• १० मंसिर २०८१, सोमबार

जलवायु परिवर्तनको जोखिम

blog

पृथ्वीको तापक्रम बढ्दै जानु, समुद्री सतहमा वृद्धि, हिमालमा हिउँ तथा हिमनदी पग्लेर कुरूप हुँदै जानु, भू–क्षय, बालीचक्रमा परिवर्तन, जैविक विविधतामा ह्रास आदि जलवायु परिवर्तनका सङ्केत हुन्। संयुक्त राष्ट्रसङ्घले विश्वको तापक्रम तीव्र रूपमा बढिरहेको र यसको मूल कारक मानिस भएको जनाएको छ। इन्टरगभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आईपीसीसी)का अनुसार पृथ्वीको सतहको औसत तापक्रम सन् २०३० सम्म १.५ डिग्री सेल्सियस बढ्ने प्रक्षेपण गरिएको छ।

विश्वमा १.५ डिग्री सेल्सियस तापक्रम बढ्दा हिमाली क्षेत्रमा २.१ डिग्री सेल्सियसले तापक्रम बढ्ने अनुमान छ; जसको प्रत्यक्ष प्रभाव नेपालका हिमाली क्षेत्रमा पर्ने देखिएको छ। यसै शताब्दीको अन्त्यसम्म उष्ण दबाब (हिट स्ट्रेस) ५० देखि ७० प्रतिशतले वृद्धि हुने देखिन्छ। अहिले पनि हरेक तीन जनामध्ये एक जना मानिसले उष्ण दबाबको सामना गरिरहेका छन्। अतः विश्वका ३.५ अर्ब मानिस जलवायु परिवर्तनको उच्च जोखिममा रहेको आईपीसीसीको प्रतिवेदनमा उल्लेख छ।

जलवायु परिवर्तनको मूल कारक प्रदूषण हो। प्रदूषण गराउने मुख्य स्रोतमध्ये इन्धनको अत्यधिक प्रयोग, आणविक भट्टीको विस्तार, फोहोरमैला उत्सर्जन र अव्यवस्थित रूपमा सञ्चालित उद्योगधन्दा तथा कलकारखाना छन्। वल्डोमिटरको तथ्याङ्कअनुसार विश्वमा हरेक दिन नौ करोड ७१ लाख तीन हजार ८७१ ब्यारेल (एक ब्यारेल बराबर १५९ लिटर) इन्धन खपत हुने गर्दछ। यसको ०.०४ प्रतिशत हिस्सा मात्रै ओगटेको नेपालमा ४३ हजार ब्यारेल अर्थात् करिब ६९ लाख लिटर इन्धन हरेक दिन खपत हुने गरेको छ तर नवीकरणीय ऊर्जालाई प्राथमिकता दिएर प्रदूषण कम गर्नेतर्फ पर्याप्त अभ्यास गर्न सकिएको छैन। यसले विश्व तापमान वृद्धि, ओजोन तहको विनाश र जलवायु परिवर्तनमा ठूलो मलजल गरेको छ। 

विश्वका शक्तिशाली मानिने ३१ मुलुकमा ४४० आणविक भट्टी सञ्चालनमा छन्। जुन वातावरण विनाशका कारक बन्ने गरेका छन्। विभिन्न समयमा विस्फोटका घटनाले त्यहाँ वरपरको पर्यावरण नाश हुने गरेको छ। त्यसैगरी शक्ति राष्ट्रहरूबाट आणविक हतियारको मनलाग्दो परीक्षण र प्रयोग भएका छन्। एक देशले अर्को देशमाथि हमला र शक्ति प्रदर्शन गर्दै आएका छन्। सन् १९४५ मा जापानको हिरोसिमा र नागासाकीमा परमाणु बम प्रहारबाट दशकौँसम्म जीवजन्तु तथा वनस्पतिको अस्तित्व नाश हुन पुग्यो। पछिल्ला दशकमा उत्तर कोरियाले विभिन्न समयमा क्षेप्यास्त्र परीक्षण गर्दै आइरहेको छ। केही महिनाअघिदेखि रुस र युक्रेनबीच चलेको युद्धमा अत्याधुनिक हतियार प्रयोग र शक्तिशाली विस्फोटका घटनाले त्यहाँको वातावरण तहसनहस भयो। यसबाट विश्वमै आर्थिक मन्दीको लक्षण देखापरेका छन्। यसरी विश्वमा भएका ठूला सैन्य अभ्यास र युद्धले समग्र पृथ्वीको वातावरण नै प्रदूषण गराउने विध्वंसात्मक गतिविधि भएका छन्।

