• १२ साउन २०८१, शनिबार

कृषि उद्योगहरूको कारण देशको आर्थिक स्थिति बलियो बन्छ : अध्यक्ष प्रचण्ड

blog

गाेरखापत्र अनलाइन

काठमाडाैँ, भदाै २६ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशको आर्थिक स्थिति बलियो बनाउन लागि कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने बताउनुभएको छ । 

आइतबार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै उहाँले देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि नै भएको बताउनुभएको हो । उहाँले देशको अर्थतन्त्र झनै पछाडि धकेलिँदै गएको भन्दै अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने बताउनुभयो ।

कृषिमा गरिने लगानी देशको लागि आवश्यक भएको बताउनुहुँदै उहाँले कृषिपछि जलविद्युत, पर्यटन, जडीबुटी र खनिजको विकासले पनि देशको अर्थतन्त्रमा टेवा पुग्ने बताउनुभयो । 

‘देशको लागि, समाजको लागि र हामी सबैको लागि आवश्यक कुरा भनेको कृषि नै हो । कृषिमा आत्मनिर्भर हुने कुरा र कृषिमा आधारित उद्योगहरूको विकास गर्ने कुरा नेपाल र नेपालीहरूको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा छ । यो हामी सबैको लागि ठूलो चिन्ताको विषय हो । ५०/६० वर्ष अगाडि हामी खाद्यान्नमा आत्मनिर्भर थियौँ ।

हामी सबै चिज निर्यात गर्नसक्ने अवस्थामा थियौँ । अहिले उल्टो भयो, किन यस्तो भइराखेको छ ? हाम्रो चिन्ताको विषय भयो । हामी धेरै पढ्यौँ, लेख्यौँ । धेरै जान्ने सुन्ने पनि भयौँ । तर देशको आर्थिक विकासको स्थितिबाट हेर्दा त्यो अगाडि होइन, पछाडि गएको देखिनु ठूलो चुनौती हो ।’, उहाँले भन्नुभयो – ‘त्यसकारण हामीले हामीसँग भएको जलको सही सदुपयोग गर्ने, पर्यटनको विकासको निम्ति हामीले आवश्यक सबै पूर्वाधारको विकास गर्ने कुरा वा जडीबुटी र खनिजको विकास गर्ने कुरा त छँदैछ । तर रणनीतिक रूपमा, दीर्घकालीन नेपाल र नेपालीको हित हेर्दा कृषिमा नै क्रान्ति ल्याउने कुरा, कृषिमा आधारित उद्योगहरूको विकास गर्ने कुरा नै हाम्रो लागि दिगो छ । हाम्रो निम्ति आवश्यक छ । म तपाईँ सबै साथीहरूको यतातिर विशेष रूपले ध्यानाकर्षण गर्न चाहन्छु । र, तपाईँहरू यसमा चिन्तन र मनन गर्नुहोस् ।’

युवा उद्यमशील हुन चाहेमा देशलाई आत्मनिर्भर अर्थतन्त्रको बाटोमा हिँडाउन सकिने बताउनुहुँदै उहाँले धन, सम्पत्ति कमाउनु र देशलाई सभ्य बनाउनु फरक कुरा रहेको भन्दै समाजलाई सभ्य बनाउने गरी संसारमा नेपालीहरूको आत्मसम्मान हुनेगरी सम्पत्ति आर्जन गर्न युवालाई आग्रह गर्नुभयो ।

लक्ष्य प्राप्तिका लागि दृढ हुनुपर्नेमा जोड दिनुहुँदै अध्यक्ष प्रचण्डले आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिको लागि व्यतीत गर्ने बताउनुभयो ।