• ११ पुस २०८१, बिहिबार

मानार्थ सेनापतिको विशिष्ट परम्परा

blog

राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाजस्तो गहन र महत्वपूर्ण जिम्मेवारी सम्हालेका हरेका राष्ट्रका सैनिक दोस्रो मुलुकबाट हुनसक्ने सम्भावित आक्रमण र खतराबारे सधैँ चनाखो अवस्थामा रहने गर्छन्। सिमाना विवाददेखि मातृभूमिको सुरक्षाका सवालमा सम्झौता नगर्ने सेनाको चरित्रका कारण छिमेकी मुलुकका सेनाबीच हुने गरेका विवाद, भिडन्त र द्वन्द्वका कारण ठूलो जनधनको क्षति हुने गरेको छ। 

रुस–युक्रेनको जारी युद्धले विश्वजगत् नै प्रभावित छ। दुई देशको द्वन्द्वका कारण विश्वजगत् सधैँ युद्धको त्रासमा छ। यसले संसारभरको अर्थतन्त्रलाई समेत असर पु-याएको छ। सिमाना जोडिएका राष्ट्र दक्षिण कोरिया–उत्तर कोरिया, इजरायल–प्यालेस्टाइन, इरान–सिरिया, भारत–पाकिस्तान, भारत–चीनका सेनाबीच बेलाबेला हुने द्वन्द्वले अन्तर्राष्ट्रिय समुदायले सधैँ असुरक्षित महसुस गरिरहेको हुन्छ। 

यसको अपवादका रूपमा छ नेपाली र भारतीय सेनाबीचको सम्बन्ध। शान्तिपूर्ण, सहअस्तित्व र सम्मान भावका साथ नेपाली सेनाको प्रधानसेनापति भारतीय सेनाको मानार्थ सेनापति तथा भारतीय सेना प्रमुख नेपाली सेनाको मानार्थ सेनापति हुने विशिष्ट प्रकारको ऐतिहासिक सम्बन्ध छ। सात दशक पहिलेदेखि चल्दै आएको यो परम्परा विश्वजगत्लाई शान्तिको सन्देश दिने आफैँमा पर्याप्त उदाहरण हो। यो विशिष्ट परम्पराको महत्व बुझ्न छिमेकी देशका सेनाबीच द्वन्द्वमा पिल्सिएका नागरिकलाई हेरे पुग्छ। भूगोल र सैनिक सङ्ख्यामा आकाश जमिनको अन्तर रहेका दुई मुलुकका सेनाबीचको मित्रवत् सम्बन्धलाई अनर्थ लगाउनु कुनै मुलुकको हितमा पनि हुँदैन।  

सात दशकदेखिको सम्बन्ध

नेपाल र भारतका सेनामा एकअर्का मुलुकका सेना प्रमुखलाई मानार्थ प्रधानसेनापति मान्ने विशिष्ट र ऐतिहासिक परम्परा वि.सं. २००७ देखि नै सुरु भयो। ०७ सालमा तत्कालीन भारतका सेनाका फिल्ड मार्सल (स्थल सेना प्रमुख) के कोडन्देरा मदप्पा करिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ प्रधानसेनापति वा महारथीको दज्र्यानी चिह्न प्रदान गरी सम्मान गरिएको थियो। 

वि.सं २०२६ मा नेपाली सेनाका तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई भारतीय सेनाको तर्फबाट पहिलो पटक मानार्थ स्थल सेनाध्यक्षको दज्र्यानी चिह्न तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो। यही ऐतिहासिक तथा विशिष्ट परम्परालाई निरन्तरता दिँदै आगामी हप्ता भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दज्र्यानी चिह्नबाट सम्मान गर्ने तयारी छ। प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष पाण्डे भोलि (भदौ १९) नेपाल आउने कार्यक्रम छ। नेपाली सेनाको परमाधिपतिसमेत रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष समारोहबीच जनरल पाण्डेलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दज्र्यानी चिह्न प्रदान गर्नु हुनेछ। 

प्रधान सेनापति शर्मालाई गत वर्ष भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाध्यक्षको दज्र्यानी चिह्नसहित सम्मान गर्नुभएको थियो। नयाँ सेनापति नियुक्त भएपछि दुवै मुलुकका राष्ट्रपतिले नवनियुक्त छिमेकी मुलुकका सेनापतिलाई आफ्नै देशको सेना प्रमुखसरहको मानार्थ प्रधानसेनापतिको दज्र्यानी चिह्न प्रदान गर्ने विशेष प्रचलन छ। 

