• १० मंसिर २०८१, सोमबार

बीपीलाई धोका दिनेहरू

blog

लामो राजनीतिक जीवनमा जननायक बीपी कोइरालाले धेरै आरोहअवरोह बेहोर्नुप-यो। नेपाली कांग्रेस स्थापना गरी राणा शासन अन्त्य गर्ने अगुवाइपूर्ण भूमिका बीपीले निर्वाह गर्नुभयो। नेपालको पहिलो जननिर्वाचित सरकारको नेतृत्व गरेको गौरवपूर्ण इतिहास पनि बीपीले नै कायम गर्नुभएको छ। त्यति मात्र होइन सम्झौताहीन राजनीतिका पक्षपाती बीपी प्रधानमन्त्रीको कुर्सीबाट सिधै बन्दीगृहमा समेत पुग्नुभयो। बीपीबाट प्रतिपादित विचारका लाखौँ अनुयायी निस्किए। बीपीले राजनीतिक सहयात्राका क्रममा पत्याउनुभएका नजिकका सहयात्रीले भने उहाँलाई नराम्ररी धोका थिए। बीपीको राजनीतिक इतिहास केलाउँदा डा. तुलसी गिरी, विश्वबन्धु थापा, श्रीभद्र शर्मा र परशुनारायण चौधरीलगायतको एउटा प्रभावशाली समूह नै यसमा रहेको देखिन्छ। 

कसरी उदाए गिरी 

समकालीन राजनीतिज्ञमध्ये डा. गिरीलाई सबैभन्दा चतुर र ध्रुत मानिन्छ। विषयवस्तु प्रस्तुत गर्ने कला, व्यक्तित्व र चुतर बुद्धिका कारण अरूलाई सजिलै प्रभावित पार्नसक्ने क्षमता गिरीमा रहेछ। राजनीतिमा रुचि भए पनि गिरी मेडिकल प्राक्टिस गर्ने उद्देश्यले काठमाडौँ आई वीर अस्पतालमा काम गर्नुहुन्थ्यो। गिरीका पिता मन्दीप गिरीको बीपीसित नजिकको चिनापर्ची थियो। दाजु रुद्रप्रसाद गिरी कांग्रेसका संस्थापक सदस्य नै हुनुहुन्थ्यो। यस्तो पृष्ठभूमिका गिरीले बीपीसित छिट्टै नै नजिकको सम्बन्ध बनाउनुभयो। बीपीले नै गिरीलाई कांगे्रसमा ल्याउनुभएको हो। छोटो अवधिमा बीपीको नजिकका राजनीतिक सहयोगीका रूपमा गिरीले आफ्नो भूमिका बनाउनुभयो। २०१६ सालमा बीपीलाई प्रधानमन्त्री बनाउन गिरीले मुख्य भूमिका निर्वाह गर्नुभयो। बीपीलाई प्रधानमन्त्री बनाउने वातावरण तयार पार्न गिरीले भारतका नेताहरूसित संवाद मात्र गर्नुभएन बीपी प्रधानमन्त्री हुनुहुँदैन भनेर भोक हडताल सुरु गरेकी बीपी धर्मपत्नी सुशीला कोइरालालाई सम्झाउने जिम्मा पनि पाउनुभयो। गिरीको त्यतिबेलाको उठबस गजबकै रहेछ। २०१५ सालको आसपासमा गिरी त्यतिबेलाको ब्राण्ड मानिने फ्रक्सवागन गाडी चढ्नुहुँदो रहेछ। त्यतिखेर कांग्रेसका सुवर्णशमशेर, सूर्यप्रसाद उपाध्यायलगायतका सीमित नेतासित मात्र गाडी रहेछ। 

२०१२ सालमा वीरगञ्जमा सम्पन्न कांग्रेसको महाधिवेशनबाट सुवर्णशमशेर राणा सभापतिमा निर्वाचित भएपछि डा. तुलसी गिरी र विश्वबन्धु थापाको राजनीतिमा एकसाथ ढोका खुल्यो। त्यसपछि गिरीले राजनीतिमा पछाडि फर्केर हेर्न परेन। २०१५ सालको निर्वाचनमा बीपीले डा. गिरीलाई पार्टीको तर्फबाट टिकट नै दिनुभएन। गिरीको रुचि पनि निर्वाचन लड्न थिएन। गिरीको आफ्नो कुनै निर्वाचन क्षेत्र नभएको, जित्ने सम्भावना नदेखिएको कारण गिरीलाई निर्वाचन नलडाएको बीपीले उल्लेख गर्नुभएको छ। 

