• ९ मंसिर २०८१, आइतबार

असोज १ देखि सुपथ मूल्य पसल सञ्चालन हुने

blog

काठमाडौँ, भदौ १८ गते । चाडपर्वलाई लक्षित गरेर सुपथ पसल आगामी असोज १ गतेदेखि सञ्चालन हुने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पाेरेसन र दुग्ध विकास संस्थान (डीडीसी)ले संयुक्त रूपमा चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि असोज १ गतेदेखि  कात्तिक १५ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । 

उपत्यकासँगै बाहिरी जिल्लामा पनि सुपथ मूल्य पसल सञ्चालन गरिने बताइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गरिएको जानकारी दिनुभयो । सुपथ मूल्य पसलमा उपभोक्ताले छुट पाउने उहाँले जानकारी दिनुभयो । 

चाडपर्वमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको खपत बढी हुने हुँदा उपभोक्तालाई राहत दिन सहुलियत पसल सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार चामल, दाल, आटा, पिठो, मैदा, तेल,  चिउरामा प्रतिकेजी सात रुपियाँ छुट दिइएको छ । 

यस्तै चिनी प्रतिकेजीमा पाँच रुपियाँ र नुन प्रतिकेजीमा दुई रुपियाँ छुट दिएको छ । जुम्लाको सिमी, गेडागुडीमा प्रतिकेजी १० रुपियाँ छुट दिइएको छ । खसीबोका र च्याङ्ग्रामा प्रतिकेजी १० रुपियाँ छुट दिइएको छ । 

यस्तै डीडीसीबाट वितरण हुने घिउ प्रतिकेजीमा ५० रुपियाँ, पनिर/चिज प्रतिकेजीमा २० रुपियाँ र दही प्रतिकेजीमा १० रुपियाँ छुट दिइएको छ । 

खाद्य कम्पनीले मुलुकभर ४१ वटा आफ्ना बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्यान्न वितरण गर्नेछ । यस्तै कम्पनीले उपत्यकामा सात स्थानबाट सामान वितरण गर्नेछ । 

साल्ट ट्रेडिङ कर्पोरेसनले मुलुकभर रहेका २४ बिक्री केन्द्र र उपत्यकामा सात स्थानबाट सामान वितरण गर्नेछ । डीडीसीले उपत्यकाका न्युरोड, लैनचौर, खुमलटार र उपत्यकाबाहिर सात ठाउँबाट सुपथ मूल्यमा बिक्री गर्ने जनाइएको छ । उपत्यकामा घुम्ती सेवामार्फत सुपथ मूल्यमा सामान बिक्री गरिने जनाइएको छ ।

चाडपर्वमा उपभोक्तलाई सहुलियत दिन खाद्य कम्पनीलाई दुई करोड ३२ लाख र साल्ट्र टे«डिङ कर्पोरेसनलाई एक करोड रुपियाँ छुट्याएको मन्त्रालयले जनाएको छ । उपभोक्तालाई छुट दिएबापतको रकम जति हुन्छ, त्यति सरकारले शोधभर्नाबापत उपलब्ध गराउने गर्छ । 

दुई वर्षअघिदेखि सरकारले उपभोक्तालाई राहत दिन बजेटमै रकम व्यवस्था गर्दै आएको छ । 

तीन हजार खसीबोका ल्याइने

सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँका लागि तीन हजार खसीबोका र च्याङ्ग्रा ल्याउने भएको छ । 

दशैँमा खसीबोकाको खपत धेरै हुने हुँदा बजार मूल्य नियन्त्रण गर्न ल्याउन लागेको हो । कम्पनीले प्रत्येक वर्ष विभिन्न जिल्लाबाट खरिद गरी काठमाडौँमा ल्याएर बिक्री गर्ने गर्छ । 

कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खानालले यसपालि दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको जानकारी दिनुभयो । यसका लागि छ करोड ४५ लाख रुपियाँ रकम छुट्याइएको उहाँले जानकारी दिनुभयो । खाद्य कम्पनीले खसीबोका र च्याङ्ग्रामा प्रतिकेजी १० रुपियाँ छुट दिएको छ ।  

दशैँमा उपत्यकामा खसीबोकाको खपत धेरै हुन्छ, निजी व्यवसायीले मनपरी मूल्य निर्धारण गर्न सक्ने हुँदा बजार मूल्य हस्तक्षेप गरी उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउन खसीबोका खरिद गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।