• ११ मंसिर २०८१, मङ्गलबार

धितो पास भनी राजीनामा पास गरेपछि गुरुङ छ वर्षदेखि बिचल्ली

blog

पीडित ६० वर्षीया पल्पना गुरुङ । तस्विरः हरिप्रसाद कोइराला

उर्लाबारी, भदौ ३० गते । मोरङको कानेपोखरी–५ की ६० बर्सिया पल्पना गुरुङ ६ वर्ष देखि आफूलाई ठगी गरी जग्गा राजीनामा पास गरी लिएका धरान १६ का भूपेन्द्र लिम्बूको खोजीमा हुनुहुन्छ । 

अक्षर नचिन्ने वालब्रम्हाचारी पल्पनाले केरौन १(क) को कित्ता नं. ८९७ को ४ कट्ठा १६ धुर जग्गा धितो पास गरी दिने सर्तमा दुई लाख ५० हजार रुपियाँ लिने घरायसी कागज भएको थियो । तर लिम्बूले गुरुङलाई झुकाएर जग्गा राजीनामा पास गरी लिएको पल्लना गुरुङ बताउनु हुन्छ । गुरुङले भन्नुभयो, पैसा एकै रुपियाँ दिएन । जग्गा पनि राजीनामा पास गरेर लियो । साता नबित्दै धितो पास नभई राजीनामा पास भएको थाहा पाएपछि मालपोतको निर्णय उल्टाउन हिँड्नु भएकी पल्पनाका धेरै जुत्ता फाटिसक्यो तर जग्गा लानेहरू उम्केको उम्किछन् ।   

२०७३ साल असार १३ गते राजीनामा पास गरेको उक्त जग्गा फिर्ता ल्याउन पल्पनासँग धेरै वटा घरायसी कागज छन् । तर, उहाँ ६ वर्ष देखि अदालत धाई रहनु भएको छ । यता भूपेन्द्रले उक्त जग्गा फिर्ता गरिदिन २०७६ सालमा असार ५ गते काठमाडौँ जिल्ला अदालतका न्यायधीसको रोहवरमा धनकुटाका अतिककुमार रसाइलीलाई वारेसनामा दिनुभयो । जसले जग्गा खायो उही व्यक्तिले न्यायालयलाई पनि ढाँटेको पल्पनाको भनाई छ ।

काठमाडौँ जिल्ला अदालतमा भएको कागज अनुसार पल्पनाले अतिककुमार रसाइलीलाई पछ्याउन थाल्नुभयो । सुरुमा जग्गा फर्काउने बताउँदै आएका अतिक मात्र होइन । भूपेन्द्र पनि यति बेला सम्पर्क विहीन छन् । पल्पनाले भन्नुभयो–अहिले मेरो जग्गा भूपेन्द्रले अरूलाई विक्री गरी सकेको सुनेको छु । 

कानेपोखरी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष चरण गुरुङले पनि उक्त जग्गा भूपेन्द्रले अर्कै व्यक्तिलाई बिक्री गरेको बताउनुभयो । वालब्रह्मचारी  महिलालाई जीवन निर्वाहका लागि दाजुभाइले दिएको जग्गा ठगले खाइदिएपछि उहाँ यति बेला घर न घाटको हुनु भएको छ ।

ब्रह्मचारी भएकोले वकिलले पैसा नलिई मुद्दा लडिदिएका छन् । तर, पनि कहिले काठमाडौँ, कहिले विराटनगर गर्दा गर्दै उहाँ थाकिसक्नु भएको छ । काँधमा एउटा झोला , हातमा अर्को सानो झोला । सानो झोलामा अदालत र घरायसी कागजको मुठो । जग्गा खाइदिने व्यक्तिको तीन पुस्ते, फोटो, लगायतका कागजात उहाँसँगै छन् ।

मुद्दा गर्न सहयोग गर्ने आफन्त समेत कोही छैनन् , उहाँले भन्नुभयो– जेठा दाजु भारत बस्नुहुन्छ । कान्छा दाजु काठमाडौँ । उहाँहरू आफै वृद्ध भइसक्नु भयो ,मलाई कसरी सहयोग गर्नुहुन्छ ? फेरि आर्थिक रूपमा कमजोर भएपछि कसैले साथ नदिँदो रहेछ , उहाँले गहभरि आँसु पारेर भन्नुभयो । 

Author

हरिप्रसाद कोइराला