• १० मंसिर २०८१, सोमबार

बीपीको अमूल्य आर्जन

blog

बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालामाथि राज्य विप्लवसम्बन्धी सातवटा मुद्दा थिए। ती प्रत्येक मुद्दामा उहाँहरूलाई मृत्युदण्डको सजाय हुन सक्थ्यो। देश हरेक दिन सङ्कटतिर धकेलिँदै थियो। यसको निवारणको निमित्त मृत्युदण्डको सजायलाई पनि बेहोर्न तत्पर भएर बीपीले राष्ट्रिय एकता र मेलमिलापको नीति अवलम्बन गर्नुभयो। बीपी, गणेशमान र नेपाली कांग्रेसका अरू धेरै नेता स्वदेश फर्कनुभयो। स्वदेश फर्कने सबैलाई सरकारले कडा दमन ग-यो। राष्ट्रिय एकता र मेलमिलाप नीतिका पक्षमा नेपाली जनता उभिए। देशमा नयाँ परिवर्तनको सङ्केत देखापर्न थाले। 

वि.सं २०३६ जेठमा जनमत सङ्ग्रह घोषणा भयो। त्यसपछिको केही दिनसम्म बीपीलगायत अरू नेताको भ्रमणमा त्यति बाधा दिइएन। बहुदल पक्षमा तीव्रतर रूपमा जनसमर्थन बढ्न थाल्यो। त्यसबाट राज्यको संरक्षणमा जे पनि गर्न छुट पाएका तत्व हतप्रभ भए। तिनै तत्वले बीपीको भ्रमणमा मात्र होइन, सबै नेताको भ्रमणमा अशान्ति सिर्जना गराइरहे। २०३६ को असोज ५ गते बीपी पोखरा जानुभयो। ठूलो जनसमूहले विमानस्थलमा उहाँको भव्य स्वागत ग-यो। त्यसै दिनमा आयोजना गरिएको पोखराको विशाल आमसभालाई बीपीले सम्बोधन गर्नुभएको थियो। भोलिपल्ट ६ गते उहाँले दमौलीको आमसभालाई सम्बोधन गर्नुभयो। ७ गते उहाँ फेरि पोखरा फर्कनुभयो। स्याङ्जाका जनतालाई भेट्न र त्यहाँको आमसभालाई सम्बोधन गर्न असोज ८ गते बीपी पोखराबाट स्याङ्जा जानुभयो। कांग्रेसका कार्यकर्ताको एउटा समूह पनि उहाँसँगै गएको थियो। स्याङ्जाको राङखोलामा विशाल आमसभा भयो। मध्यपश्चिमी पहाडका ठूलो जनसमूह त्यो आमसभामा उपस्थित थियो। 

अपराह्न ४.३० तिर राङखोलाबाट फर्केर त्यसको केहीयता पहाड तलको सडकमा बीपी आइपुगेपछि पहाडको माथिबाट ठूला–ठूला ढुङ्गा खसालियो र बीपी चढेको मोटरलाई पूर्णतः नष्ट पार्न खोजियो। बीपी पोखराका कालीबहादुर अधिकारीले हाँकेको उनको आफ्नै मोटरमा हुनुहुन्थ्यो। कालीबहादुरले ढुङ्गा प्रहारबाट बीपीलाई जोगाएर मोटरलाई पुतलीबजारको मोडमा पु-याए। बीपीलाई त्यहाँ सकुशल देख्नेबित्तिकै पछाडिबाट उहाँलाई लक्षित गरी प्रहरीले गोली चलायो। गोली बीपी बसेको मोटरको नजिकै आइरह्यो। सयौँ कार्यकर्ता दौडँदै आएर बीपीलाई हानिएको बन्दुक अगाडि उभिए।  

