काठमाडौं, भदौ २७ गते । पछिल्लो डेढ महिनामा पाँच जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ। इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कीटजन्य रोग प्रमुख डा. गोकर्ण दाहालले यस अवधिमा डेंगु सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भएको बताउनुभयो ।
पाँच जना मध्ये तीनजनाको मृत्यु डेंगुकै कारण भए पनि मृतक अन्य दुई जनाको मृत्यु डेंगुका साथै स्क्रब टाईफस र कडा खालको निमाेनियाले भएको उहाँले जानकारी दिनुभयो । महाशाखामा अन्य दुई जना पनि डेंगुको कारणले मृत्यु भएको भन्ने प्रतिवेदन प्राप्त भएकाले अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृत्यु भएकामध्ये कैलाली, कान्ति, बाँकेस्थित भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र मेडिसिटी अस्पतालमा एक / एक जनाको मृत्यु भएको छ । कोभिड १९ सङ्क्रमण, भाइरल ज्वरो र डेंगु एकैसाथ देखिएकाले बेवास्ताका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।
उहाँले भन्नुभयो,“पछिल्लो केही महिनादेखि डेंगु सङ्क्रमण तीव्र गतिमा बढ्दै गएको छ । कोभिड सङ्क्रमण र भाइरल ज्वरो पनि बढिरहेकाले मानिसहरु डेंगुको लक्षण देखिँदा पनि कोभिड वा भाइरल ज्वरो हो कि भनेर बेवास्ता गरी घरमा नै बस्दा स्वास्थ्यमा जटिलता आई डेंगुका बिरामी मृत्युको मुखमा पुग्ने गरेका छन् ।”

आठ हजारभन्दा बढीमा डेंगु पुष्टि
पछिल्लो केही महिनादेखि काठमाडौं र ललितपुरलगायत देशभर डेंगु सङ्क्रमण बढ्दो क्रममा छ । हालसम्म ७५ जिल्लाबाट आठ हजार ३२७ जना डेंगु सङ्क्रमित पुष्टि भइसकेको छ ।

डेंगु सबैभन्दा बढी बागमती प्रदेशमा ६ हजार २०५ जना, लुम्बिनी प्रदेशमा १ हजार २८४, सुदूरपश्चिम प्रदेशमा २०६, प्रदेश १ मा २८२, मधेस प्रदेशमा १४४, गण्डकी प्रदेशमा १५०, कर्णाली प्रदेशमा ५६ जनामा डेंगु पुष्टि भएको छ ।
डेंगु सङ्क्रमण हाल दैनिक बढिरहेको समयमा मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने हुँदा अझै केही समय सतर्क रहन चिकित्सकको सुझाव छ ।

डेंगु भनेको के हो ?
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. बिमल चालिसेका अनुसार डेंगुकाे ज्वरो एडिस जातको पाेथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।

एडिस जातका लामखुट्टेले घाम उदाएको २ घण्टा पछाडि र घाम अस्ताउनुभन्दा २ घण्टा अगाडि यो लामखुट्टे बढी सक्रिय हुने चिकित्सक बताउँछन् ।
ज्वरो आउने, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउँको दुख्नु, शरीरमा रातो बिमिरा आउनु वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन् । लगातार वान्ता हुने, वान्तामा रगत देखा पर्ने, धेरै पेट दुख्ने, श्वासप्रश्वासमा समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव भई बेहोस हुने भएकाले डेंगु भएका मानिसलाई हेलचेक्र्याइँ नगर्न चिकित्सकको सुझाव छ । उच्च ज्वरो कम गर्न पारासिटामोल खाने, पानी तथा झोलिलो तथा पोषिलो खानेकुरा प्रशस्त मात्रामा खाने र आराम गर्ने डेंगुको उपचार हो ।

के गर्दै छ सरकार?
सरकारले डेंगु रोकथामका लागि लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशैभर लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।

डेंगु नियन्त्रण तथा रोकथामका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न आग्रह गर्दै मन्त्रालयले प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट छुटाई घरभित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँहरु ‘खोजौँ र नष्ट गरौँ’ भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएको छ ।

डेंगु सङ्क्रमण अझ केही समय बढ्ने भएकाले सतर्क रहन चिकित्सकको सुझाव छ । नेपालमा २०६१ सालमा पहिलो पटक डेंगु सङ्क्रमण पुष्टि भएको थियो ।
सन् २०१९ मा डेंगु प्रकोपका रुपमा देखा परेको थियो । सो बेला १७ हजार ९९२ जनामा डेंगु सङ्क्रमण देखिँदा छ जनाको मृत्यु भएको थियो।

 
                                
                             
                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                