• १० मंसिर २०८१, सोमबार

क्षणिक आवेगमा आत्महत्या

blog

प्रत्येक आत्महत्या एउटा त्रासदी हो जसले परिवार, समुदाय र राष्ट्रलाई नै प्रभावित पार्छ। यसले बाँच्नेहरूलाई चिरस्मरणीय वेदना छाडेर जान्छ। मानवीय जीवनभरि नै यो घट्न सक्छ तर १५–१९ वर्ष उमेर समूहका युवाको मृत्युको चौथो मुख्य कारण आत्महत्या देखिएको छ। प्रत्येक वर्ष सात लाख मानिसले आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य सङ्गठनको अध्ययनले उजागर गर्छ। यो कुनै भौगोलिक क्षेत्रमा सीमित वा धनी या गरिबसित सम्बन्धित छैन। ७७ प्रतिशत आत्महत्या निम्न र मध्यम आय भएका मुलुकमा हुने गरेको देखिएको छ। 

आत्महत्या र मानसिक विकार (खासगरी डिप्रेसन र मदिरापानले हुने विकार)को घनिष्टता उच्च आय भएका मुलुकमा देखिन्छ। जब कि धेरैजसो आत्महत्या क्षणिक आवेगमा दैनन्दिनी जीवनमा परिआउने तनावहरू जस्तो आर्थिक समस्या, सम्बन्धविच्छेद वा अनवरत दुःखाइ वा बिरामीलाई सुझबुझ तरिकारले सामना गर्न वा बेहोर्न नसक्नाले हुने गर्छ। यस अतिरिक्त द्वन्द्व, विपत्ति, हिंसा, दुव्र्यवहार, क्षति र एकाङ्की बोध महसुस गर्नु आत्महत्या प्रेरित गर्ने व्यवहार हुन्। विभेदको अनुभव गर्ने समूहहरू जस्तो, शरणार्थीहरू, आप्रवासीहरू, आदिवासी जनजातिहरू, लैङ्गिक अल्पसङ्ख्यकहरू समलिङ्गी स्त्री–पुरुषहरू, बायोसेक्सुअल, इन्टरसेक्स र थुनुवाहरू आत्महत्याको जोखिममा रहेका समूहभित्र पर्छन्। सबैभन्दा बढी खतराको सूचीमा एकचोटि आत्महत्याको प्रयास गरिसकेका व्यक्तिहरू रहेका हुन्छन्।

संसारभरिकै आँकडाबाट २० प्रतिशत आत्महत्या विषादी सेवन गरेर गर्ने गरेको पाइएको छ। जुन निम्न र मध्यम आय भएका मुलुकका ग्रामीण कृषि प्रधान क्षेत्रमा घटित हुने गरेको देखिन्छ। अन्य चल्तीका तरिकाहरूमा झुन्डिएर र आग्नेय अस्त्रको प्रयोग गरेर हुने गरेको पाइएको छ। आत्महत्या गर्न प्रयुक्त धेरै चलनचल्तीमा रहेको तरिकाका बारेको जानकारी महत्वपूर्ण हुन्छ। यसबाट रोकथामको रणनीतिहरू खोजी गर्नका लागि सघाउ पुग्छ। आत्महत्या रोकथामका रणनीतिहरू प्रभावकारी हुने देखिएको छ। 

रोकथाम र नियन्त्रण 

आत्महत्याका घटनामा कमी ल्याउन विभिन्न उपाय अवलम्बन गरिनुपर्छ। यस्ता उपाय ठूलो जनसमुदायमा, स–सानो जनसमूहमा र व्यक्तिको तहमा अवलम्बन गरेर आत्महत्या र आत्महत्याको प्रयासलाई रोक्न सकिन्छ। विश्व स्वास्थ्य सङ्गठनले आत्महत्या रोकथामका लागि निम्न प्रमाणमा आधारित प्रभावकारी अवरोधका उपायको सिफारिस गरेको छ। जस्तो आत्महत्या गर्न प्रयोग हुने साधनहरूको पहुँचलाई सीमित पार्ने, जस्तो, विषादी, निश्चित प्रकारका औषधिहरू। त्यसैगरी सञ्चारमाध्यमले आत्महत्याका समाचार उत्तरदायी भएर प्रकाशन गर्नुपर्ने र नवयुवामा सामाजिक–भावनात्मक जीवनोपयोगी सीप–कौशलको वृद्धि गर्नुपर्ने औँल्याइएको छ। उल्लिखित कार्यहरू सँगसँगै परिस्थितिको विश्लेषण, बहुपक्षीय सहयोग, सचेतना बढाउने, क्षमताको विकास, स्रोत साधनको उपलब्धता, निगरानी र अनुगमन तथा मूल्याङ्कन हुनुपर्छ। श्रीलङ्कामा गरिएको अध्ययनबाट के देखिएको छ भने जोखिमपूर्ण विषादीको प्रतिबन्धले ७० प्रतिशत आत्महत्या घटेर सन् १९९५ देखि २०१५ का बीचमा करिब ९३ हजार मानिसको ज्यान बचेको थियो। कोरियामा धेरै प्रयोग गरिने हर्विसाइड पाराक्वाटको प्रतिबन्धले आत्महत्याको दरमा आधा कमी आएको थियो।

