अमरराज नहर्की
तनहुँ, चैत २२ गते । तनहुँको व्यास नगरपालिकाले खेलकुदको व्यवसायिक विकास र खेलाडी उत्पादन गर्ने उद्देश्यले ‘नगरप्रमुख कप अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ । यही चैत ३० गतेदेखि व्यास–३ स्थित अनसन चौतारी खेलमैदानमा सुरु हुने यस प्रतियोगितामा विभिन्न जिल्लाका पालिका स्तरीय टोलीहरूको सहभागिता रहने छ ।
खेल संयोजक तथा वडा नम्बर ६ का वडाध्यक्ष जीवन गुरुङले पालिका तहका प्रतिभावान खेलाडीलाई राष्ट्रियस्तरको मञ्च प्रदान गर्न यो प्रतियोगिता कोसेढुङ्गा सावित हुने बताउनुभयो । टिम दर्ताका लागि चैत २५ गतेसम्मको समय सीमा तोकिएको नगरपालिकाले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद एक लाख रुपियाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार रुपियाँ नगद प्राप्त गर्ने नगर खेलकुद विकास समितिका सदस्य सचिव केदाराज आचार्यले जानकारी दिनुभयो । राष्ट्रिय खेल भलिबलको नियम (एफआइभिबी) अनुसार नकआउटका आधारमा सञ्चालन हुने यस खेलमा प्रत्येक पालिकाले आफ्नो टिममा दुई जनासम्म बाहिरी खेलाडी समावेश गर्न पाउने व्यवस्था गरिएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीले सम्बन्धित स्थानीय तहको सिफारिस पत्रका साथै परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य पेश गर्नुपर्ने नियम बनाइएको छ ।