बीपीलाई प्रधानमन्त्री बनाउन गिरीले जति मिहिनेत गरे पनि बीपीसित राजनीतिक दूरी बढेपछि भने आफ्नो पूरै सामथ्र्य राजा महेन्द्रलाई सहयोग गर्नमा खर्च गर्नुभयो। कामप्रतिको इमानदारी तथा जिम्मेवारी बहन गर्ने क्षमताका कारण राजाले गिरीलाई आफूप्रति आकर्षित गरेका रहेछन्। राजनीतिक ‘कु’ गर्ने महेन्द्रको योजनाका बारेमा सबैभन्दा धेरै जानकार गिरी नै रहेको देखिन्छ। यस विषयमा बीपीले भन्नुभएको छ, ‘२०१७ सालको घटनाका विषयमा डा. गिरी जति जानकारी भएको अर्को कुनै व्यक्ति रहेको देखिन्न।’ (बीपीको आत्मवृतान्त)

२०१७ पुस १ गते प्रधानमन्त्री बीपीसित तरुण दलको कार्यक्रमबाट बन्दी बनाइएका गिरी पुस ५ गते नै रिहा हुनुभयो। सबैभन्दा पहिलो रिहा हुने नेता नै गिरी हुनुहुन्छ। त्यसपछि २०१७ साल पुस १३ गते राजा महेन्द्रद्वारा आफ्नै अध्यक्षतामा गठित मन्त्रिपरिषद्मा गिरीको नाम दोस्रो स्थानमा थियो।                                                     

२०३४ सालमा नजरबन्दमा रहेका बेला बीपीको उपचारका बारेमा कुराकानी गर्न गएका डा. मृगेन्द्रराज पाण्डेलाई त्यसबारेमा बढी चिन्ता नलिनु भन्दै गिरीले पाण्डेलाई नमिठो शैलीमा झपारे छन्। बीपी प्रधानमन्त्री रहेसम्म राजा महेन्द्रको व्यक्तित्व ओझलमा पर्छ भनेर राजालाई बेला बेला झस्का दिने काम गिरीले गर्नु हुँदोरहेछ। यसरी बीपीका कुनै बेलाका नजिकका सहयात्री गिरीले नै राजा महेन्द्रसित दूरी बढाउन, विदेशी नेतासितको सम्पर्क बिच्छेद गराउने तथा बीपीको विदेशमा उपचार गराउनबाट वञ्चित गराउने काममा समेत मुख्य भूमिका खेल्नुभयो। जुन बीपीले परिकल्पना गरेभन्दा धेरै परको कुरा थियो। 

बीपीको परिवारसित विश्वबन्धु थापाको अचम्मको सम्बन्ध थियो। विश्वबन्धुकी आमाले बीपीका पिताजी कृष्णप्रसाद कोइरालालाई दाजु मानेर भाइटीका लगाउनुहुन्थ्यो। विश्वबन्धु जन्मेको दिन नै उनको आमाको निधन भयो। त्यसपछि विश्वबन्धुलाई पाल्ने हुर्काउने जिम्मेवारी कोइराला परिवारमा आइप-यो। विश्वबन्धुले पनि कोइराला परिवारका अन्य सदस्यझैँ कृष्णप्रसाद कोइरालालाई पिताजी भन्नुहुन्थ्यो। विश्वबन्धुको व्रतबन्धमा मामा भूमिका पनि पिताजी कृष्णप्रसाद कोइरालाले नै गर्नुभएको रहेछ। यस्तो वातावरणमा कोइराला परिवारमा हुर्केका थापा राजनीतिक रूपमा बीपीसित सधैँ नजिकमा रहनुभयो। उमेरको हिसाबले बीपी र विश्वबन्धुको बीचमा १३ वर्षको उमेर फरक भए पनि बीपीले सधैँ राजनीतिक सहयात्रीका रूपमा विश्वबन्धुलाई अघि सार्नुभयो। 

