• १३ साउन २०८१, आइतबार

तनहुँमा फैलियो डेंगु रोग

blog

अमरराज नहर्की
तनहुँ, असोज १ गते ।
 तनहुँमा डेंगु रोगको सङ्क्रमण तीव्र रूपमा फैलिएको छ ।  जिल्लामा थप ८८ जना डेंगुका बिरामी भेटिएका छन् ।

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जिल्लामा परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण भएको पाइएको जानकारी दिनुभयो । सबैभन्दा धेरै शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ७८, व्यास नगरपालिकामा पर्ने दमौलीस्थित दमौली अस्पतालमा तीन र बन्दीपुर गाउँपालिका बन्दीपुरस्थित बन्दीपुर अस्पतालमा सात गरी ८८ जनामा सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

लामखुट्टेको टोकाइबाट यो रोग सर्ने भएकाले आफ्नो घर वरिपरि पानी जम्न नदिइ सफा राख्न स्वास्थ्य कार्यालयले सबैसँग आग्रह गरेको छ । साथै डेंगुसँग मिल्दा लक्षण देखिने बित्तिकै परीक्षण गराउन पनि स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । 

विगतका वर्षहरूको तुलनामा यस वर्ष देशै भरी नै तीव्र रूपमा सङ्क्रमण भइरहेको र तनहुँमा सङ्क्रमितको सङ्ख्या धेरै देखिएकाले अवस्था जोखिमपूर्ण भएकाले सतर्कता अपनाउन आग्रह गरिएको स्वास्थ्य प्रमुख अधिकारीले बताउनुभयो ।

दमौली अस्पतालका निमित्ति प्रमुख डा. राजु थापा डेंगुको सङ्क्रमण बढ्दै गएकाले लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने र घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न र पानी जम्न नदिने हिँडडुल गर्दा पनि लामो बाउला भएको कपडा लगाउनु पर्ने बताउनुहुन्छ ।

लामखुट्टेको वासस्थान नै नष्ट पार्नु डेंगुको प्रमुख रोकथाम भएको डा. थापाको भनाइ छ । डा. थापाका अनुसार डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो । एडिस लामखुट्टेले माीनसलाई दिउँसो मात्र टोक्ने गर्दछ ।

डेंगु रोग मानिसबाट मानिसमा सिधै सर्दैन । सो प्रजातिको लामखुट्टेले सफा पानी जमेको ठाउँमा साना साना स्थानहरूमा फुल पार्दछ । खासगरी वर्षाको पानी जम्ने स्थान, पानी जम्ने टिनका डब्बा, टायर, ड्रमहरु, फुलदानी र गमलालगायतका स्थानमा यसले फुल पार्दछ ।

डेंगु रोग नियन्त्रण गर्न ‘खोजी र नष्ट अभियान’ सुरु

यसैबीच जिल्ला स्वास्थ्य कार्यालय तनहुँले डेंगु रोग नियन्त्रण र रोकथामको लागि ‘खोजी र नष्ट अभियान’ सुरु गरेको छ ।

अभियान जिल्लास्थित सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहका कार्यालय तथा गैर सरकारी संस्थाको सहकार्यमा कार्यालयले शुक्रबारबाट सुरु गरिएको हो ।

तनहुँमा डेंगु रोगको प्रकोप फैलिएको र बिरामीको सङ्ख्या दिनप्रतिदिन बढिरहेकाले अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

रोगको नियन्त्रण, न्यूनीकरण र रोकथामको लागि लामखुट्टेले फुलपार्ने ठाउँहरू खोजौँ र नष्ट गरौं भन्ने नारासहित अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

प्रत्येक शनिबार १० बजे बजे समय छुट्टाई अभियानमा भाग लिन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । घर भित्र र बाहिर यस अभियान कार्यान्वयनको लागि स्थानीय जनप्रतिनिधिको नेतृत्वमा अभियान जारी राखिने कार्यालयले जनाएको छ ।  सरोकारवालाका लागि अभिमुखीकरण कार्यक्रम समेत कार्यालयले गरिरहेको छ ।