• ११ वैशाख २०८१, मङ्गलबार

डडेल्धुराबाट प्रधानमन्त्री देउवा दम्पती सर्वसम्मत उम्मेदवार

blog

नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा (बायाँ) र काँग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा । फाइल तस्बिर

अमरगढी समाचारदाता

डडेल्धुरा, भदौ १७ गते । नेपाली काँग्रेस डडेल्धुराले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सो पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सर्वसम्मतरुपले सिफारिस गरेको छ । 

शुक्रबार बसेको जिल्ला कार्य समितिको बैठकले प्रतिनिधिसभा सदस्यमा पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री देउवाको नाम सर्वसम्मतरुपमा सिफारिस गरेको जिल्ला सहसचिव प्रेमबहादुर महराले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवा एउटै निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट २०४८ सालदेखि लगातार छ पटक निर्वाचित हुँदै आउनुभएको छ । 

सङ्घीय निर्वाचनको समानुपातिक महिला सदस्यमा प्रधानमन्त्री पत्नी एवं काँग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको नाम सिफारिस गरिएको पनि उहाँले बताउनुभयो ।

नेत्री देउवाको नाम कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा एकल नाम सिफारिस भएको छ । उहाँ २०७४ को प्रतिनिधि सभा सदस्यको उम्मेदवार पनि क्षेत्र नम्बर ५ बाटै हुनुभएको थियो । 

यसअघि बिहीबार क्षेत्रीय कार्य समितिले देउवाको नाम सर्वसम्मतरुपमा जिल्ला कार्य समितिलाई सिफारिस गरेको थियो । 

जिल्ला कार्य समिति डडेल्धुराले सङ्घीय निर्वाचनमा समानुपातिक पुरुष खसआर्य सदस्यतर्फ केन्द्रीय सदस्य नैनसिंह मनहर र जनक कलौनीको नाम सिफारिस गरेको छ । दलिततर्फ नरभान कामीको नाम सिफारिस गरिएको सहसचिव महरले जानकारी दिनुभयो । नैनसिंह महरलाई कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाको सदस्यका लागि समेत सिफारिस गरिएको छ । 

डडेल्धुरा प्रदेशसभा सदस्य क्षेत्र ‘क’ मा जिल्ला सभापति भीम बहादुर साउद र ‘ख’ मा सुदूरपश्चिम प्रदेश सामाजिक विकासमन्त्री गोविन्दराज बोहराको नाम सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रदेश ‘क’ मा समानुपातिकतर्फ पुरुष खसआर्यबाट पूर्व जिल्ला सभापति रघुवर भट्ट, नेता गुणाकर चटौत, वीरबहादुर ठगुन्ना र जीतबहादुर विष्टको नाम सिफारिस गरिएको छ । 

महिलातर्फ कौशिलाकुमारी भट्ट, राजु भट्ट, कलावती बोहरा, वसन्तीदेवी पाण्डेय, जलाकुमारी विष्टको नाम सिफारिस गरिएको छ । दलित महिलातर्फ रत्नादेवी कामी र हरिनादेवी कामीको नाम सिफारिस गरिएको छ । 

यसैगरी, जनजाति, दलित, अपाङ्ग, अल्पसङ्ख्यकबाट बलबहादुर गुरुङ्ग र शंकर कामीको नाम सिफारिस गरिएको छ ।  प्रदेश ‘ख’ मा पुरुष खसआर्यबाट तारक बुढा ऐर, लितक जोशी, वीरबहादुर भाट, तेजबहादुर ऐर, नबलबहादुर मल्ल, नेत्रप्रसाद जोशी, गणेश पन्त, रत्न ऐर, मोहनराज पाठक, भोजराज भट्टको नाम सिफारिस गरिएको छ । 

महिलातर्फ सरस्वती खड्का, वसन्ती भण्डारी, दीपादेवी ऐर, टीकेश्वरी हमाल, सरस्वती अवस्थी ओझा र मानकुमारी थापाको नाम सिफारिस गरिएको । दलिततर्फ सन्तोष जैरु, चन्द्रे टमटा र गोपीराम कामीको नाम सिफारिस गरिएको सहसचिव महरले जानकारी दिनुभयो ।