• ११ मंसिर २०८१, मङ्गलबार

टिम इभेन्टमा ललितपुरलाई स्वर्ण

blog

पुरुष टिम इभेन्टमा उपाधि विजेता खेलाडी । तस्बिर : राखेप

काठमाडौं, भदौ २३ गते । ललितपुर महानगरपालिका वडा ८ ले दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा बिहिबार स्वर्ण जितेको छ । प्रतियोगिताको फाइनलमा वडा ८ ले ललितपुर वडा १६ लाई ३–२ ले हरायो ।

विजयी टिमबाट रुविन महर्जन र विपुल महर्जनले प्रतिस्पर्धा गर्नुभएको थियो । बुधबार भएको महिला टिम इभेन्टमा गोदावरी नगरपालिका वडा १ पहिलो भएको थियो । काठमाडौं महानगरपालिका वडा २५ र भक्तपुर नगरापलिका वडा ५ तेश्रो भए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको महिला सिंगल्समा संखुवासभा वडा ४ की वियंका राई र ललितपुर १२ की इभाना थापा मगर फाइनलमा प्रवेश गर्नुभयो । वियंकाले गोदावरी १ की सतिश्मा थापालाई ११–३, ११–२, ११–१ तथा इभानाले गोदावरी १ कै प्रणिका कुँवरलाई ११–८, ११–६, ११–९ को सोझो सेटमा हराउनुभयो । 

पुरुष सिंगल्समा लम्जुङ १९ का विनेश खनियाँ र ललितपुर १६ का संयोग कपालीले फाइनलमा स्थान सुरक्षित गर्नुभएको छ । विनेशले काठमाडौं २५ का अमरलाल मल्ललाई १०–१२, ११–४, १०–१२, ११–८, १०–१२, ११–४, ११–९ तथा संयोगले नरहरिनाथ गाउँपालिका वडा २५ का हिमाल विष्टलाई ११–९, ११–६, ११–५, ११–८ को सेटमा पाखा लगाउनुभयो ।