• १५ वैशाख २०८१, शनिबार

नपाक्दै धानको बाला झर्न थाल्यो

blog

गोकर्ण दयाल 

बैतडी, असोज १ गते  । उत्पादन बढ्ने भन्दै भित्र्याएको आयातित खुमल–४, नामको धानमा बाला नलागेपछि बैतडी पाटनका किसान चिन्तित बनेका छन् । 

यहाँका लगाउने गरिएको रैथाने रातो बासमती, डाँडा बासमती र हिमाली जातको धानको बीउ जोगाउन नसकेकामा अहिले किसान पछुताइरहेका छन् । 

दुई दशकअघिदेखि लगाउँदै आएको खुमल–४ को धानमा रोग लागेर बाला झरिरहेको पाटन नगरपालिका–६ का दिनेश विष्टले जानकारी दिनुभयो । १० पाथी बीउ लाग्ने खेतमा खुमल–४ रोप्नुभएका विष्टले धानको बाला सुकेर झर्न थालेको गुनासो गर्नुभयो । धान भित्र्याउने समयमा राम्ररी पुष्ट नभएको बाला पहेँलो भएर झर्न थालेको उहाँको गुनासो छ ।

धान र गहुँ उत्पादनका लागि पकेट क्षेत्र मानिएको बैतडीको पाटनमा गत वर्ष गहुँमा पनि रोग लागेको स्थानीय किसान राजेश पन्तले बताउनुभयो । धान र गहुँमा रोग लागे पनि स्थानीय सरकारले रोग निदान गर्न कृषिविज्ञ बोलाउन नसकेको पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष गहुँमा रोग लाग्यो । यो वर्ष धान भित्र्याउने  बेलामा बाला नै झर्ने समस्या देखिएको छ । उन्नत र बढी फल्ने भनेर लगाइएको यो धानको बीउले दुई/चार वर्ष राम्रो उत्पादन दिए पनि अहिले किसानलाई धोका भएको छ ।” 

बैतडी पाटनका किसानलाई २०४५ सालमा खेती प्रणाली नामको परियोजनाले खुमल–४ धानको बीउ वितरण गरेको पन्तले स्मरण गर्दै भन्नुभयो, “सुरुसुरुमा त एक किलो बीउमा करिब ६० किलो उत्पादन भयो । पछि उत्पादन घट्दै जान थालेको खुमल–४ मा अहिले त बाला लाग्नेबित्तिकै पहेँलो भएर बोट सुक्ने समस्या देखिएको छ ।” रैथाने धानको बीउ मासिएकामा अहिले किसान पछुतो मानिरहेका उहाँले बताउनुभयो । 

पाटन नगरपालिकाका कृषि प्राविधिक महेश अवस्थीले धेरै लामो समयसम्म एउटै धानको बीउ लगाइरहँदा धानको जातीय गुण ह्रास भएका कारण यस्तो समस्या देखिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “यस वर्षदेखि पाटनमा बीउ परिवर्तन गरेर धान र गहुँ खेतीका लागि नयाँ कार्यक्रम आएको छ । बीउको उपचार र बीउ परिवर्तन नगरी खेती गर्ने किसानले यस्तो समस्या भोग्नुभएको छ । आउँदो वर्ष यी समस्या आउन नदिन बीउ परिवर्तन गरेर उन्नत जातको धान खेती र रैथाने बीउ प्रवद्र्धन कार्यक्रम स्वीकृत भएर आएकाले अर्को वर्ष यस्तो समस्या दोहोरिने छैन ।” 

तरकारी खेतीका लागि छ टोल छनोट 

धान र गहुँ खेती मात्र हुँदै आइरहेको बैतडीको पाटनमा तरकारी खेती प्रवद्र्धनका लागि नगरपालिका र कृषि क्षेत्रमा काम गर्ने संस्थाको अगुवाइमा छवटा टोल छनोट भएका छन् ।

 मङ्गलबार पाटन नगरपालिकाले कृषिको क्षेत्रमा काम गर्दै आइरहेको गैरसरकारी संस्था रुडेस बैतडीसँग अन्तक्र्रिया गरेर धान काटिसकेपछि गहुँ छर्नुअघि दुई महिना खाली रहेको खेतमा नमुना तरकारी खेती गर्ने विषयमा छलफल भएको पाटन नगरपलिकाका उपप्रमुख कमल बोहराले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “कृषिको क्षेत्रमा काम गर्दै आइरहेको रुडेस बैतडीका पदाधिकारी र कृषि प्राविधिकलाई नगरपालिकामा बोलाएर खेतबारीको अवलोकन गरिएको छ । धान काटिसकेपछि खाली रहने दुई महिनाको अवधिमा तरकारी खेती गर्ने तयारी भइरहेको छ ।” 

पाटन नगरपालिकासँगको समन्वयमा तरकारी खेतीका लागि भकुडा, टुणीगैर, नगाडीवाडा, सुकेली, मैतडा र लोर्खा टोल छनोट गरिएको कृषि क्षेत्रमा काम गर्ने रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताउनुभयो ।