वैदिक सनातन धर्मावलम्बीहरू प्रकृतिको पूजा गर्छन् । प्रकृतिका उपजहरूमा भगवान्का स्वरूप देख्छन् । गौरा पर्वमा पनि प्रकृतिका उपजहरूको पूजा गरिन्छ । गौरा सुदूरपश्चिम क्षेत्रको महìवपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो ।गौरा पर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गरिन्छ । बिरुडा भिजाएको तेस्रो दिन महिलाहरूले सामूहिक रूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा बनाइ गौराघरमा भिœयाउँछन् । धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजाआजा गरिन्छ । अमुक्ताभरण सप्तमीमा भित्र्याएकी गौरा दुर्वाष्टमीमा सप्तऋषिको प्रतीक दुबधागो अभिषेक गरी गौरालाई चढाइन्छ । पुरुषले जनैधारण गरेजस्तै महिलाले यो दुबधागो लगाउँछन् । गौरा भिœयाइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा नित्य पूजा गरिन्छ । बिरुडा प्रसादको रूपमा बाँडिन्छ । पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोकभाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् । शुक्र उदयपछिको पूजालाई अशुभ मानिने भएकाले कुनै वर्ष कृष्ण पक्षमा पनि गौरा पूजा गरिन्छ । शुक्र उदयको गणनाबाट उजेली गौरा र अनेरी गौरा मनाइन्छ । गौरापर्वले मानिसमा धार्मिक आस्था, आपसी सद्भाव बढाउन मद्दत गर्ने मात्र नभई व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, इष्टदेवता र कुलदेवता प्रसन्न हुने विश्वास छ ।
बिरुडाको रूपमा रहेको पाँच अन्नलाई पञ्चदेवताका प्रतीकका रूपमा लिइन्छ । बिरुडालाई पौष्टिक तìवका रूपमा र औषधीय रूपमा पनि प्रयोग गरिन्छ । बर्खाको खेतीपातीबाट विश्राम गर्ने र मनोरञ्जनका रूपमा पनि यस पर्वलाई लिइन्छ । भगवान् शिव र माता पार्वतीको विवाहोत्सवको रूपमा पनि यो पर्व रहेको छ । गौरा पर्वमा अमुक्ताभरण सप्तमीलाई मुख्य आधार बनाइन्छ । अगस्त्य उदयभन्दा अघि असोज महिना पनि नपर्ने गरी यो पर्व तय भएको हुन्छ । अगत्स्य उदयलाई आधार मान्दा अमुक्ताभरण सप्तमी कुनै वर्ष कृष्ण पक्ष र कुनै वर्ष शुक्ल पक्षमा पर्न जान्छ । कृष्ण पक्षको गौरालाई अनेरी र शुक्ल पक्षको गौरालाई उजेली गौरा भन्ने गरिन्छ । भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उजेली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अनेरी भन्ने गरिन्छ । पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमी अर्थात् उजेली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ । कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज महिना लागेपछि गौरा मनाउनु हुँदैन ।
विवाहित महिलाले गौरामा अभिषेक गरिएको र गौराको प्रतिमामा बाँधेर शुद्ध परिएको दुबधागो लगाउने प्रचलन पनि रहिआएको छ । सप्तऋषिको प्रतीकका रूपमा सात डोरो भएको दुबधागो पुरुषहरूले जनै धारण गरेजस्तै महिलाले लगाउने गर्छन् । सामान्यतया सात रङका धागोको प्रयोग गरी विधिपूर्वक गाँठो पारिएको दुबधागो घाँटीमा बाँधिन्छ । सात वटा रङ नभएको दुबधागो पनि धारण गर्ने चलन छ । दुबधागो पहिलो पटक उजेली गौरा तथा शुक्ल पक्षमा लगाउने गरिन्छ । पहिलो पटक दुबधागो लगाउने महिलालाई नौली गोरिया भन्ने पनि गरिन्छ । एक पटक लगाइसकेपछि प्रत्येक वर्ष लगाउनु पर्ने चलन रहेको छ ।
सात रङको धागो अथवा दुबधागो विवाहित महिलाले मात्रै लगाउनुको कारण विवाहित र अविवाहित महिलालाई छुट्याउनका लागि हुनसक्ने देखिन्छ । धार्मिक आस्थाअनुसार विवाहित महिलाले शौैभाग्यवतीको प्रतीकको रूपमा यो धागो लगाउँछन् । यसको विभिन्न रङलाई विभिन्न देवताको प्रतीकको रूपमा अथ्र्याइएको छ । यो धागोले विवाहित भएको र घरपरिवारका लागि स्वीकार्य भएको जनाउँछ । दुबधागो लगाएपछि शुद्ध हुने र उसले पकाएको खाना खान हुने भएकाले ऊ अरू परिवारका सदस्यजस्तै जिम्मेवार तथा परिपक्व भएको मानिन्छ । महिलाले आफन्तको घरघरमा गई बिरुडाका लागि पाँच अन्न माग्ने वा साटासाट गर्ने चलन पनि छ । यी पाँच अन्नमा गहुँ, मास, केराउ, गुरौस, गहत पर्छन् । पाँच अन्न सङ्कलन गरी सफा पारी, निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गरिन्छ । पाँच अन्नलाई पञ्चबिरुडा भन्ने गरिन्छ । भाद्र पञ्चमीलाई बिरुडा पञ्चमी पनि भनिन्छ । पञ्चमीमा भिजाएको बिरुडा षष्टीका दिन नजिकको धारो, पँधेरोमा धुने गरिन्छ । त्यहीँ गौराको आह्वान गरिन्छ । बिरुडालाई नै मुख्य पुजन सामग्री मानिन्छ । गौरा, महेश्वरलाई बिरुडाको भोग लगाइन्छ । नैवेद्यका रूपमा पनि बिरुडा चढाइन्छ । आशीर्वाद दिन बिरुडा शिरमा राखेर दिने गरिन्छ । देवताका धामी कामेर बिरुडाको टीका अक्षता लगाउने गरिन्छ ।
