काठमाडौं, भदौ ३० गते । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले बिहीबारबाट ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट म्यादी प्रहरी भर्नाका लागि आवेदन लिन सुरु गरेको छ ।
निर्वाचन सुरक्षामा एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न सरकारले स्वीकृत दिएपछि आजबाट उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर प्रहरी परिसर तथा उपत्यका बाहिर जिल्ला प्रहरी कार्यालयहरुमा भर्ना आवेदन दिन सकिने छ ।
म्यादीमा भर्ना हुन आवेदन दिन प्रहरी प्रधान कार्यालय टेकुमा ठूलो सङ्ख्यामा युवक युवतीको भीड लागेको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालमा कार्यरत रही निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मीहरू तथा पूर्व वन रक्षकहरू, सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल) मा विभिन्न पदमा २०७९ साल भदौ महिनासम्म भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेश पत्रको प्रतिलिपि पेस गर्ने व्यक्तिहरू र विदेशी मित्र राष्ट्रका सुरक्षा निकायहरूमा काम गरी सेवा निवृत्त नेपाली नागरिकलाई प्राथमिकता दिइने प्रहरीले जनाएको छ ।
गत आइतबार नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूचनामा भदौ ३० देखि असोज ६ गतेभित्र १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेका व्यक्तिले बिहान १० बजेदेखि अपराह्न ५ बजेभित्र दरखास्त दिन पाउने उल्लेख छ ।
बिहीबारबाट मापदण्ड पूरा गरेका नेपाली नागरिकका दरखास्त आवेदन सङ्कलन कार्य सुरु भएको हो । म्यादीको कार्यअवधि ४० दिन हुने उल्लेख छ ।