• ४ वैशाख २०८३, शुक्रबार

समस्या समाधानको संयन्त्र बनाउने प्रतिबद्धता

उद्योग समिति सभापतिमा रहबर अन्सारी निर्विरोध

blog

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी ।

काठमाडौँ, वैशाख ४ गते । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहबर अन्सारी निर्वाचित हुनुभएको छ । शुक्रबार बसेको समितिको बैठकमा अन्सारी निर्विरोध निर्वाचित हुनुभएको हो ।

बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले सभापति पदका लागि अन्सारीको मात्र उम्मेदवारी परेकाले उहाँलाई सर्वसम्मत निर्वाचित भएको घोषणा गर्नुभयो ।

सभापतिमा निर्वाचित भएपछि अन्सारीले संसदीय समितिको कार्यक्षेत्रभित्र रहेर जनताका समस्या समाधान गर्न आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले समितिलाई केवल प्रतिवेदन बुझाउने र विधेयक अध्ययन गर्ने थलोमा मात्र सीमित नराखी आम नागरिकको जीवनसँग जोडिएका समस्या हल गर्ने प्रभावकारी संयन्त्रका रूपमा विकास गर्ने बताउनुभयो ।

"संसदीय समितिको कार्यदेश (टीओआर) मा आधारित भएर हामी जनताका आवाज सुन्नेछौँ," सभापति अन्सारीले भन्नुभयो, "समिति अब विधेयक अध्ययन र सुझाव दिने कार्यमा मात्र सीमित रहने छैन । यसलाई जनताका समस्या समाधान गर्ने एउटा बलियो संयन्त्रका रूपमा अघि बढाइनेछ ।"

उहाँले विगतमा संसदीय समितिहरूको प्रभावकारिता जे–जस्तो रहे पनि अबका दिनमा नतिजामुखी काम गरेर देखाउने दाबी गर्नुभयो । समितिको कार्यक्षेत्रभित्र पर्ने उद्योग, वाणिज्य, श्रम र उपभोक्ता हितका विषयमा रहेका चुनौतीहरूलाई सम्बोधन गर्न सबै सदस्यहरूसँग समन्वय गरेर अघि बढ्ने उहाँको भनाइ थियो ।