बीपीलाई प्रहार गरेको गोली छेक्न उभिएका धेरै घाइते भए। धेरैलाई गोली लाग्यो। तीमध्ये नेपाली कांग्रेस लमजुङमा तत्कालीन सभापति तारा कोइराला पनि थिए। उहाँले आफ्नो एउटा खुट्टा सधैँका लागि गुमाउनुभयो। गण्डकी अञ्चलका अञ्चलाधीशको निर्देशनमा स्याङ्जाका प्रमुख जिल्ला अधिकारीसमेतको यसमा संलग्नता थियो। राज्यबाट सम्पूर्ण छुट प्राप्त केही तत्वको पनि त्यसमा संलग्नता थियो। त्यसैदिन राति घाइते सबैलाई पोखरा अस्पतालमा पु-याइयो। राति अबेरसम्म अस्पतालमा रहेर बीपीले सबैको स्वास्थ्य स्थितिको जानकारी लिनुभएको थियो। 

२०३६ फागुनमा जलेश्वरमा आयोजित आमसभालाई बीपीले सम्बोधन गरिरहँदा उहाँलाई लक्ष्य गरेर त्यहाँ पनि हिंस्रक आक्रमण भएको थियो। धेरैले आफू घाइते भएर बीपीलाई चोटपटक लाग्नबाट जोगाए। बीपीले यो आक्रमणलाई पनि गम्भीर रूपमा लिनुभएको थियो। स्याङ्जाको यो गोली काण्डको बारेमा असोज १० गते काठमाडौँ फर्केपछि दिएको वक्तव्यमा बीपीले भन्नुभएको थियो “केही दिनअघि स्याङ्जाको जनसभालाई सम्बोधन गरी फर्कंदा म र मेरो साथमा हिँडेका उत्तेजनारहित, शान्त र अनुशासित जनसमूहमा प्रहरीको संरक्षणमा देखिएका केही उपद्रवी र प्रहरीद्वारा केही व्यक्तिलाई घाइते पारेको घटनालाई लिएर मेरा मित्र र शुभचिन्तकको ठूलो समुदायले, जसमा अन्य राजनीतिक दलका साथै पञ्चायतमा संलग्न व्यक्ति पनि छन्, उनीहरूले प्रकट गरेको चिन्ता र सहानुभूतिबाट मैले राष्ट्रिय राजनीतिमा आशा गरेको एकतालाई अझ बढी बल मिलेको छ। मृत्युको नजिकसम्म पुगेर मैले फेरि आर्जन गरेको छु, देशवासी र खास गरेर बृहत राजनीतिक समुदायको प्रेम, ममता र सौहार्दता।

यस पटकको पोखरातर्फको मेरो भ्रमणमा मैले जुन विलक्षणता र असङ्गति देखेँ, जनभावनाको जुन प्रवाह र त्यसको प्रतिरोधको प्रतिगामी हमला देखेँ, मेरा लागि मात्र होइन देशको भविष्यका लागि एकातर्फ उज्ज्वल र उत्साहपूर्ण वातावरण विकसित भएको पाएँ भने अर्कोतर्फ त्यस मार्गका अवरोध र खाडल पनि देख्न पाएँ। यस विरोधाभासयुक्त स्थितिमा मैले आफ्ना ती सबै कुराको पुष्टि पाएँ, जो मैले आफ्नो सम्पूर्ण राजनीतिक जीवन र खास गरेर यताका केही वर्षमा बढी केन्द्रित भई देशवासीसमक्ष राख्दै आएको छु। यसपालिको भ्रमणमा आर्जित मेरा अनुभवले मलाई आफ्ना निष्ठा र विश्वासका साथै मैले अनुसरण गरेका नीति र कार्यक्रमका प्रति झन् बढी बल र पुष्टयाइँ प्राप्त भएको छ। 

