• १९ असार २०८१, बुधबार

काम थाल्दै रोमानियन मिसन

blog

काठमाडौँ, भदौ १७ गते । वैदेशिक रोजगार कार्यालय परिसरमा रहेको रोमानियन मिसन (घुम्ती सेवा)मा आउँदो सातादेखि रोमानियाको टोली आएर काम सुरु गर्ने जनाइएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार वैदेशिक रोजगारीको सिलसिलामा नेपालीलाई रोमानिया पठाउन सहजीकरण गर्ने उद्देश्यले गएको बिहीबार स्थापना गरिएको यो मिसनमा रोमानियाको टोलीले आउँदो सातादेखि सेवा सुरु गर्ने भएको हो । 

भिसा लिन भारतको नयाँदिल्लीस्थित रोमानियाको दूतावास जानुपर्ने र यसका लागि श्रमिकको धेरै रकम खर्च हुने भएकाले काठमाडौँमै अस्थायी रूपमा रोमानिया मिसन स्थापना गरिएको हो । 

वैदेशिक रोजगार कार्यालय काठमाडौँका प्रमुख रमेश अर्यालले नेपाली युवाले रोमानियामा प्राप्त गरेको रोजगारी गुम्न नदिन र रोमानिया प्रवेशका लागि आवश्यक भिसा प्रक्रियालाई सरल, सहज र पहुँचयोग्य बनाउन काठमाडौँ कार्यालयमा अस्थायी रूपमा रोमानिया मिसन स्थापना गरेको जानकारी दिनुुभयो । 

उहाँका अनुसार मिसनले नेपालबाट रोमानियामा रोजगारी तथा अन्य सन्दर्भमा जान चाहने नेपाली युवाका लागि जाने प्रक्रियाबारे र भिसा आवेदन प्रक्रियाको सहजीकरण गर्ने काम गर्नेछ । वैदेशिक रोजगारीका सन्दर्भमा रोमानिया जान चाहनेले मिसनले तोकेको भिसा शुल्कबाहेक कहीँकतै कुनै प्रकारको रकम नबुझाउनसमेत उहाँले आग्रह गर्नुभएको छ । 

रोमानिया युरोपेली मुलुक भएकाले नेपाली श्रमिकका लागि आकर्षक श्रम गन्तव्य मानिन्छ । नेपाल वैदेशिक रोजगार सङ्घका अनुसार रोमानियामा विशेष गरी होटल, कृषि, उद्योगमा विदेशी श्रमिकको माग हुने गरेको छ ।