• १२ मंसिर २०८१, बुधबार

तीन दिनमा पर्ने पानी तीन घण्टामा

blog

काठमाडौँ, असोज २ गते । दुई दिनदेखिको अविरल वर्षापछि अछामका पाँचवटा पहाडी बस्तीमा शुक्रबार मध्यरात पहिरो खस्यो । सबैभन्दा ठूलो क्षति तुर्माखाँद गाउँमा भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रामेश्वर मरहठ्ठाले जानकारी दिनुभयो ।

तुर्माखाँद गाउँपालिका–५, ढकारी गाउँपालिका–५, नाडागाउँ, कमलबाजर नगरपालिका ६ र ८ का गरी पाँच बस्तीमा राति पहिरो खसेको अछाम जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मीनराज आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दुई दिनदेखि निरन्तरको वर्षा जारी थियो, शुक्रबार एकैचोटि ठूलो वर्षा भएकाले पहिरो गयो ।” 

उहाँका अनुसार तुर्माखाँदको अग्लो डाँडाको टुप्पाभन्दा केही तलदेखि भासिएको जमिन पहिरो बनेर मध्यरात बस्तीमा बजारिएको हो । भेलपहिरो भनिने त्यस्तो पहिरोले करिब १४ घरमध्येको बीचमा परेका अन्दाजी छवटा घर बगाएको हो । अन्यत्र चार स्थानमा  भिरालो पहाडबाट पहिरो बस्ती पसेको छ ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार भदौ ३१ गते १५० मिलिमिटरआसपास र असोज १ गते बिहानसम्म १२६ मिलिमिटर वर्षा रेकर्ड भएको छ । 

पहिरोले जनधनको ठूलो क्षतिका अतिरिक्त पहाडी जमिनलाई थप जर्जर बनाएको भूगर्भविद् बताउनुहुन्छ । भूगर्भविद् डा. कृष्ण देवकोटाका अनुसार कमजोर धरातलमा मुसलधारे वर्षा भएपछि त्यसरी भेलपहिरो गएको हो । उहाँले भन्नुभयो, “तीन दिनमा पर्नुपर्ने पानी तीन घण्टामा पर्दा तुर्माखाँदको पहाड भासिएको हो, वर्षाको भेलको चाप पहाडको माटोले थेग्न नसक्दा त्यस्तो पहिरो जान्छ ।”

नेपालको पश्चिमी भू–भागमा ठूलो भुइँचालो नगएको झन्डै पाँच सय वर्ष भयो । तर साना–साना भुइँचालोले पनि पहाडको भित्री जमिन कमजोर बनाउँदै लैजानु पनि पहिरो जानुको एक कारक हो । यीबाहेक पहाडमा अति मानव अतिक्रमण बढेर बाटो बन्नु, खेतिपातीका लागि वन र बुट्यान विनाश भएकाले पछिल्लो समय अछाम, कालीकोट, रुकुम, बझाङका पहाडमा पहिरो निरन्तर गइरहेको देवकोटाले बताउनुभयो । 

मानवीय क्षति बढी हुनुमा पहिरोको उच्च जोखिम रहेका त्यस्ता क्षेत्रमा पहिरोजन्य पूर्वसूचनाको सचेतना कम हुनु रहेको उहाँले औँल्याउनुभयो । स्थानीयले सबै लक्षण सहजै थाहा पाउँदैनन् । उहाँका अनुसार राज्यको उपस्थिति नेपालका दुर्गम स्थानमा त्यसै पनि कम छ । त्यसमाथि जिम्मा दिएका निकायले राम्ररी अध्ययन गर्न सकेको छैन । भएका अध्ययन पनि अपूरा छन् । जसले पहिरोको जोखिम रहेका त्यस्ता क्षेत्रको समयमै पहिचान हुन नसकेको देवकोटाले सुनाउनुभयो ।