२००७ सालको क्रान्ति सफल भएपछि बीपीसँगै थापा पनि काठमाडौँ आउनुभएको हो। भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूसितको भेटघाटमा पनि बीपीले विश्वबन्धुलाई साथमै लैजानुहुन्थ्यो। पार्टीका उच्चस्तरीय नेताहरूसितको भेटवार्तामा पनि सकेसम्म आफूसँगै राख्ने गर्नुहुन्थ्यो। यसपछि बीपीले थापालाई केन्द्रीय सदस्य, सहायक महामन्त्री हुँदै महामन्त्रीको जिम्मेवारीमा ल्याउनुभएको हो। २०१५ सालको निर्वाचनमा बीपीले आफ्नै भाइ गिरिजाप्रसाद कोइरालालाई टिकट दिनुभएन। निकै जिद्दी गरेपछि विश्वबन्धुले टिकट लिनुभयो र निर्वाचनमा समेत जित्नुभयो। 

निर्वाचन जितेपछि उहाँ बीपी नेतृत्वको सरकारमा मन्त्री बन्न चाहनुहुन्थ्यो तर बीपीले मन्त्री बनाउनुभएन। बरु संसदीय दलको प्रमुख सचेतक बनाउनुभयो। पटक पटक नयाँ पद माग गरेर हैरानी पार्ने स्वभाव थापाको रहेछ। प्रमुख सचेतकका रूपमा पनि थापाले सांसद्हरूलाई भड्काउने खालको भूमिका खेलेको बीपीले उल्लेख गर्नुभएको छ। बीपीले मन्त्री नबनाएपछि थापाले राजा महेन्द्रसित सम्बन्ध बढाउनुभयो। बीपीसितको दूरी बढ्दै गयो। राजा महेन्द्रले पनि विभिन्न कारण देखाउँदै प्रमुख सचेतक थापालाई दरबारमा बोलाउन थालेका थिए। पार्टीमा थापाको राम्रो पकड छ र अधिकांश सांसद थापाले भनेको मान्छन् भन्ने कुरा गिरीले राजा महेन्द्रलाई सुनाउनुभएको रहेछ। यो अवस्थामा बीपीबाट विश्वबन्धुलाई अलग गर्नुपर्छ भन्ने रणनीति राजा महेन्द्रको रहेछ। २०१७ सालको राजनीतिक ‘कु’ पछि बीपी बन्दी गृहमा पुग्नुभयो तर विश्वबन्धु थापा भने मन्त्री हुनुभयो। 

कोइराला परिवारमै हुर्केबढेका थापाले बीपीको विचारमा सहमत हुन सक्नुभएन र राजा महेन्द्रलाई साथ दिनुभयो। बीपीसितको सम्बन्धलाई राम्ररी बुझेका महेन्द्रले थापालाई पञ्चायतको सर्वोच्च संस्था गाउँ फर्क राष्ट्रिय अभियानको अध्यक्ष र राष्ट्रिय पञ्चायतको अध्यक्ष बनाउनुभयो। २०३४ सालको बडादशैँको टीका भने थापाको राजनीतिक यात्रामा बाधक बनिदियो। बीपीसित काठमाडौँको चाबेलमा दशैँको टीका थापेपछि पञ्चायतको सर्वोच्च निकायको संस्था बीपीको हातको टीका लगाउँछ भनेर विरोधीले आरोप लगाएपछि भने थापाले पदबाट राजीनामा नै दिनुभयो। धेरै वर्षको अन्तरालमा दशैँको दिन आफ्नो घरमा देखेपछि बीपीले विश्वबन्धुलाई ‘त यहाँ आएको थाहा पाए राजा रिसाउँदैनन्’ भनेर समेत भन्नुभएको थापाले आफ्नो स्मरणमा उल्लेख गर्नुभएको छ। यसरी २०१७ सालको राजनीतिक ‘कु’, निर्वाचित प्रधानमन्त्रीको नजरबन्द, संसद् विघटन, दलमाथिको प्रतिबन्धलगायतका घटनामा गिरी र थापालाई नै मुख्य जिम्मेवार भन्दै आलोचना गर्ने गरिन्छ। 

एक पटक नेताहरूको छलफलमा गणेशमानजीले बीपीलाई भन्नुभएछ ‘‘खुब विश्वबन्धु र डा. गिरी भन्नुहुन्थ्यो त कसरी तपाईंलाई धोका थिएर उनीहरू राजासित लागे ?’’ त्यसपछि बीपीले बढो भावुक हुँदै भन्नुभएछ ‘‘डा.गिरीले धोका दिएको त म बुझन सक्छु तर विश्वबन्धुले किन त्यसो ग-यो, त्यो ठम्याउन मलाई कठिन भएको छ।’’ यसरी बीपीका नजिकका सहयात्री थापा र गिरीले बीपीसितको राजनीतिक सहकार्य झन्डै एकै समय पारेर छोडे। 