आत्महत्या एउटा गम्भीर सार्वजनिक स्वास्थ्य समस्या हो। तापनि यसलाई समयमै, तथ्य–प्रमाणमा आधारित भएर न्यून खर्चमा उपचार गर्न सक्दा यसको रोकथाम हुन सक्छ। प्रभावकारी आत्महत्या रोकथाम रणनीतिहरूका लागि आत्महत्या र आत्महत्या प्रयासको उन्नत निगरानी र अनुगमन आवश्यक हुन्छ। आत्महत्या रोकथामको प्रयासमा समाजका समुच्चा क्षेत्रहरूको सहयोग र सहकार्य हुन आवश्यक छ। स्वास्थ्य, शिक्षा, श्रम, कृषि, व्यापार, कानुन तथा न्याय, रक्षा, राजनीति र सञ्चारमाध्यमहरूले यसको गम्भीरतालाई आत्मसात् गरेर आ–आफ्नो कार्यक्षेत्रबाट रोकथामका लागि प्रयास गरिनुपर्छ। यस्ता प्रयास विस्तृत र एकीकृत हुन जरुरी छ। एकल प्रयासले कुनै प्रभाव पार्दैन, किनभने आत्महत्या एउटा पेचिलो विषय हो। 

आफ्नो ज्यान आफैँ लिने वा लिन खोज्ने र मानसिक विकारको लाञ्छनाले आत्महत्या गर्न तम्सिएका धेरै मानिस सहयोगको खोजी गर्दैनन् जसले गर्दा सहयोग पनि पाउँदैनन्। सचेतनाको कमीले आत्महत्या प्रमुख जनस्वास्थ्यको समस्याका रूपमा लिइँदैन र धेरै समाजमा यसलाई अभिशापका रूपमा हेरिनाले यसबारे खुला रूपमा छलफल गरिँदैन। परिणामतः आत्महत्याको रोकथाम पर्याप्त रूपमा सम्बोधन गरिएको छैन। त्यसैले धेरै थोरै मुलुकहरूले मात्र यसलाई स्वास्थ्यको प्राथमिकताभित्र राखेको पाइएको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार, केवल ३८ मुलुकले मात्र राष्ट्रिय आत्महत्या रोकथाम रणनीति कार्यान्वयनमा ल्याएका छन्। 

संसारभरि नै आत्महत्या र आत्महत्याको प्रयासको सही आँकडाको उपलब्धता धेरै निम्छरो छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार, सङ्गठनका ८० सदस्य राष्ट्रहरूको राम्रो स्तरको मृत्युदर्ता विवरण राख्ने गरेको पाइएको छ जसबाट आत्महत्या दरबारे आकलन हुन सक्छ। आत्महत्याको निम्छरो मृत्युदर्ताको समस्या अनौठो होइन तर आत्महत्यामा रहेको संवेदनशीलताले र केही देशमा आत्महत्या गैरकानुनी भएका कारण प्रकाशमा नआउने वा सूचना नगर्ने सम्भावना पनि रहन्छ। राष्ट्रहरूबीचको आत्महत्याको स्वरूप भिडाउँदाको भिन्नता र आत्महत्याको दरमा आएको फेरबदल, विशेषता र तरिकाले प्रत्येक मुलुकलाई आत्महत्या सम्बद्ध तथ्याङ्कको रचनात्मकता, गुण र सामयिकतालाई विशिष्ट रूपले प्रकाश पार्छ र यसलाई सुधार गर्दै लैजानुपर्ने आवश्यकताको महसुस गराउँछ। विश्व स्वास्थ्य सङ्गठनले आत्महत्यालाई जनस्वास्थ्यको प्राथमिकताको मान्यता दिएको छ। सन् २०१४ मा प्रकाशित पहिलो विश्व स्वास्थ्य सङ्गठन विश्व आत्महत्या प्रतिवेदन ‘आत्महत्याको रोकथाम : विश्वव्यापी आवश्यकता’ले जनस्वास्थ्यमा आत्महत्या र आत्महत्याको प्रयासको महत्वका बारेमा सचेतनाको अभिवृद्धि र आत्महत्या रोकथामलाई विश्वव्यापी जनस्वास्थ्य एजेन्डामा उच्च प्राथमिकतामा राख्ने लक्ष्य लिएको छ। 

