• ११ मंसिर २०८१, मङ्गलबार

प्रेरणादायी व्यक्तित्व तेक्वान्दोका साधक खड्का

blog

प्रजित शाक्य

काठमाडौं, भदौ २३ गते । कमै मानिसको जीवन सङ्घर्ष विनाको हुन्छ । समस्या सबैको अगाडि आउँछ । त्यसको सामना कसरी गर्छ त्यसले फरक पार्छ । जसले समस्याबीच आफूलाई निर्खाछ, त्यो नै सफल हुन्छ ।

त्यस्ता व्यक्ति अन्यका लागि प्रेरणा पनि बन्छन् । तेक्वान्दोकर्मी अशोक खड्का यसको एक गतिलो उदाहरण हुनुहुन्छ । चोटको मारमा परेको खेलाडी जीवनपछि अशोक अहिले प्रशिक्षक, रेफ्री र प्रशासकको रुपमा घरेलु तेक्वान्दोमा सक्रिय हुनुहुन्छ । अशोकले यी विभिन्न भूमिकामा रहेर करिब दुई देशकदेखि तेक्वान्दोमा निरन्तर साधना गरी नेपाली तेक्वान्दोको प्रवर्धनमा योगदान पुर्यारहनु भएको छ । त्यसैले पनि तेक्वान्दो वृत्तमा उहाँ परिचित हुनुहुन्छ । 

चोटको मारमा परेको खेलाडी जीवन

अशोक नेपाली तेक्वान्दोमा ठूलो सम्भावना बोकेका खेलाडी हुनुहुन्थ्यो । तर पटकपटकको चोटले एक अव्वल तेक्वान्दो खेलाडीलाई आफ्नो गन्तव्य पुग्नबाट रोक्यो । एक खेलाडीका लागि सबभन्दा ठूलो डर हो चोट । एउटा गम्भीर चोटले खेलाडको पूरै खेल जीवनलाई बरबाद पार्नसक्छ । चोटले आफ्नो खेल जीवनलाई तिलाञ्जलि दिन बाध्य भएका खेलाडी पनि असङ्ख्य छन् ।

सन् २००६ मा पुरुष ५४ केजीमुनि तौल समूहको दक्षिण एसियाली खेलकुद छनोटमा अशोक अन्तिम तीनमा हुनुहुन्थ्यो । उहाँको कुमार मानन्धर र सुरेन्द्र शाहीबीच अन्तिम प्रतिस्पर्धा थियो । अशोक सो समय सागमा छनोट हुने प्रबल दावेदार हुनुहुन्थ्यो । तर सुरेन्द्रसँगको भिडन्तमा अशोक घाइते हुनुभयो ।

उहाँले आफ्नो जीवनको सबभन्दा महत्वपूर्ण खेल पूरा गर्न सक्नुभएन । वाकओभर दिन बाध्य हुनुभयो । कोलम्बो सागमा खेल्ने सपना देखेका अशोक खुट्टामा प्लास्टर गरेर घरमा थन्किनुभयो । अशोक यस घटनालाई आफ्नो खेल जीवनको सबभन्दा दुःखद क्षण मान्नुहुन्छ ।

केही महिना आराम गरेपछि अशोक पुनः खेलमा फर्कनुभयो । अर्को वर्ष अन्तर्राष्ट्रिय तेक्वान्दो खेल्न भारतको लखनउ पुग्नुभयो । तर क्वाटरफाइनलमा पुनः त्यही देब्रे खुट्टामा चोट लाग्यो । खुट्टामा प्लास्टर गरेर रातरात घर फर्किनुभयो । तर नेपाल फकेपछि उहाँलाई थाहा भयो, भारतमा उनको उपचारमा ठूलो लापरवाही भएको रहेछ । अप्रेसन गर्नुपर्ने खुट्टामा प्लास्टर मात्र गरिएको थियो । सो चोटले अशोक लामो समय अस्पतालमा थन्किए । १३ महिनामा १४ पटक शल्यक्रिया भयो । उपचारमा लाखौँ रुपियाँ खर्च भयो ।

तर अशोकको हौसला मरेको थिएन । गेरोगीमा खेल्न नसक्ने भए पनि तेक्वान्दोकै अर्को विधा पुम्से (डेमोन्स्ट्रेसन)मा मिहिनेत गर्न थाल्नुभयो । सुदूरपश्चिममा भएको छैटौँ राष्ट्रिय खेलकुदमा पुम्सेमा स्वर्ण पदक नै जितेर आफ्नो पुनरागमन सफल बनाउनुभयो । त्यसपछि उहाँले दक्षिण कोरियामा पनि स्वर्ण पदक जित्नुभयो ।

सफल प्रशिक्षक

यद्यपि अशोकलाई थाहा भइसकेको थियो अब आफ्नो खेलाडी जीवन राम्ररी अगाडि बढ्द सक्दैन भनेर । त्यसपछि उहाँ तेक्वान्दो खेलाडी उत्पादनतर्फ दत्तचित्त भएर लाग्नुभयो । उहाँ भन्नुहुन्छ–‘‘मेरो सपना थियो ओलम्पिकमा खेल्ने । तर दुर्घटनामा परेपछि खेलाडी जीवन धेरै अघि बढ्न सकेन, त्यसपछि मैले त्यो सपना आफ्नो   खेलाडीबाट पूरा गर्ने अठोट नै लिएको छु । आफ्ना खेलाडीहरुको सपना पूरा गर्न लागिरहेको छु ।’’


