काठमाडौँ, जेठ २ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीमा बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीको विशेष ख्याल गर्न आग्रह गरेको छ । देशभर गर्मी बढ्दै गएपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
गर्मीमा बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगी बढी प्रभावित हुने हुँदा मन्त्रालयले सो समूहलाई विशेष ख्याल गर्ने आग्रह गरेको हो ।
गर्मीमा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या भएमा, रक्तचाप कम भएमा, शरीरबाट पसिना ननिस्कने, टाउको दुख्ने, चक्कर लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिए बिरामीलाई तुरून्तै अस्पताल लैजान मन्त्रालयको अनुरोध छ ।
मन्त्रालयले गर्मीमा तातो हावा ‘लू’ बाट जोगिन अनावश्यक रूपमा घरबाट ननिस्कन र यदि निस्कनै परेमा छाता ओड्ने वा पातलो कपडाले टाउको छोप्न अनुरोध गरेको छ ।
हल्का खालको शीतल हुने कपडा लगाउने, धेरै पानी पिउने, खेतबारी वा घर बाहिर काम गर्दा बिहान वा बेलुका गर्ने मन्त्रालयले अनुरोध गरेको छ । साथै गर्मीबाट बच्न कागती पानी, नरिवल पानी तथा फलफूलको रस पिउन, फलफूल, काक्रोलगायत घरमै बनाएको ताजा खानेकुरा खान, चिसो पानीले नुहाउन अनुरोध गरेको छ ।
त्यसैगरी, भान्सामा धेरै समय नबस्न र यदि बस्नै परेमा प्रशस्त पानी पिउन मन्त्रालयको सुझाव छ । क्याफिनले घेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउन र धुर्मपान तथा मदिरा सेवन नगर्न मन्त्रालयले अनुरोध गरेको छ ।