• २४ वैशाख २०८१, सोमबार

कृषियोग्य जमिन बाँझो राख्न नपाइने

blog

हुप्सेकोट गाउँपालिकाको प्रथम साधारण सभा । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावसोती, भदौ २६ गते । हुप्सेकोट गाउँपालिकामा कृषियोग्य जमिन खेती नगरी लगातार दुई वर्षसम्म बाँझो राख्न नपाइने भएको छ । कृषि क्षेत्रमा विभिन्न तालिम, विनाधितो ऋण, अनुदानसहितको कार्यक्रमहरू सञ्चालन गरिएकाले कुनै पनि खेतीयोग्य जमिन बाँझो नराखी उत्पादन गर्ने लक्ष्य लिइएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बत्ताउनुभयो । 

कृषि तथा पशुपालनका क्षेत्रमा गाउँपालिकाले विशेष बजेट व्यवस्था गरेको बत्ताउँदै दूध उत्पादन र पशुपालनमा पनि अनुदानको व्यवस्था गरिएको बताउनुभयो । हुप्सेकोट गाउँपालिकाको गाउँसभाले कृषि व्यवसाय प्रवर्द्धन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ को प्रथम संशोधन गर्दै सो व्यवस्था गरेको हो । 

संशोधित ऐनमा गाउँपालिका क्षेत्रभित्र कृषियोग्य जमिनहरू बाँझो रहेको खण्डमा कुनै फर्म, कम्पनी वा गाउँपालिकालाई करारमा दिनुपर्ने व्यवस्था गरिएको छ । गाउँपालिका क्षेत्रभित्र कृषियोग्य जमिनहरू लगातार दुई वर्षसम्म बाँझो राखेमा गाउँपालिकाले आर्थिक ऐनमा तोकिए बमोजिमको जरिवाना लगाउन सक्ने उल्लेख छ । 

गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन यस्तो नीति अख्तियारी गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो । सभालाई सम्बोधन गर्नु हुँदै हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले झ्यालबास डण्डा सडक खण्डको बीच भागमा जङ्गल रहेकाले कार्य सञ्चालनमा समस्या भएको बताउनुभयो ।

सो क्षेत्रमा छिटो बाटो विस्तारको काम सुरु गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने सङ्कल्प प्रस्ताव पारित गरिएको पनि उहाँले बताउनुभयो । त्यसैगरी गाउँभाले गाउँकार्यपालिका अन्तर्गतको तीन समितिलाई पूर्णता दिएको छ । 

गाउँकार्यपालिका सार्वजनिक लेखा समितिको सभापति लिलावहादुर ठाडा, सदस्यमा कमला विक र यामबहादुर रजालीलाई चयन गरिएको छ । सुशासन समितिको सभापतिमा रेनुमाया मिथुन, सदस्यमा देवी नेपाली र सुनबहादुर खाम्चालाई चयन गरिएको छ । विधायन समितिको सभापतिमा बुद्धिमान तामाङ, सदस्यमा तुलसी विक र गंगाप्रसाद वयम्वुलाई चयन गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिनुभयो ।