• ६ कात्तिक २०८१, मङ्गलबार

निवार्चन आएपछि हारिएला भन्ने डर हुन्छ : महामन्त्री थापा

blog

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा । फाइल तस्बिर

काठमाडौं, भदौ १८ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आएपछि हारिएलाकी भन्ने डर आफूलाई सधैँ हुने गरेको बताउनुभएको छ ।

चुनावमा जित/हार दुबै हुने भए पनि आफूलाई हारिएलाकी भन्ने डरले बढी सताउने गरेको अनुभूति महामन्त्री थापाले सुनाउनुभयो ।

काठमाडौंको बुढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यामिक विद्यालयले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै थापाले विद्यार्थीहरुलाई पनि परीक्षामा फेल भइएलाकी भन्ने डर लाग्ने अवस्था आउन नदिन उनीहरुलाई फेल पनि भइन्छ भन्ने कुरा सिकाउन आवश्यक रहेको बताउनुभयो ।

पूर्वमन्त्रीसमेत रहनुभएका महामन्त्री थापाले सफलता र असफलता दुबै कुरा जिन्दगीमा हुने कुरालाई बोध गराउँदै विद्यार्थीहरुको पठनपाठनलाई अघि बढाउन विद्यालयलाई आग्रह गर्नुभयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘‘एउटा चुनाव जित्यो । त्यसपछि खुशी भयो । त्यसपछि अर्को चुनाव के होला भन्ने डर लाग्ने । मलाई यस्तो हुन्छ । उपसचिव हुने साथीलाई सहसचिवमा नाम ननिक्लेला भन्ने डर हुन्छ । जिन्दगी नै यसरी नै जाने हो । तर बालबालिकाहरुलाई जित र हार हुन्छ । सफल र असफल होइन्छ भनेर सिकाउनु पर्दछ । आफ्नो कर्म गर्ने हो । तर सधैँ भनेजस्तो फल नआउन पनि सक्छ । तर कर्म भने गर्दै जानुपर्छ ।’’

महामन्त्री थापाले जिन्दगीमा सधैँ सफलता मात्रै हात नपर्ने कुरा पनि विद्यार्थीहरुलाई सिकाउन हरेक विद्यालयले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सो विद्यालयको शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउने गरी शिक्षक तालिम, कक्षा कोठामा नै पुस्तकालयको विकास गर्ने गरी काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्ने सम्झौता समेत गरिएको थियो ।