नेपाल र भारतका सेनाले यो विशिष्ट सम्बन्धलाई केवल औपचारिकतामा मात्र सीमित राखेका छैनन्। एकअर्का मुलुकमा आइपर्ने सङ्कटमा आपसी सहयोगदेखि अनुभव आदानप्रदानलाई समेत उच्च प्राथमिकतामा राखेका छन्। विभिन्न सङ्कटमा दुवै देशका सेनाले एकअर्काका सारथि बनेर विशिष्ट परम्पराको महत्वलाई आत्मसात् गरेका छन्। वि.सं. २०७२ को विनाशकारी भूकम्प तथा १२ वर्षे सशस्त्र द्वन्द्वका बेला भारतीय सेनाले नेपाली नागरिक र नेपाली सेनालाई पु-याएको योगदान अतुलनीय छन्। नेपालमा संविधान जारी भएपछि भारतीय पक्षले सुरु गरेको अघोषित नाकाबन्दी खुलाउन नेपाली सेना र भारतीय सेनाले गरेको प्रयास ऐतिहासिक छ।

भारतको सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रिय सुरक्षामा तैनाथ गोर्खा बटालियनले गर्दै आएको बलिदान अतुलनीय छ। यसको महत्व दुवै देशले आत्मसात् गरेका छन्। यसप्रकार योगदान र आपसी रहयोग आदानप्रदानबाट दुई देशका सैनिक र नागरिक–सैनिकबीच सम्बन्धसमेत थप प्रगाढ बन्दै गएको छ। दुई देशबीचका सेनाबीच क्षमता अभिवृद्धि गर्न भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई हवाई तथा सवारी साधनदेखि विविध सैनिक सामग्री सहयोगस्वरूप दिइँदै आएको छ। नेपाली सेनासँग रहेको विशिष्ट प्रकारको उच्च हिमाली क्षेत्रमा गरिने सैनिक अपरेसन भारतीय सेनालाई तालिम दिँदै आएको छ। 

क्षमता अभिवृद्धिमा सँगसँगै  

नेपाली सेना र भारतीय सेनाबीच अनुभव तथा सैन्य सीप आदानप्रदान गरी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न प्रकारका सैन्य अभ्यास, तालिम तथा सेमिनार हुँदै आएका छन्। विसं २०४५ जेठदेखि २०४८ वैशाखसम्म भारतमा सञ्चालन भएको इन्जिनियर अफिर डिग्री इन्जिनियरिङ (ईओडीई) मा नेपाली सेनाको ब्याच नम्बर–१२२७ बाट सह–सेनानी शेखर सिंह बस्न्यात सहभागी तालिम आदानप्रदानको क्रम सुरु भयो। 

वि.सं. २०४७ देखि हालसम्म भारतमा सञ्चालन भएका विभिन्न तालिममा नेपाली सेनाका रथी तथा अधिकृतसहित दुई हजार ४२७ जना सैनिक अधिकारी तथा एक हजार ३७८ जना अन्य दर्जाका नेपाली सैनिक सहभागी भएका छन्। भारतीय सेनाद्वारा सञ्चालित राष्ट्रिय प्रतिरक्षा कलेज (एनडीए) सैन्य सुरक्षाको दृष्टिले विश्वको उत्कृष्ट प्रतिरक्षा कलेजअन्तर्गत पर्छ। विश्वभरका सैनिकको अध्ययनको रोजाइमा पर्ने उक्त कलेजमा सञ्चालित एनडीए कोर्षमा भारतीय सेनाले नेपाली सेनाका अधिकारीलाई उच्च प्राथमिकतामा राखेर सहभागी गराउँदै आएको छ।

वि.सं २०४९ देखि हालसम्म एनडीए कोर्षमा ३३ जना नेपाली सेनाका रथी तथा अधिकृत सहभागी भइसकेका छन्। हाल चारजना सैनिक अधिकृत सो कलेजमा तालिमरत छन्। भारतीय सेनाले सञ्चालन गर्ने अर्को महत्वपूर्ण तालिम हो ‘डिफेन्स सर्भिस स्टाफ कलेज कोर्ष’ (डिएसएससी) यसमा समेत नेपाली सेनालाई विशेष रूपमा सहभागी गराइँदै आएको छ।