यसैगरी गौरा पूजामा दुबोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । दुबो जसरी फैलिन्छ त्यसरी नै सन्तान दरसन्तान फैलिऊन् भन्ने कामनाले यो पर्वमा उमामहेश्वरको पूजा, उपासना र व्रत बस्ने धार्मिक नियम छ । सन्तान राम्रा र गुण सम्पन्न हुन्, आयु तथा स्वास्थ्य राम्रो होस् भन्ने कामनाले पनि गौरा एवं दुर्वाष्टमी पर्व मनाइन्छ । अष्टमीका दिनमा पूरै ज्येष्ठा र मूल नक्षत्र परेमा भने दुबोको पूजा गर्न नहुने शास्त्रीय मान्यता रहेको छ ।
गौरा कहिले, कुन समयमा हुन्छ भनी निर्धारण अमुक्ताभरण सप्तमीले गर्छ । भदौमा अगस्त्य उदय पूर्वको कुनै वर्ष शुक्ल पक्ष र कुनै वर्ष कृष्ण पक्षमा पर्न जाने सप्तमीमा नै गौराको पूजा गर्ने परम्परा रहेको छ । कृष्ण पक्षमा अमुक्ताभरण सप्तमी परे अनेरी गौरा र शुक्लपक्षमा परे उजेली गौरा पर्दछ । गौरी र भगवान् शिवजीका विभिन्न कथा प्रसङ्ग पनि यहाँ रहेका छन् । जस्तै शिवपार्वती विवाह प्रसङ्गसँगै सन्जा विवाहको प्रसङ्ग पनि जोडिएको छ । यो समयमा लौकिक कथालाई जनमानसमा पु¥याइन्छ ।
गौरा पर्वको हरेक क्रियाकलापमा फाग, सगुन, मङ्गलको प्रयोग गरिन्छ । लोकमन्त्रका रूपमा फागको प्रयोग हुन्छ । ‘सगुन दे सरस्वती लगन दे बिरस्पती’ भनेर फाग सुरु गरिन्छ । धनारी चैतमा वीरगाथाको वर्णन गरिएको हुन्छ । अठ्यावालीका दिन व्रतालु महिलाहरूले गौराको पूजा गरिसकेपछि पुरुषहरूले विभिन्न प्रकारका ठाडोखेल, ढुस्को, धमारी खेल्ने गर्दछन् । यी खेलहरूमा इतिहास समेटिएको पाइन्छ । ठाउँअनुसार ठाडोखेल, ढुस्को, धमारी फरक फरक हुने गरेका छन् । कतिपय ठाउँमा देवीदेवताको गाथामा आधारित खेलहरू खेल्छन् भने कतिपय ठाउँमा वीरपुरुषहरूको इतिहासका बारेमा खेल खेल्ने गरिएको पाइन्छ । विभिन्न गीत प्रस्तुत गर्दा गौरीमहेश्वरलाई नचाएर आफूहरू पनि नाच्ने गर्छन् । त्यस्तै धमारी, चैत, ढुस्कोसँगै देउडा पनि खेल्ने गर्दछन् । धमारी, चैत, देउडा खेलसँगै गौरा विसर्जन लैजानु पूर्व शिव गण, दानव, पिचासका धामीले गौरा महेश्वरलाई त्यो अनुष्ठानबाट बिदाइ गर्ने प्रचलन छ । बिदाइका लागि तत्काल ल्याइएको शुद्ध जल घडाले स्नान गराइ बिदाइ गरिन्छ । गौराको बिदाइसँगै उपस्थित सबैलाई आशीर्वाद दिइन्छ । विभिन्न परिस्थितिले मोक्ष पाउन नसकेका पितृहरू दिव्य स्वरूप पाएर शिव गणका रूपमा देवमय स्वरूपमा धामीमा प्रकट हुन्छन् । आशिष, वरदान दिने गर्दछन् । नजिकैको नदी, तलाउ, देवमन्दिरमा गौरा विसर्जन गरी सबै उपस्थित खेलप्रेमी आशिष खेल खेल्छन् । सबै देवीदेवताले रक्षा गरी रहुन्, सबैतिर सुख, शान्ति, समृद्धि छाइरहोस भन्ने आशयको खेल खेल्दै गौरा पर्वको समापन गरिन्छ ।
देशविदेशमा काम विशेषले रहेका पनि गौरा पर्व मान्न तथा गौरा महेश्वरको पूजा गर्न आफ्नो थातथलोमा पुग्छन् । गौरा पर्व सुदूरपश्चिमका साथै मध्यपश्चिमको कर्णालीमा पनि मनाइन्छ । भारतको उत्तराखण्डमा पनि गौरा पर्वलाई विशेष रूपमा मनाइन्छ । ‘सातवी’, ‘आठमी’ भनेर अमुक्ताभरण सप्तमी र दुर्वाष्टमीमा निराहार व्रत बसी गौरा महेश्वरको पूजा गर्ने गर्दछन् । सांस्कृतिक वैभवको गौरा पर्व निकै मौलिक पनि छ । संस्कृति एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण भएर जान्छ भन्ने मान्यता अनुरूप गौरा पर्व आदर्श हस्तान्तरित संस्कृति हो । यससँग जोडिएका फाग, चैत, धमारी, ठाडो खेल, ढुस्को, भलाउलो, बाह्रमासे लोप हँुदैछन् जसको संरक्षणका लागि पनि सम्बद्ध पक्षको ध्यान जानु जरुरी छ ।