गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ९ गते । मुलुक निर्वाचनमा गएको बेला वैदेशिक व्यापार भने बढेको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा आयातनिर्यात दुवै बढेको हो ।
चालु आवको पहिलो महिना मुलुक सहज अवस्थामा रहे पनि भदौको अन्तिम साता भएको जेनजी विद्रोहदेखि जटिल मोडबाट गुज्रेको हो । त्यसपछिका महिनामा निर्वाचन घोषणा भएपछि पनि वैदेशिक व्यापारमा सुधार आएको छ ।
चालु आवको साउनदेखि माघसम्म निर्यात ३२.१९ प्रतिशतले बढेर एक खर्ब ६८ अर्ब १४ करोड ५८ लाख २४ हजार रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा एक खर्ब २७ अर्ब २० करोड ४८ लाख २९ हजार रुपियाँ निर्यात भएको थियो ।
सात महिनामा आयात १३.६५ प्रतिशतले बढेर ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख १३ हजार रुपियाँ बराबरको निर्यात भएको छ । गत वर्ष सो अवधिमा नौ खर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपियाँ बराबरको निर्यात भएको थियो । आयातको तुलनामा निर्यात कम हुँदा व्यापार घाटा १०.९१ प्रतिशतले बढेर नौ खर्ब ५५ अर्ब ३४ करोड ३८ लाख रुपियाँ रहेको छ । गत वर्ष सो अवधिमा आठ खर्ब ६१ अर्ब ३८ करोड २८ लाख ७१ हजार रुपियाँ व्यापार घाटा भएको थियो ।
सात महिनामा कुल वैदेशिक व्यापार १५.७६ प्रतिशत १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख रुपियाँ बराबरको भएको छ । सात महिनामा एक खर्ब ८० अर्ब ७४ करोड रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ, जसमा ६९ अर्ब ९१ करोड रुपियाँ बराबरको डिजेल आयात भएको छ । यस्तै ३८ अर्ब १३ करोड रुपियाँ बराबरको पेट्रोल र ३१ अर्ब ८५ करोड रुपियाँ बराबरको ग्यास आयात भएको छ । त्यसै गरी ७० अर्ब ९९ करोड रुपियाँ बराबरको भटमास, ७७ अर्ब ८५ करोड रुपियाँको आइरन र स्टिल आयात भएको छ ।
विभागका अनुसार ७७ अर्ब ६९ करोड बराबर विद्युतीय उपकरण र त्यसका पार्टपुर्जा, २६ अर्ब ६८ करोडको स्मार्टफोन र २१ अर्ब २० करोडको सुन आयात भएको छ ।
यस्तै ६४ अर्ब ८४ करोड रुपियाँ बराबरको सवारीसाधन, ४२ अर्ब ६३ करोड रुपियाँ रासायनिक मल र २२ अर्ब २५ करोड रुपियाँ बराबरको तरकारी आयात भएको छ ।
सात महिनामा नेपालबाट सबैभन्दा धेरै ६६ अर्ब ७८ करोड रुपियाँ बराबरको भटमासको तेल र पाँच अर्ब ७८ करोड बराबरको सूर्यमुखीको तेल निर्यात भएको छ । अलैँची आठ अर्ब ६१ करोड रुपियाँको निर्यात भएको छ । यस्तै कार्पेट निर्यात पाँच अर्ब ७१ अर्ब, तयारी पोसाक पाँच अर्ब १५ करोड रुपियाँ बराबरको निर्यात भएको छ ।
सबैभन्दा धेरै व्यापार छिमेकी मुलुक भारतमा भएको छ । विभागका अनुसार सात महिनामा भारतबाट छ खर्ब २९ अर्ब रुपियाँको आयात हुँदा नेपालबाट एक खर्ब ३७ अर्बको निर्यात भएको छ । भारतबाट आयात धेरै भए पनि न्यून निर्यात हुँदा चार खर्ब ९१ अर्ब ७७ करोड ५१ लाख रुपियाँ व्यापार घाटा रहेको छ ।
यस्तै चीनबाट दुई खर्ब ३५ अर्ब रुपियाँको सामान आयात हुँदा नेपालबाट ९० करोड रुपियाँको सामान निर्यात भएको छ । चीनमा न्यून निर्यात हुँदा दुई खर्ब ३४ अर्ब ४८ करोड २२ लाख १६ हजार रुपियाँ व्यापार घाटा रहेको छ ।