पुतलीबजार समाचारदाता
पुतलीबजार, चैत २२ गते । स्याङ्जाको वालिङ नगरपालिका यतिबेला ‘गुलाबी सहर’ का रूपमा देशभर चिनिन थालेको छ । सहरका सडक, घरका भित्तादेखि लिएर सार्वजनिक संरचनासम्म गुलाबी रङले सजिँदै जाँदा यसले वालिङलाई अन्य नगरभन्दा फरक र आकर्षक बनाएको छ ।
१३ हजार चार सय घरधुरीमध्ये करिब ८० प्रतिशत घरधुरीमा गुलाबी रङ पोतिएको छ । यही विशिष्ट पहिचानलाई अझ दृश्यात्मक बनाउने उद्देश्यले वालिङ नगरपालिकाले अब अटोचालकलाई पनि गुलाबी रङमै जोडेको छ ।
नगरभित्र सञ्चालनमा रहेका करिब दुई सय अटोचालकलाई गुलाबी पोसाक अर्थात् ज्याकेट वितरण गरिएको हो । यससँगै वालिङका सडकमा गुड्ने अटो अब चालकको पहिरनमार्फत पनि सहरको पहिचान बोकेको देख्न सकिने भएको छ ।
नगरपालिकाका अनुसार यो पहल केवल सौन्दर्य वा पहिचानमा सीमित छैन, यसले व्यवस्थापन र राजस्व सुधारसँग पनि प्रत्यक्ष सम्बन्ध राख्छ । नगर उपप्रमुख कविता तिवारी गैह्रेले अटोचालकलाई औपचारिक दर्ता र नवीकरण प्रक्रियामा ल्याउन तथा राजस्व सङ्कलन व्यवस्थित र प्रभावकारी बनाउन यो अभियान सञ्चालन गरिएको बताउनुभयो ।
उहाँका अनुसार एकरूपतासहितको पोसाकले चालकहरूबिच समानता र अनुशासनको भावना विकास गर्ने विश्वास नगरपालिकाले लिएको छ । साथै यात्रुका लागि पनि सेवा लिने क्रममा विश्वसनीयता र सुरक्षा अनुभूति बढ्ने अपेक्षा गरिएको छ । अटो व्यवसायी पनि यो पहलप्रति सकारात्मक देखिएका छन् । गाउँ नगर अटो यातायात प्रालिका अध्यक्ष सम्मरबहादुर बुढाथोकीले ज्याकेट वितरणले व्यवसायलाई थप व्यवस्थित बनाउन मद्दत पुग्ने बताउनुभयो । उहाँका अनुसार एकरूपको पोसाकले चालकलाई चिनाउन सजिलो बनाएको छ । यात्रुले पनि विश्वस्त भएर सेवा लिने छन् भने चालकको पेसाप्रति सम्मान बढाउने विश्वास लिइएको छ ।
पछिल्लो समय सहरी तथा अर्धसहरी क्षेत्रमा तीनपाङ्ग्रे सवारीसाधनको प्रयोग तीव्र रूपमा बढिरहेको छ । छोटो दुरीमा छिटो, सहज र तुलनात्मक रूपमा सस्तो यात्रा सुविधा प्रदान गर्ने भएकाले अटो सेवाप्रति सर्वसाधारणको आकर्षण बढ्दो छ ।
वालिङमा पनि अटो सेवा दैनिक जीवनको अभिन्न अङ्ग बन्दै गएको छ । यस्तो अवस्थामा अटो सेवा क्षेत्रलाई व्यवस्थित बनाउनु अत्यन्त आवश्यक देखिन्छ ।