• १३ साउन २०८१, आइतबार

नेताको स्मृतिमा देवीनगरमा पार्क निर्माण हुँदै

blog

बुटवलको देबीनगरमा निर्माण हुने पार्कको शिलान्यास गर्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डे । तस्बिर : छविलाल पाण्डे

छविलाल पाण्डे 

बुटवल, भदौ १७ गते । नेपाली कांग्रेसका संस्थापक नेता स्व. वीपी कोइराला, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता स्व. पुष्पलाल र बुटवलका पूर्व नगर प्रमुख सूर्यप्रसाद प्रधानको स्मृतिमा बुटवलको देवीनगरमा स्मृति पार्क निर्माण हुने भएको छ । 

बुटवल उपमहानगरपालिकाले निर्माण गर्ने पार्कको बिहीबार एक समारोहबीच बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले शिलान्यास गर्नुभयो । स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित भएर पदस्थापन गरेको एक सय दिन पूरा भएको अवसरमा शुक्रबार पार्कको शिलान्यास गरिएको हो ।  

१७ कट्ठा १४ धुरमा बन्ने पार्कमा स्व. वीपी कोइराला, कम्युनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलाल र स्व. सूर्यप्रसाद प्रधानको सालिक रहने र पार्कलाई सौन्दर्यीकरण गरी घुम्न र विश्राम गर्न लायक बनाइने नगर प्रमुख पाण्डेयले बताउनुभयो । 

बुटवललाई बुटवलबासी र सबै राजनीतिक दलको अपनत्व हुनेगरी पहिचान स्थापित गर्न आवश्यक रहेकाले सहमति, सहकार्य, एकता र मेलमिलापको नीति लिएर अघि बढ्ने बताउनुभयो । 

नगरप्रमुख पाण्डेले अव्यवस्थित बसोबासी रहेको क्षेत्रनजिक बन्ने पार्कले स्थानीयलाई समेत अपनत्वको भावना जगाउने र स्थानीयले पार्कको संरक्षण गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले विपद्को समयमा हुनसक्ने जोखिमका लागि समेत उपयोगी हुनेगरी पार्क निर्माण हुने र यसले स्थानीयलाई लाभ पुग्ने बताउनुभयो । 

पार्क निर्माण भएपछि पर्यटकीय हिसाबले पनि लाभदायी हुने र त्यसको पहिलो लाभ स्थानीयले लिने बताउनुभयो । गत जेठ २५ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार चालु आर्थिक वर्षका लागि सालिकसहितको पार्क निर्माण गर्न ५० लाख रुपियाँ विनियोजन भएको शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालले बताउनुभयो ।