• ७ जेठ २०८१, सोमबार

अध्यक्ष ली झान्शुले सोमबारदेखि नेपालको भ्रमण गर्नुहुने

blog

जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शु । तस्बिर रासस

काठमाडौँ, भदौ २६ गते । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुले भोलि सोमबारदेखि नेपालको औपचारिक भ्रमण गर्ने हुनुभएको छ । अध्यक्ष झान्शुले यही सेप्टेम्बर १२ देखि १५ तारिख ९ भदौ २७ देखि ३० गतेसम्म नेपाल औपचारिक भ्रमण गर्ने हुनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ सोमबार अपराह्न विशेष विमानबाट काठमाडौं आइपुग्नु हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।    

सभामुख सापकोटा र अध्यक्ष लीले सेप्टेम्बर १२ मा प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता गर्नुहुने मन्त्रालयले जनाएको छ । सोही साँझ सभामुख सापकोटाले अध्यक्ष ली र उहाँको प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा भोजको आयोजना गर्नुहुनेछ ।    

नेपालमा रहँदा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सेम्टेम्बर १४ मा र प्रधानमन्त्री शेरबहादुर देउवासँग सेम्टेम्बर १३ मा शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।

यसैगरी, सोही दिन उहाँले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नुहुनेछ भने परराष्ट्रमन्त्री डा. नारायण खड्काले उहाँसँग शिष्टाचार भेट गर्नुहुने मन्त्रालयले जनाएको छ ।    

त्यस्तै, पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि उहाँको छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष झान्शु यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कनुहुने कार्यक्रम छ ।