श्रीभद्र र परशुनारायण थिए पत्यारलाग्दा 

बीपीले पार्टीका दुई सहयात्री श्रीभद्र शर्मा र परशुनारायण चौधरीसित धेरै भरोसा गर्नुभएको देखिन्छ। उहाँहरू लामो समयसम्म बीपीसित सँगै रहन सक्नुभएन। २०१५ सालको निर्वाचनपछि पश्चिम क्षेत्रबाट सबैभन्दा बढी योग्य भन्दै श्रीभद्रलाई मन्त्री बनाउने योजना बीपीको थियो तर काशीनाथ गौतमले मन्त्री नपाए आत्महत्या गर्ने धम्की दिएपछि गौतमलाई नै मन्त्री बनाउनुभयो। यस विषयमा बीपीले राय लिँदा शर्माले बीपीले लिने निर्णय आफ्ना लागि स्वीकार्य हुने जवाफ दिनुभएको रहेछ। हुन पनि शर्मा सधैँ बीपीकै सहयोगीको रूपमा रहनुभएको थियो। मन्त्री बनाउन नसके पनि बीपीले २०१७ सालको महाधिवेशनपछि शर्मालाई पार्टीको महामन्त्री बनाउनुभयो। शर्माले पछि पञ्चायततिरको राजनीतिक यात्रा तय गर्नुभयो। बीपीले शर्मालाई त भावी प्रधानमन्त्री भनेर कहीँकतै भन्नुभएको थिएन तर पार्टीका अर्का महामन्त्री परशुनारायण चौधरीलाई भने बीपीले २०३६ सालको जनमत सङ्ग्रहको बेलामा टुँडिखेलबाट आयोजित सभामा बहुदल आएपछिका प्रधानमन्त्री भनेर घोषणा नै गरिदिनुभयो। समयको अनुकूलतालाई हेर्दै बीपीले कहिलेकाहीँ यस्तो कुरा भन्ने गर्नुहुन्थ्यो। २०३३ सालमा बीपीले गिरिजाप्रसाद कोइराला र परशुनारायण चौधरीलाई महामन्त्रीको जिम्मेवारी दिनुभएको थियो। चौधरी बीपीसित लामो समय रहनसक्नु भएन। बीपीले बहुदल आएपछिको प्रधानमन्त्री भनेर घोषणा गरेको एक वर्ष पनि नपुग्दै २०३७ सालमा आफ्नो समूहसहित चौधरी पञ्चायत प्रवेश गर्नुभयो। यसले तत्कालीन अवस्थामा हलचल नै ल्याएको थियो। 

बीपीसित राजनीतिक उठबसमा धेरै नेताले विभिन्न खालको असहमति राखे तर पार्टी छोडेनन्। बीपीसित सुवर्णशमशेर, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराई लगायतका नेताको लामो राजनीतिक सहयात्रा रह्यो। सूर्यप्रसाद उपाध्याय २०१७ सालपछि कांग्रेसमा सक्रिय रहनुभएन तर राजासित मिलेर कुनै मन्त्री या कुनै लाभको पदसमेत लिनुभएन। 

सन् १९७३ को बलान्नयन काण्डपछि (जहाज अपहरण) बीपी र सुवर्णशमशेरका बीचमा संवाद भएको थिएन। सानोतिनो आर्थिक विषयमा पार्टीलाई बदनाम गराएको गुनासो थियो सुवर्णशमशेरको। सुवर्णशमशेरका कार्यसमितिमा एक पटक बीपीलाई कारबाही गर्ने कुरा पनि उठेको रहेछ। बीपी र गणेशमानका बीचमा पनि धेरै नीतिगत भिन्नता थिए। नीतिगत विषयमा बीपीसित जति फरक मत राखे पनि गणेशमान सधैँ बीपीकै साथमा रहनुभयो। 

निर्वासनमा होइन स्वदेशमै बसेर आन्दोलन गर्नुपर्छ भन्ने कृष्णप्रसाद भट्टराईको छुट्टै राजनीतिक थेसिस थियो। भट्टराईलाई देख्दा स्वदेशमा नै बसेर पनि आन्दोलन गर्न सकिन्छ भन्ने ऊर्जा बीपीले भट्टराईबाटै लिनुभएको रहेछ। बीपीसितको सहकार्यमा उहाँले कुनै कटुता आउन दिनुभएन ।