प्रत्यक्षदर्शीले मात्र अनुमान गर्न सक्थे होलान्, ती असङ्ख्य जनसमूहको अनुहारबाट टल्किने प्रजातन्त्रप्रतिको संलग्नता र नागरिक भएर ठडिन सक्ने चाहना र सामूहिक रूपमा राजनीतिमा सम्मिलित हुने अदम्य इच्छा, जो त्यस अवसरमा मैले सम्बोधन गरेका स्थानमा प्रदर्शित भएको थियो। मैले आफ्नो लामो राजनीतिक जीवनमा सदैव यस्तै जनसमुदायबाट शिक्षा र प्रेरणा पाएको छु र यस पटकको मलाई जनताद्वारा प्राप्त भएको शिक्षा र प्रेरणा मेरो जीवनको एउटा अमूल्य आर्र्जन भएर रहेको छ। 

मैले आफ्ना ग्रामीण देशवासीसँग घनिष्ट भएर वार्तालाप गर्न पाएँ, उनीहरूसँग व्यक्त र अव्यक्त भाषाहरूमा। मैले देखेँ, त्यस भेगको कुनै पनि विवेकशील नागरिक १९ वर्षदेखि चलिआएको व्यवस्थासँग सन्तुष्ट छैनन्, मतदानद्वारा त्यसलाई समाप्त पार्न अधैर्य छन्। मेरोप्रतिको व्यापक अभिरुचि र मेरो कुराहरूको व्यापक प्रचारका आधारमा कुनै राजनीनिक निष्कर्ष निकाल्न सकिन्छ भने त्यो यो नै हो, जनता अब निर्दलीय पञ्चायत व्यवस्थाद्वारा शासित हुन चाहँदैनन्। 

मैले जनताको यस अभिरुचि, उमङ्ग र उत्साहको, क्षमता र शक्तिको सफलताको विश्वास हासिल गरेको छु, त्यस्ता राजनीतिक कार्यकर्ताबाट पनि, जो विगतका दमन चक्र र यातनाबाट खारिएर आएका मात्र होइनन्, परिवर्तनको प्रत्येक चरणमा गतिशील क्षमता, साहस र अनुशासनको साथ प्रजातान्त्रिक आन्दोलनमा सङ्गठित शक्तिका रूपमा जनताको अगुवाइका लागि अग्रगामी भएका छन्। देशमा स्थापित अन्यायपूर्ण व्यवस्थाको प्रतिकारमा समाजको नयाँ पुस्ता निरन्तर यसमा सम्मिलित हुँदै आएका छन् र आज यस देशको प्रजातन्त्रको एउटा महìवपूर्ण सुनिश्चिय राजनीतिक कार्यकर्ताको यस समूहले पनि गरेको छ। देशमा उत्पन्न भएको नयाँ वातावरण बुझ्न सक्ने क्षमता पञ्चायतमा संलग्न केही व्यक्तिमा पनि पाएँ, जो पुरानो पूर्वाग्रहबाट मुक्त भएर राष्ट्रिय र प्रजातान्त्रिक दृष्टिकोणबाट देशका समस्या हेर्ने प्रयत्न गर्दैछन्। निकै ठूलो सङ्ख्यामा त्यस्ता व्यक्ति बहुदलीय प्रजातान्त्रिक व्यवस्थापनको पक्षमा आउन लागेको मैले पाएँ। परिवर्तित स्थितिमा कुनै पनि इमानदार व्यक्तिले जनताका हक खोसिएको समर्थन गर्न सक्तैन। 

देशमा शान्तिपूर्ण र वैध उपाय प्राप्त भएसम्म न जनता न राजनीतिक कार्यकर्ता कसैलाई पनि हिंसा, सङ्घर्ष र अशान्ति मनपर्ने कुरा होइन। व्यवस्था परिवर्तनका लागि वैध र सुगम उपाय कायम रहेसम्म जनता कुनै विद्रोहको प्रवृत्ति राख्दो रहेनछ भन्ने जनताले सधैँ देखाइआएको कुरा यसपालि पोखरा तर्फको मेरो भ्रमणमा झन् बढी स्पष्ट भएको छ। राजनीतिक हकका कुरा हाम्रा गाम्रीण जनताले बुझ्दैनन् भन्नेहरूलाई त्यस भेगको जनसभाले जोडदार उत्तर दिएको छ, विशाल र अभूतपूर्व उपस्थितिद्वारा। 

