काठमाडौं, भदौ २३ गते । नेपाल भलिबल सङ्घको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित हुनुभएको छ । सङ्घको बुधबार राति सम्पन्न नवौं चुनावी साधारणभाबाट चन्द अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँले अध्यक्ष पदकी प्रत्याशी निरोज मास्केलाई २६ मतले पराजित गर्नुभयो ।
निर्वाचनमा खसेको कुल एक सय २८ मतमध्ये चन्दले ७६ र पराजित मास्केले ५० मत ल्याउनुभयो । चन्द यसअघिको कार्यकालमा महासचिव र मास्के उपाध्यक्ष हुनुहुन्थ्यो ।
यसैगरी महासचिव पदमा पनि चन्दकै प्यानलबाट रोशन श्रेष्ठ निर्वाचित हुनुभयो । श्रेष्ठले ८५ र पराजित मनवीर छन्त्यालले ३९ मत प्राप्त गर्नुभयो कोषाध्यक्षमा चन्द प्यानलकै श्याम श्रेष्ठ निर्वाचित हुनुभयो । उहाँले रीता कोइरालालाई पहराउनुभयो । श्रेष्ठले ७८ र कोइरालाले ४६ मत पाउनुभयो ।
उपाध्यक्ष पदका लागि बागमती प्रदेशबाट गौतम लासिभा निर्वाचित हुनुभयो । लासिभाले ६४ मत र पराजित ज्योति केसीले ५९ मत पाउनुभयो । सचिवमा प्रदेश १ बाट विनोद श्रेष्ठले ६४ मतसहित विजयी हुनुभयो । पराजित विश्वराज धिमालले ४४ मत पाउनुभयो ।
लुम्बिनी प्रदेशबाट सचिवमा झकबहादुर मिदेन विजयी हुनुभयो । मिदेनले ७३ र पराजित दीपक जीएमले ३७ मत पाउनुभयो । मतदानअघि नै ६ उपाध्यक्ष निर्विरोध निर्वाचित भएका थिए । जसमा गण्डकीबाट याम गुरुङ, मधेशबाट उपेन्द्र यादव, सुदूरपश्चिमबाट हर्कसिंह धामी, प्रदेश एकबाट मदन खड्का र लुम्बिनी प्रदेशबाट भीम ओली निर्वाचित हुनुभयो ।
संघको विधान अनुसार कर्णालीमा उम्मेदवार नभएकोले उपाध्यक्ष पद खाली राखिएको छ । यस्तै सचिवमा कर्णालीबाट सोमबहादुर श्रेष्ठ, मधेशबाट महम्मद फिरोज, गण्डकीबाट श्रीधर शर्मा, सुदूरपश्चिमबाट गणेशसिंह ठगुन्ना र बागमतीबाट सुनकेशरी माली निर्विरोध निर्वाचित हुनुभयो ।
सदस्यहरुमा अन्जु श्रेष्ठ, चन्द्रबदना राई, गंगा थापा श्रेष्ठ, जुनु पुन, प्रवीण श्रेष्ठ, कुमार राई, राजकुमार गुरुङ, राजबहादुर खड्का, जितेन्द्र श्रेष्ठ, दीपक लामा र दिनेश श्रेष्ठ निर्वाचित हुनुभयो । सदस्यमा ११ पदका लागि २२ जनाको उम्मेदवारी परेको थियो ।
सङ्घको चारवर्षे कार्यकालका लागि एक अध्यक्षसहित सात उपाध्यक्ष, एक महासचिव, सात सचिव, कोषाध्यक्ष र ११ कार्यसमिति सदस्यका लागि निर्वाचन भएको थियो । सङ्घमा थप दुई उपाध्यक्ष र १० जना सदस्य मनोनयनबाट आउनेछन् ।