• १७ असार २०८१, सोमबार

जजिराले थाल्यो भैरहवाबाट दैनिक उडान

blog

लुम्बिनी समाचारदाता

लुम्बिनी, असोज १ गते । जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुुवेतका लागि दैनिक उडान सुरु गरेको छ । गत जेठ २ गते विमानस्थल उद्घाटन भएसँगै कुवेत–भैरहवा साताको तीन उडान गर्दै आएको जजिराले शुक्रबारदेखि दैनिक एक उडान सुरु गरेको हो । 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता सुभाष झाले शुक्रबारदेखि जजिरा एयरवेजले कुवेत–भैरहवाबीच नियमित रूपमा दैनिक एउटा उडान सञ्चालन गरेको बताउनुभयो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक उडान गर्ने एक मात्र विमान कम्पनी जजिराले यसअघि सोमबार, बुधबार र शनिबार गरी तीन उडान गर्दै आएको थियो । हालसम्म जजिरा एयरवेजले कुवेत–भैरहवाबीच ११० उडान गरेको छ ।

जजिराको उडानबाट हालसम्म छ हजार ५८७ जना हवाई यात्रु भैरहवा आएका छन् भने भैरहवाबाट सात हजार २४० जना बाहिरिएका छन् । जजिराको ‘एयर बस ३२० निओ’ विमानले कुवेत–भैरहवा उडान गर्दै आएको छ । 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा 

अन्तर्राष्ट्रिय उडान बढाउन नागरिक उड्डयन प्राधिकरणले विभिन्न छुट र सहुलियत दिने गरेको छ । यसले गर्दा जजिराको भाडादर काठमाडौँबाट भन्दा भैरहवाबाट सस्तो छ ।

हङ्गेरीको वायुसेवा कम्पनी विज एयरले पनि कात्तिक १३ गतेदेखि भैरहवाबाट यूएईको अबुधाबी उडान सञ्चालन गर्ने तयारी गरेको छ ।