फोहोरमैलाको अत्यधिक उत्सर्जन र त्यसको उपयुक्त व्यवस्थापन प्रदूषणको अर्को कारक हो। विश्व बैङ्कका अनुसार हाल विश्वमा वार्षिक २.२४ विलियन टन फोहोरमैला उत्पादन हुने गर्दछ। हरेक व्यक्तिले एक दिनमा औसत ०.७४ किलोग्राम फोहोरमैला उत्पन्न गर्दछ। विश्वको कुल जनसङ्ख्याको करिब ४.६ प्रतिशत जनसङ्ख्या ओगटेको अमेरिकाले मात्रै ३३ प्रतिशत ठोस फोहोर वस्तु उत्पादन गर्दै आएको छ। यही रफ्तारले सन् २०५० सम्म विश्वमा ३.८८ विलियन टन फोहोरमैला उत्पादन हुनेछ। फोहोरमैलाका कारण माटो प्रदूषण हुने र उर्वराशक्ति घट्नुुका साथै प्रदूषित वातावरणलाई स्वच्छ बनाउने समग्र वनस्पति जगत्मा ठूलो प्रभाव परेको छ। साथै वायु, खोलानाला तथा नदी प्रदूषित हुँदै गएका छन्। 

प्राकृतिक तथा मानवनिर्मित कारणबाट हुने डढेलो प्रदूषणको अर्को मूल कारक हो। डढेलोबाट पारिस्थितिक प्रणाली नष्ट हुने गरेको छ। सन् २०१९ जनवरी पहिलो साता अस्ट्रेलियाको न्यु साउथ वेल्स जङ्गलमा फैलिएको भीषण डढेलोले झन्डै तीन लाख हेक्टर जङ्गल सखाप भयो। करोडौँको सङ्ख्यामा जीवजन्तु तथा प्राणी नष्ट भए। गत वर्षको डिसेम्बरमा अस्ट्रेलियामै फैलिएको डढेलोका कारण झन्डै ५० करोड वन्यजन्तु र पशुपन्छी मरेको जैविक विविधताविज्ञको अनुमान छ। डढेलोलाई प्राकृतिक कारण मानिए पनि वातावरण विनाश र जलवायु परिवर्तन गराउनमा मानवीय गतिविधि नै मुख्य दोषी रहेका छन्। विश्वका औद्योगिक राष्ट्रहरूले हरितगृह ग्यास उत्सर्जनको ७० प्रतिशत हिस्सा ओगटेका छन्। सन् २०१९ को तथ्याङ्कअनुसार विश्वमा चीनले मात्रै कुल हरितगृह ग्यास उत्सर्जनको २७.७९ प्रतिशत हिस्सा ओगट्छ। अमेरिकाले १२.७४ प्रतिशत, भारतले ७.३२ प्रतिशत, रुसले ४.६८ प्रतिशत र जापानले २.५७ प्रतिशत हरितगृह ग्यास उत्सर्जन गरेको पाइयो। त्यसैगरी नेपालले विश्वको कुल हरितगृह ग्यासको करिब ०.०२ प्रतिशत उत्सर्जन गरेको छ। जसअनुसार अमेरिका र रुस विश्वमा सबैभन्दा बढी प्रतिव्यक्ति हरितगृह ग्यास उत्सर्जन गर्ने देशमा परेका छन्। यसरी जलवायु परिवर्तन गराउनमा नेपालको भूमिका न्यून भए पनि त्यसबाट उत्पन्न जोखिमका हिसाबले नेपाल विश्वकै चौथो जोखिमपूर्ण राष्ट्रमा पर्दछ। 

