• २१ असार २०८१, शुक्रबार

सामुदायिक विद्यालय सुधारको काम सुरु भएको छ : मन्त्री पौडेल

blog

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, भदौ २४ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र स्थानीय तहको ठूलो भूमिका हुने बताउनुभएको छ । काभ्रेको धुलिखेलमा जिल्ला समन्वय समिति, शिक्षा विकास तथा समन्वय इकाईले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री पौडेलले प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र स्थानीय तहको समन्वय भएका विद्यालय नमूना बनेको बताउनुभएको हो ।  

सरकारले सामुदायिक विद्यालयको सुधारका विभिन्न कार्यक्रम अघि बढाएको उहाँको भनाइ छ । नमूना बनेका सामुदायिक विद्यालय भएका स्थानमा निजीस्तरबाट सञ्चालन भएका विद्यालयमा विद्यार्थीको चाप कम रहेको उहाँले बताउनुभयो । मन्त्री पौडेलले शिक्षा क्षेत्रको विकास नभएसम्म अन्य क्षेत्रको विकास सम्भव नहुने चर्चा गर्नुभयो ।

सरकारले सबैभन्दा बढी शिक्षा क्षेत्रमा एक खर्ब ९७ अर्ब रुपियाँ बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न तथा शिक्षा क्षेत्रका समस्या समाधान गर्न कानुनी सुधार गरी सङ्घीय शिक्षा ऐन निर्माण गरी छलफल चलाइएको, शिक्षण सिकाईमा सुधार र भौतिक पूर्वाधारको सुधारमा काम भइरहेको उहाँले बताउनुभयो । 

देशभरका सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि विशेषज्ञसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको मन्त्री पौडेलले बताउनुभयो । सामुदायिक विद्यालय सुधार गर्न ‘म बनाउँछु, मेरो विद्यालय’ अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।  

शिक्षा, स्वास्थ्य र रोजगारी मौलिक हकको रूपमा संविधानमा व्यवस्था भएको चर्चा गर्नुहुँदै  कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क गरिने उहाँले बताउनुभयो । सरकारले विद्यालय तहसम्मको शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउन शैक्षिक क्यालेन्डर लागु गर्न लागेको उहाँको भनाइ छ । क्यालेन्डर बनेपछि, परीक्षा, भर्ना र पढाई समयमा हुने उहाँले प्रस्ट पार्नुभयो ।