अमरराज नहर्की
तनहुँ, चैत २२ गते । मगर समुदायको पहिचानसँग गाँसिएको मौलिक कौराहा नृत्यलाई विश्वमञ्चमा स्थापित गर्दै कीर्तिमान कायम गर्ने लक्ष्यसहित तनहुँमा बृहत् तयारी सुरु गरिएको छ । आगामी वैशाख ४ र ५ गते ऋषिङ गाउँपालिका–१, झापुटारमा हुने ‘दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन–२०८३’ का अवसरमा १० देखि १५ हजार कलाकारलाई एकैसाथ नृत्यमा उतारी गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउने योजना सार्वजनिक गरिएको हो ।
नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समितिले शनिबार दमौलीमा पत्रकार सम्मेलन आयोजना गरी यो ऐतिहासिक लक्ष्य सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै सङ्घका केन्द्रीय सभापति नन्द घर्ती मगरले कौराहा मगर जातिको मात्र नभई राष्ट्रकै गौरव भएकाले यसको मौलिकता जोगाउन र नयाँ पुस्तामा हस्तान्तरण गर्न सम्मेलन कोशेढुङ्गा सावित हुने उल्लेख गर्नुभयो । कौराहा नृत्य विज्ञ यमबहादुर आलेले पछिल्लो समय यसको शैली र लयमा विकृति आउन थालेकाले सम्मेलनमार्फत वास्तविक मौलिकताको संरक्षण र अभिलेखीकरण गरिने बताउनुभयो ।
यस्तै वरिष्ठ उपाध्यक्ष पदम थापा मगरले देशका विभिन्न जिल्लाबाट कलाकारहरूको उत्साहजनक सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनका संरक्षक एवम् नेपाल मगर सङ्घ गण्डकी प्रदेशका पूर्व अध्यक्ष सिद्धान्त गर्जा मगरले कौराहाको उद्गम थलोमै हजारौँको सङ्ख्यामा सामूहिक नृत्य गराई नेपाली कला र संस्कृतिको सामथ्र्य विश्वलाई देखाउन लागिएको बताउनुभयो । उहाँले यसअघि छरिएर रहेका प्रयासहरूलाई एकीकृत गरी यस पटक मौलिक भेषभुषा र खैँजेरीको तालमा एउटै लयमा ठुलो समूहले नृत्य गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
नेपाल मगर सङ्घ तनहुँका अध्यक्ष हर्कबहादुर थापा मगरले सम्मेलनलाई सफल बनाउन स्थानीय स्तरमा तयारी तीव्र पारिएको बताउनुभयो । कार्यक्रमको व्यवस्थापन नेपाल मगर सांस्कृतिक संघ गण्डकी प्रदेश र जिल्ला कार्यसमिति तनहुँले गर्नेछन् भने सहआयोजनामा राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति र नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति रहेका छन् । सङ्घका महासचिव रञ्जिता थापा मगरले सम्मेलनको उद्देश्य, प्राविधिक मापदण्ड र सहभागिताको तयारीबारे जानकारी गराउँदै कार्यक्रमको प्रभावकारी प्रचारप्रसारका लागि सञ्चारमाध्यमसँग सहकार्यको अपिल गर्नुभयो ।