जनता र राजाको अहित हुने तथा राष्ट्रको अस्तित्व नै मेटिने किसिमको उत्तेजना, सङ्घर्ष र हिंसालाई बढवा दिने तत्व मेरो पछि–पछि स्याङ्जा पनि पुगेको थियो। बर्दीमा तैनाथ प्रहरीको संरक्षण र सहयोगमा भएको हालैको त्यो हिंसात्मक आक्रमण म कुनै राष्ट्रिय राजनीतिको मेरा विरोधीको आक्रमण मान्न असमर्थ भइरहेको छु। देशलाई हिंसा र गृहयुद्धजस्तो सङ्कटग्रस्त अवस्थामा धकेल्ने प्रयत्न गर्ने त्यस्ता तत्व जुनसुकै बर्दीमा रहे पनि राजाको हितमा छैनन्, जुनसुकै गाउँमा बस्ने भए पनि जनताका मित्र होइनन्। 

मैले त्यस घटनाभन्दा अघि पनि भनेको छु र बारम्बार भनेको छु, एउटा तत्व यस देशको संरचना ध्वस्त गर्न कटिबद्ध देखिन्छ र त्यसको प्रवेश आश्चर्यजनक रूपमा, बर्दीभित्र पनि भएको कुरा विशाल जनसमूहले आँखाले नै देखेका छन्। प्रशासनमा रहेका र बर्दीमा रहेका ती अनेकौँ जिम्मेवार अधिकारी वर्ग र कर्मचारीप्रति म प्रशंसा भाव व्यक्त नगरी पनि रहन सक्तिनँ। जसले अन्य अवसरमा अत्यधिक जिम्मेवारी र कर्तव्यपरायणताका साथ शान्ति र व्यवस्था कायम राख्नुको साथै मप्रति सद्भावनापूर्ण व्यवहार गरेका छन्। मेरो कार्यक्रममा अभूतपूर्व रूपमा जनता सम्मिलित हुँदा त्यस्ता कर्मचारी वर्गलाई पर्ने कार्यभारको अन्दाज छिटो गर्न सकिँदैन, म त्यस्ताहरूको सम्बन्धमा होइन, कर्तव्यबाट विचलित हुनेहरूको सम्बन्धमा मात्र चिन्ता व्यक्त गर्दछु। 

आजको राष्ट्रिय आवश्यकता छ, त्यस्ता तìवविरुद्धको होसियारीयुक्त राष्ट्रिय एकता। केही वर्षअघि राष्ट्रिय एकताको कुरा हामीले गर्दा शत्रुवत व्यवहार गर्नेहरूको पनि अब आँखा खुल्दै गएको छ। राजनीतिक मतैक्यता ठूलो कुरा हो, परस्परका मतभेदलाई सर्वमान्य नियमको अधीनमा शान्तिपूर्ण र वैधानिक उपायले केलाउन र निर्णय लिने मतैक्यता त्यसभन्दा कम महत्वको कुरा होइन। हालको एउटा हिंसात्मक घटनाले हामीलाई सजग बनाएको मात्रै छ, निराश पारेको छैन। राष्ट्रिय राजनीतिमा सबभन्दा बढी जिम्मेवारी आज प्रजातन्त्र कायम गर्न कटिबद्ध सबै राष्ट्रिय शक्तिको भएकाले देशमा विकसित हुँदै गएको उदार राजनीतिक वातावरणको सुदृढीकरण र सुसङ्गठनका लागि म प्रजातन्त्रवादी शक्ति र पञ्चायतमा लागेका प्रजातन्त्रोन्मुखी व्यक्तिको साथै सम्पूर्ण देशवासीलाई देशमा शान्ति व्यवस्था र अनुशासन कायम राखी प्रजातन्त्रको स्थापनाका लागि जनमत सङ्ग्रहलाई सफल पार्न एक पटक पुनः अनुरोध गर्दछु।’