• १३ साउन २०८१, आइतबार

लगानीकर्ताको खोजीमा अर्जुन सरोवर

blog

चर्चामा रहेको दाङको अर्जुनसरोवर क्षेत्रको अर्जुन खोला । तस्विर – दिवाकर पोख्रेल

दिवाकर पोख्रेल

देउखुरी, भदौ २७ गते । दाङको अर्जुन खोलामा ड्याम बाँधेर सरोवरको रूपमा विकास गर्ने योजना जति चर्चा भए पनि कामको सुरुवात हुन सकेको छैन । लमही नगरपालिका र यस क्षेत्रका अगुवाको पहलमा अर्जुन क्षेत्रको रूपमा विकास गर्ने गरी प्रारम्भिक स्थलगत अध्ययन पनि भएको छ ।

यसका साथै सिँचाई मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट स्थलगत अध्ययन भए पनि यसको सुरुवात हुन सकेको छैन । लगानी कर्ताको खोजीमा रहेको अर्जुन सरोवरको योजना सफल भएपछि यस क्षेत्रका जनताको दैनिकी नै परिवर्तन हुने आशा गरिएको छ ।

अर्जुन सरोवरलाई बहुउद्देश्यीय योजनाअन्तर्गत काम गर्न सकिए यसबाट लमही नगरपालिकाका चारवटा वडाहरूलाई लाभ पुग्ने नागरिक अगुवा वसन्तराज शर्माले जानकारी दिनुभयो । उहाँकै पहलमा अर्जुन खोलामा बाँध बाँधेर पानी साबिकको सतबरिया क्षेत्रमा सिँचाई गर्न उद्देश्य राखिएको छ । 


अर्जुन सरोबरबाट एक मेगाहर्जसम्मको विद्युत उत्पादन गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, सञ्चालक समितिका सदस्य इन्जिनियर डिल्लीराम भट्टले अर्जुन खोलाको पानी थुन्दा पानीको सतहसम्म पुग्ने भएकाले उक्त स्थानमा विद्युत निकाल्न सकिन्छ, भन्नुहुन्छ ।

लमही नगरपालिकाले सतबरिया क्षेत्रमा सिँचाई गर्ने उद्देश्यमा बाँधको डिपीआर निर्माण गरेको लमही नगरपालिका इन्जिनियर सौगात वलीले जानकारी दिनुभयो । लमही क्षेत्रमा मुहानको पानी वितरण गर्ने योजना समेत अर्जुन सरोवरबाट गर्ने उद्देश्य राखिएको छ ।