नेपालको सन्दर्भ

विश्व स्वास्थ्य सङ्गठन मानसिक स्वास्थ्य कार्ययोजना २०१३–२०३० मा सदस्य राष्ट्रहरूले आफ्नो मुलुकको आत्महत्याको दरलाई एकतिहाइले घटाउन विश्वव्यापी लक्ष्यमा क्रियाशील रहन आफूलाई प्रतिबद्ध गरेका छन्। यस अतिरिक्त आत्महत्याको मृत्युदर सन् २०३० मा पूरा गरिने दिगो विकास लक्ष्यको एउटा सूचकाङ्क हो। यसअन्तर्गत नसर्ने रोगहरूबाट हुने असामयिक मृत्युदरलाई रोकथाम, उपचार र मानसिक स्वास्थ्य एवं तन्दुरुस्तीको प्रवद्र्र्धनद्वारा एकतिहाइ घटाउने रहेको छ।

सङ्क्रमणमा रहेको हाम्रो समाजमा परिवारको ‘गठन’ र ‘विघटन’को क्रम तीव्र छ। राजनीति स्थिरतातिर मुलुक लम्किरहेको छ तर अन्य कुराले नेपाली समाज सङ्क्रमणमा छ। जनसङ्ख्याको ठूलो हिस्सा ग्रामीण भेगबाट सहर–बजारतिर बसाइँ सरिरहेको छ। निर्वाहमुखी कृषिमा आश्रित ग्रामीण समाजमा र वैदेशिक रोजगारीमा आश्रित सहरी समाजको ठूलो हिस्सामा मनोसामाजिक दबाब धेरै नेपालीले खेपिरहेको समस्या हो। २०५३ सालको मानसिक स्वास्थ्य नीति र २०७१ सालको स्वास्थ्य नीतिमा आत्महत्या रोकथामबारे कुनै उल्लेख छैन। जन्म–मृत्युदर्ता गर्दा आत्महत्याबाट भएको मृत्युका बारे खुलाउनुपर्ने व्यवस्था नहुँदा आत्महत्याको राष्ट्रिय तथ्याङ्क (डाटा बेस) बन्न नसकेको अवस्था छ। 

नेपालको श्रमशक्तिको ठूलो हिस्सा वैदेशिक रोजगारमा छ। श्रमिकहरूमा स्वदेशमा भन्दा विदेशी भूमिमा मानसिक समस्या हुने अवस्था छ। जस्तै परिवारबाट टाढा हुनु, नयाँ वातावरण, कामको बोझ, सोचेजस्तो सहायताको अभाव इत्यादि। आप्रवासी श्रमिकलाई आफ्नो मात्र नभएर घरपरिवारको चिन्ता पनि थपिएको हुन्छ। झन् त्यसमाथि सांस्कृतिक तथा भाषागत अवरोधका कारण आफ्नो समस्या स्पष्ट रूपमा राख्न नसकेर मानसिक स्वास्थ्यको जोखिम बढेको छ। विश्वव्यापी अध्ययनहरूले कुल जनसङ्ख्याको २० प्रतिशत मानिस जीवनभरमा कुनै न कुनै प्रकारको मानसिक बिरामीबाट गुज्रिएका हुन्छन् भने २ प्रतिशत मानिस कुनै पनि समयमा कडा वा उपचारयोग्य मनोरोगबाट पीडित हुन्छन् भन्ने देखाएको छ। आत्महत्या वा आत्महत्याको प्रयासलाई हेर्ने र व्यवहार गर्ने कुरामा सरकारी स्पष्टता नहुँदा यसमा आशा गरेजस्तो सुधार हुन सकेको छैन।

लेखक : चितवन जिल्ला अदालतका न्यायाधीश हुनुहुन्छ।