खाउँला’ भन्ने आसे मान्यताको विकासको सोच निर्वाचनको समयमा झन्–झन् बढ्दै गएको अनुभव गर्न थालिएको छ। निर्वाचनमा दिइने विकासको सपना र भ्रमले आन्तरिक परनिर्भरता थप बढाउँदै लगेको छ। अमेरिकी विधिशास्त्री अमत्र्य सेन (१९३३) ले प्रसिद्ध पुस्तक ‘डेभलपमेन्ट एज फ्रिडम’ (१९९९) मा ‘विकासका लागि प्रत्येक नागरिकको आफ्नो स्वतन्त्र छनोट गर्न पाउने अधिकारको सम्मान गर्नुपर्ने र कतैबाट पनि हस्तक्षेप हुन नहुने’ भन्दै शिक्षा, व्यापक अवसर, क्षमता वृद्धि तथा राजनीतिक स्वतन्त्रताको पक्षमा वकालत गरेका छन्। सेनले विकासलाई वैकल्पिक छनोट गर्न सक्ने स्वतन्त्रताका रूपमा व्याख्या गरे। उनले सामथ्र्यताको विस्तार नै विकास हो भन्ने कुरामा जोड दिँदै मानिसको जीवनलाई समृद्ध गर्ने तथा कसरी जीवनयापन गर्न चाहेको हो त्यसको छनोट गर्नमा समर्थ तुल्याउनु हो भनेका छन्। 

आधुनिक समाजमा विकास मानिसका आयस्तर, खानपान, फेसन, वस्तु तथा सेवाको प्रयोगमा पहँुच, शिक्षा, स्वास्थ्यलगायतका समग्र मानव विकासलाई तौलेर मूल्याङ्कन गरिन्छ। विकास र आधुनिकता भनेको चिल्ला सडक, कार तथा सेवाको उपलब्धता मात्र होइन। समग्र मानव विकास, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एवं मानवीय संस्कारमा आएको परिवर्तन भन्ने हो।

नेपालमा चाहिँ चुनावी विकासको सपना र भ्रमले केवल ग्रामीण सडक, पक्की पुल, अग्ला भवन, खानेपानीका पाइप, जस्तापातालगायतका वस्तु, सुविधा र सेवा आदिलाई सम्पूर्ण विकास हो भन्ने कुरा बढी भनियो। यसैकारण चुनावमा ती कुराको सपना र भ्रम छर्दै निर्वाचन जितेर सिंहदरबार छिर्ने प्रचलन बढेको हो। 

यो सोच सामान्यतयाः नेपालीको ‘लाहुरे मानसिकता र खर्चालु चुनावले ल्याएको विकृत सोच’ हो। यस्तो सङ्कुचित विकासको धारणा राज्यको नीति निर्माणको तहमा बसेकाहरूमा समेत देखिन्छ। यसलाई बदल्न सक्नुपर्दछ। नेपालका नीति निर्माणको तहमा बस्नेहरूमा समेत यही बुझाइ छ। यहीकारण आमनिर्वाचनमा दलका नेताहरूले विकासको सपना र भ्रम मात्र छर्ने गर्दा नेपाली ग्रामीण समाज र नागरिक थप परनिर्भर बन्दै छन्। आफू र आफ्नै समाजको बलमा गर्न सकिने सामान्य कुलो, पुलपुलेसा, पानी, स्वास्थ्य चौकी, स्कुलमा जस्तापाता फेर्ने जस्ता कुरामा पनि नेताको मुख ताक्ने प्रवृत्ति ह्वात्तै बढेका कारण चुनावी भाषणमा भ्रमपूर्ण मसला तथा सपना बिक्री हुँदै छन्। 

अर्काेतर्फ, निर्वाचनका क्रममा विकाससम्बन्धी सपना, भ्रम र झुट्टा आश्वासनले नागरिकहरूलाई आसे र परनिर्भर मात्र बनाउँदै लगेको छैन समाजलाई विभाजित, भ्रष्ट, स्वार्थी तथा दिग्भ्रमित पार्दै लगेको छ। निर्वाचनलाई स्वच्छ, मर्यादित, सभ्य तथा विश्वासिलो बनाउन पूरा नहुने विकासका कोरा सपना र भ्रमलाई न्यूनीकरण गर्नुपर्ने खाँचो छ।