• १३ साउन २०८१, आइतबार

संस्कृतिमाथि हस्तक्षेप नगर्न आग्रह

blog

लमजुङ समाचारदाता 

लमजुङ, भदौ १७ गते । लमजुङका गुरुङ समुदायले आफ्नो संस्कार र संस्कृतिमाथि हस्तक्षेप नहुने गरी शान्तिसुरक्षा प्रदान गर्न प्रहरी प्रशासनसँग आग्रह गरेका छन्। 

बेँसीसहरमा आयोजित जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमललाई स्वागत तथा सम्मान गर्दै सो समुदायले यस्तो आग्रह गरेको हो। लमजुङमा गुरुङ समुदायको बाहुल्य रहेको र गुरुङ जातिको आफ्नै परम्परा, संस्कृति तथा चालचलन रहेकाले यसलाई ध्यान दिँदै शान्तिसुरक्षाका कामकारबाही सञ्चालन गर्न अनुरोध गरेका हुन्। तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य धनप्रसाद गुरुङले गुरुङ जाति सामाजिक, सांस्कृतिक सद्भावना बोक्ने समुदाय रहेको बताउनुभयो।

विविधतामा एकता कायम गर्ने संस्था भएकाले संस्थाले सामाजिक सद्भावनालाई ध्यान दिँदै आएको र यसमा प्रहरीले पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो। प्रहरी नायब उपरीक्षक श्रीमलले लमजुङका नागरिकलाई सहज हुने हिसाबले काम गर्ने बताउनुभयो। समुदायको सहयोगबिना काम गर्न सम्भव नहुने भएकाले सक्दो सहयोग गर्न अनुरोध गर्नुभयो। 

प्रहरी र समुदाय हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको चर्चा गर्दै उहाँले सामाजिक विकृति, विसङ्गति र लागूऔषधविरुद्धको अभियानमा साथ दिन आग्रह गर्नुभयो। त्यस्तै खजेन्द्र गुरुङले तमु समुदायको हितविपरीत प्रहरीले विभिन्न समयमा हस्तक्षेप गर्न खोजेको भन्दै यसो नगर्न आग्रह गर्नुभयो। आवश्यक सहयोग र समन्वय गरी समाजको विकासमा लाग्ने उहाँले बताउनुभयो।