जलवायु परिवर्तनमा कारक तìव हरितगृह ग्यास हुन्। क्याटो प्रोटोकलले उल्लेख गरेका सात मुख्य हरितगृह ग्यासमध्ये विश्वव्यापी उष्णीकरणमा सबैभन्दा धेरै भूमिका निर्वाह गर्ने कार्बनडाइअक्साइड ग्यास हो। औद्योगिक तथा विविध प्रयोजनका लागि दोहन गरिने कोइला, तेल तथा प्राकृतिक ग्यासजस्ता जैविक इन्धनबाट ठूलो परिमाणमा हरितगृह ग्यास उत्सर्जन भइरहेको छ। उद्योगधन्दा तथा कलकारखानाबाट उत्पन्न हुने रसायनजन्य तरल फोहोरले माटो प्रदूषित गराएको छ। कृषि प्रयोजनमा जथाभावी विषादीको प्रयोग गर्दा हिमायती खालका जीवाणु र 

कीरा–फट्याङ्ग्राको सङ्ख्या ह्वात्तै बढेर नयाँ प्रकृतिका रोग निम्त्याएका छन्। पेट्रोलियम पदार्थको अत्यधिक प्रयोग, अव्यवस्थित औद्योगीकरण, आणविक भट्टी विस्तार, फोहोरमैला उत्सर्जन आदिको तीव्रताले उल्लेख्य मात्रामा प्रदूषण बढाइरहेका छन्। प्रदूषण जलवायु परिवर्तनको मूल कारक हो। सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कनबिना गरिएका विकासनिर्माणका कामले प्रदूषणपछिको जलवायु परिवर्तनलाई निम्त्याइरहेका छन्। जसबाट विश्व समुदाय नै नराम्ररी प्रताडित हुनुपरेको छ। खासगरी हिमाली तथा समुद्री तटीय क्षेत्रका राष्ट्रहरू यसबाट बढी प्रभावित छन्।

नेपालले वि.सं. २०६६ मङ्सिर १९ गते सगरमाथाको आधार शिविर कालापत्थरमा मन्त्रिपरिषद्को बैठकमार्फत जलवायु परिवर्तनबाट हिमाली राष्ट्रमा परेको असरबारे विश्वलाई सचेत बनाएको थियो। २०१८ डिसेम्बर ३१ देखि राष्ट्रिय जलवायु सम्मेलन गर्दै जलवायुमैत्री विकास प्रवद्र्धन गर्ने लक्ष्य अघि सारिएको छ। नेपालमा ४४.७४ प्रतिशत वनजङ्गलले ढाकेको क्षेत्र छ। यसरी कार्बन उत्सर्जन कम र कटौतीमा ठूलो योगदान गरेको नेपाल जलवायु परिवर्तनको ठूलो प्रभावमा परिरहेको छ। यस वर्ष मुलुकभर पर्याप्त वर्षा नहुँदा खेतीपातीतर्फ ठूलो क्षति बेहोर्नु परेको छ। वर्षात्को समयमा कतै पानी नपर्ने, कतै ठूलो वर्षा हुने र एउटै क्षेत्रमा समेत कतै पानी पर्दा त्यहीँ नजिकै सुक्खा हुने जलवायु परिवर्तनका सङ्केत हुन्।

