• १३ असोज २०८१, आइतबार

समग्रमा भन्नुपर्दा संसद् सफल भएको छ : अध्यक्ष ओली

blog

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष केपी ओली । तस्बिर : सुजन गुरुङ

काठमाडौं, असोज १ गते । प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समग्रमा भन्नुपर्दा संसद् सफल भएको बताउनुभएको छ ।

शनिबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले संसद्ले संविधान कार्यान्वयन गरेको र यस अवधिमा विकासको चौतर्फी प्रयासका काम भएको उल्लेख गर्नुभयो ।

“यस अवधिमा राष्ट्रिय एकता, भौगोलिक अखण्डताको रक्षा गर्ने काम गरेको छ, यो संसदबाट निर्वाचित सरकारले कामका महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ”, उहाँले भन्नुभयो, “संविधानले परिकल्पना गरेअनुसार संविधान कार्यान्वयनका क्रममा प्रदेश सरकार, संरचना, प्रदेशको नामकरण गर्ने काम भएको छ ।”

अध्यक्ष ओलीले भूकम्पपछिको पुननिर्माणको काम राम्रोसँग अघि बढेको उल्लेख गर्दै हुलाकी राजमार्ग, मदनभण्डारी राजमार्ग निर्माणको काम पनि अघि बढेको बताउनुभयो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित तरिकाले सम्पन्न गराउन निर्वाचन आयोगले काम गर्नुपर्ने र त्यसका लागि सरकारले वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

“आगामी मङ्सिर ४ गते हुने निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित तरिकाले हुनुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो, “निर्वाचन सञ्चालन गर्ने काम निर्वाचन आयोगले गर्ने हो, निर्वाचनमा अस्वस्थ तरिकाले भूमिका खेल्न सरकारले मिल्दैन ।” राष्ट्रको आवश्यकतालाई बढी ध्यान दिएर काम गर्नुपर्ने उहाँको भनाइ छ ।

नागरिकतासम्बन्धी देखिएका समस्या समाधान गर्नका लागि आफ्नो सरकारको पालामा अध्यादेशबाट समाधान गर्ने प्रयत्न गरेको तर त्यो हुन नसकेको उहाँले बताउनुभयो । पूर्वप्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री हुँदा संसदबाट पाएको रचनात्मक सहयोगलाई धन्यवाद दिनुभयो । साथै उहाँले देशभर बाढी र पहिराबाट भएको जनधनको क्षतिका बारेमा जानकारी गराउँदै तत्काल उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।