मुलपानी तेक्वान्दो डोजाङमा मुख्य प्रशिक्षण गराएका अशोकले अहिलेसम्म ४५० भन्दा बढी ब्ल्याकबेल्ट खेलाडी उत्पादन गरिसक्नुभको छ भने पाँच हजार बढीलाई तेक्वान्दो सिकाइसक्नुभएको छ । अशोकका चेलाहरुले अहिले अन्तर्राष्ट्रिय तेक्वान्दो खेलेर नेपालको नाम विश्वमा फैलाइरहेका छन् । अशोकले स्थापना गरेको नेप्लिज तेक्वान्दो एकेडेमी घरेलु तेक्वान्दोमा प्रतिष्ठित नाम हो । मुलपानी डोजाङको ड्रिम प्रोजेक्ट थियो नेप्लिज तेक्वान्दो एकडेमी । जसको अहिले करोडभन्दा बढी मूल्य बराबरको आफ्नै भवन छ ।

अब्बल निर्णायक

तेक्वान्दो निर्णायकमा पनि उहाँको योगदान उत्तिकै छ । चार वर्षअघि भाग लिएको रेफ्री सेमिनार उहाँको तेक्वान्दो जीवनको अर्को मोड बन्यो । विश्व तेक्वान्दो महासङ्घले मान्यता दिएको सो सेमिनारमा सर्वश्रेष्ठ बनेपछि उहाँ अन्तर्राष्ट्रिय प्रतियागितामा रेफ्री बन्न योग्य बन्नुभयो । त्यसपछि छोटो अवधिमा नै उहाँले विश्वका विभिन्न स्थानमा भएका ३५ भन्दा बडी अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक बनिसक्नुभएको छ ।

अशोक हालै बुल्गेरियामा भएको विश्व तेक्वान्दो च्याम्पियनसिमा सर्वश्रेष्ठ निर्णायक चुनिनुभयो । यसैगरी बेल्जियम ओपन, स्विडिस ओपन, अस्ट्रेलियन ओपन जस्ता वल्र्ड र्याकिङ प्रतियोगितामा पनि सर्वश्रेष्ठ निर्णायक घोषित हुनुभएको थियो । उहाँ पारा रेफ्री कोर्ष गर्ने कम नेपाली तेक्वान्दोकर्मी मध्ये एक पनि हुनुहुन्छ । त्यसपछि त गतवर्ष युवा तथा खेलकुद मन्त्रालयले एक लाख पुरस्कारसहित ‘उत्कृष्ट रेफ्री’का रूपमा पनि अशोकलाई सम्मान गरेको थियो ।

समाज सेवामा निरन्तर

सामाजिक सेवामा पनि अशोकको सक्रियता उल्लेखनीय छ । रक्षा नेपालसँगको सहकार्यमा अशोकले यौनजन्य हिंसामा परेका महिलाहरूलाई निशुल्क तेक्वान्दो प्रशिक्षण दिनुभएको छ । सोही प्रशिक्षण्बाट प्रशिक्षित पूजा बोहराले दक्षिण कोरियामा खेलेर स्वर्ण पदक पनि जित्नुभयो । चेपाङ बालबालिका, जेल परेका अभिभावका छोराछोरी, विभिन्न समस्या परेका बालकालिकालाई पनि उहाँले तेक्वान्दो सिकाउनुभएको छ ।

२०७२ सालको भूकम्पमा त कागेश्वरी क्षेत्रमा अशोकको नाम सबैका मुखमा थियो । सो भूकम्प समयमा विभिन्न सहयोगी हातको साथ लिएर अशोकले कागेश्वरी मनोहरा, शङ्करापुर, भक्तपुरको सूर्यविनायक र काभ्रेको पाँचखाल नगरपालिकामा भूकम्पको मारमा परेकाहरुका लागि १४ वटा टहरा निर्माण गर्नुभयो ।

कोरोनाकालमा पनि उहाँको सक्रियता लोभलाग्दो थियो । उहाँले चार हजार बढीलाई राहत उपलब्ध गराउनुभो । यसबाहेक अशोक मृर्गौला पीडित, अनाथ, अपाङ्गका लागि सहयोगमा पनि सधैं अघि सरेको पाइन्छ ।


अशोक सधैं भन्नुहुन्छ–‘‘समाजसेवा मेरो जीवनको लक्ष्य हो । म अरुको खुशीमा रमाउने मान्छे हुँ । कठिन परिस्थितिमा कसैको सहयोगले जीवन बदलिन सक्छ भन्ने मैले आफैले १४ पटकको शल्यक्रिया गर्दा महसुस गरेको छु । त्यसैले पेब्याक गर्नुपर्छ । सेवाजस्तो आत्मसन्तुष्टि मैले अन्य कुरामा पाएको छैन ।’’