वि.सं २०४६ सञ्चालन हुँदै आएको डिएसएससी कोर्षमा हालसम्म नेपाली सेनाका ५२ जना सैनिक अधिकृतले तालिम पूरा गरेका छन् भने दुईजना नेपाली सैनिक अधिकृत अहिले अध्ययनरत छन्। भारतीय स्थल सेनाअन्तर्गतको ‘इन्डियन मिलिटरी एकेडेमी’ (आईएमए) अर्को महत्वपूर्ण तालिम मानिन्छ। दुस्मनविरुद्ध जमिनबाट हुने अपरेसनसम्बन्धी विशेष तालिम सञ्चालन हुने उक्त एकेडेमीबाट हालसम्म ४९ जना नेपाली सैनिक अधिकृत र अधिकृत क्याडेटले तालिम पूरा गरेका छन्। सोही कलेजमा हाल चारजना सैनिक तालिमरत छन्। 

चिकित्सा शिक्षामार्फत नेपाली सेनालाई भारतीय सेनाले पु-याएको योगदान अर्को महìवपूर्ण पक्ष हो। भारतीय सेनाद्वारा सञ्चालिन ‘नेट युजी’ (एमबीबीएस) विषयमा हालसम्म ३८ जना नेपाली सेनाका मेडिकल क्याडेटहरूले अध्ययन पूरा गरिसकेका छन्। हाल १४ जना नेपाली सेनाका मेडिकल क्याडेट अध्ययनरत रहेका छन्। यो क्रम दुईतर्फी नै चल्दै आएको छ। नेपाली सेनाले भारतीय सेनालाई आफूसँग भएको विशेष अनुभव एकापसमा आदनप्रदान गरी भारतीय सेनाको क्षमता अभिवृद्धिमा समेत महत्वपूर्ण योदान पु-याउँदै आएको छ। 

नेपाली सेनासँग रहेको विशेष अनुभव ‘हाई अल्टिच्युट तथा माउन्टेन वार फेयर’ भारतीय सेनालाई प्रदान गरिँदै आएको छ। वि.सं २०४९ देखि हालसम्म नेपाली सेनाका शिक्षण संस्था तथा तालिम केन्द्रहरूबाट सञ्चालित तालिममा हालसम्म ६० जना भारतीय सैनिकले विशेष तालिम लिएका छन्। दुई भारतीय सैनिक हाई अल्टिच्युट तथा माउन्टेन वार फेयर तथा एकजनालाई कमाण्ड तथा स्टाफ तालिमरत रहेका छन्।  

संयुक्त सैन्य अभ्यास ‘एक्स सूर्य किरण’ 

दुई देशका सेनाबीच निरन्तर सैन्य अभ्यास भइरहेका छन्। नेपाल र भारतका सेना मात्र सहभागी हुने इन्डो–नेपाल संयुक्त तालिम (एक्स–सूर्य किरण) निरन्तर चल्दै आएको छ। सन् २०११ बाट संयुक्त रूपमा सञ्चालन भएको ‘एक्स–सूर्य किरण’ सैन्य अभ्यासको आफ्नै मौलिकता र महत्व छ। यो सैन्य अभ्यासका १५औँ संस्करण सफलतापूर्वक सम्पन्न भएको छ।

संयुक्त सैन्य अभ्यासका १५औँ संस्करणमा नेपाली सेनाका तीन हजार ५४७ जना तथा भारतीय सेनाका तीन हजार ७५४ जना गरी जम्मा सात हजार ३०१ जना सैनिक सहभागी भइसकेका छन्। १६औँ संस्करण आगामी कात्तिक १६–२९ गतेसम्म नेपाली सेनाको ब्याटल स्कुलमा आयोजना हुँदैछ। उक्त सैन्य अभ्यासमा नेपाली सेनाका ३३४ जना र भारतीय सेनाका ३३४ जना गरी जम्मा ६६८ जना सैनिकको सहभागिता रहनेछ। वि.सं. २०४६ देखि हालम्म दुई देशबीच विभिन्न प्रकारका ३५ वटा संयुक्त तालिममार्फत दुई देशका सेनाको क्षमता विस्तार तथा अनुभव आदानप्रदानमा महत्वपूर्ण योगदान पुगेको छ। नेपाल र भारतका सेनाबीच यस प्रकारको सहयोग आदानप्रदानबाट क्षमता विस्तारमा महत्वपूर्ण योगदान पुगेको छ। एकअर्का देशका सेनापतिलाई सम्मानस्वरूप मानार्थ प्रदान सेनापतिको दज्र्यानी चिह्न प्रदान गर्नुको औचित्यसमेत पुष्टि भएको छ। 

मानार्थ प्रधान सेनापति मान्ने दुवै देशको विशिष्ट परम्परालाई निरन्तरता दिँदै यसको महìवलाई उजागर गर्न सके विश्व शान्तिका लागि मौलिक सन्देश प्रवाह गर्न सकिनेछ।