आईपीसीसीका अनुसार जलवायु परिवर्तनबाट मानिसले अनुकूलन गर्न सक्नेभन्दा छिटो पृथ्वीलाई क्षति गरिरहेको छ। अत्यधिक गर्मीका कारण मानिसको मृत्युदर बढ्ने, खडेरी पर्ने, जीवजन्तु र बोटबिरुवालाई जोगाउन मुस्किल पर्ने, मनसुनी बाढीको प्रकोप बढ्ने र हिमालमा हिउँ पग्लने हुन्छ। एसियाली मुलुकमा शताब्दीको अन्त्यसम्म ५ देखि २० प्रतिशतसम्म खडेरी वृद्धि हुने अनुमान छ। अतः जथाभावी प्रयोग हुने प्राकृतिक स्रोत, बढ्दो सहरीकरण, भारी वर्षा र क्षति घटाउनुपर्ने आवश्यकता औँल्याइएको छ। सन् २०५० सम्म एसियाका अमु दर्या, इन्दस तथा गङ्गा नदीमा पानीको अभाव हुने र मौसमी चक्र उतारचढाव हुने आकलन गरिएको छ। एसिया क्षेत्रमा जलवायु परिवर्तनका कारण संरक्षित वनस्पतिको बासस्थान विनाशसँगै जैविक विविधतालाई धेरै असर पुग्नेछ । त्यसैगरी उच्च हिमाली क्षेत्रमा हिउँ पग्लने, हिमताल विस्फोटको खतरा बढ्नेछ। समुद्रमा पानीको तह छिटोछिटो बढ्दै गएको र त्यसको असरले माल्दिभ्सजस्ता टापु राष्ट्रहरू स्थायी डुबानमा पर्नसक्ने छन्। जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा पनि परेको छ। हिमालमा हिउँ पग्लने दर तीव्र गतिमा छ। जलवायुजन्य समस्या समाधानतर्फ ढिलो गर्नु भनेको मृत्यु निम्त्याउनुसरह हो। अझै पनि अनुकूलित वातावरण सिर्जना नगर्ने हो भने आगामी ५० वर्षमा विश्वबाट धेरै जीवजन्तु तथा प्राणी लोप भइसक्नेछन्। जसले पारिस्थितिक प्रणालीमा थप असन्तुलन ल्याई मानव अस्तित्वसमेत सङ्कटमा पर्न सक्ने देखिन्छ। 

अतः प्रदूषण जलवायु परिवर्तनको मूल कारक हो। यो सिङ्गो पृथ्वी र यसमा आश्रित विश्व समुदायको साझा समस्या हो। समाधानका लागि हरेक देश अभिन्न अङ्ग त बन्नुपर्दछ नै तर एउटा राष्ट्रले मात्र यो समस्यालाई न त न्यूनीकरण गर्न सक्छ न कि अनुकूलित वातावरण नै सिर्जना। यस्तो विश्वव्यापी समस्याप्रति मूल दोषी राष्ट्रहरू अधिक जिम्मेवार बन्नुपर्दछ। वातावरणीय प्रदूषणको दुष्परिणाम जलवायु परिवर्तनबाट प्रभावित विश्व समुदायलाई बचाउन विकसित तथा औद्योगिक मुलुकले आफ्नो स्वार्थभन्दा माथि उठेर रोकथामका लागि ठोस पहल गर्नुपर्दछ।

स्वच्छ एवं हरित पृथ्वी भावी पुस्तालाई हस्तान्तरण गर्न विश्व समुदायमा वातावरणमैत्री व्यवहारको विकास गरिनुपर्दछ। विश्वमा हरितगृह ग्यासको उत्सर्जनमा ठूलो कटौती गर्ने ठोस नीति तथा कार्यक्रम ल्याउन सके मात्र तापक्रम वृद्धिलाई स्थिर राखी जलवायु परिवर्तनको जोखिमलाई कम गर्न सकिन्छ। सबै मुलुकले अन्तर्राष्ट्रिय सम्मेलनमा गरेका प्रतिबद्धता अनुसारका नीतिलाई असल नियतिमा बदल्न सके मात्र जलवायु परिवर्तनलाई रोकथाम गर्न सकिन्छ।