• १९ असार २०८१, बुधबार

गाउँगाउँमा बीमा विस्तार गर्न आग्रह

blog

छिन्चु समाचारदाता

सुर्खेत, भदौ १७ गते । अर्थमन्त्री जनार्दन शर्माले बीमाको सेवालाई गाउँगाउँसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । 

बिहीबार सुर्खेतमा बीमा समितिको कर्णाली प्रादेशिक कार्यालय उद्घाटन गर्दै उहाँले कर्णालीका अधिकांश जनता बीमाको सेवाबाट वञ्चित रहेको बताउँदै सबैको पहुँच हुने गरी बीमा सेवा विस्तार गर्न निर्देशन दिनुभयो । उहाँले बीमा सेवा सहरबजारमा सीमित नभई गाउँगाउँसम्म पु-याउनुपर्ने बताउनुभयो । 

“वित्तीय र बीमा साक्षरताका कार्यक्रम लिएर ग्रामीण भेगका जनतासम्म पुग्न जरुरी छ । कर्णालीका ११ प्रतिशत जनता मात्र बीमाको पहुँचमा छन्, यो धेरै कम हो । किसानका स–साना समूह बनाएर प्रशिक्षण गरौँ,” उहाँले भन्नुभयो । उहाँले बीमा कम्पनीले समयमा भुक्तानी नदिने, बीमितले दाबीअनुसारको भुक्तानी नपाउनेजस्ता गुनासो आउने भन्दै थप विश्वासनीय वातावरणका साथ सेवा विस्तारमा ध्यान दिन बीमा समिति र कम्पनीलाई आग्रह गर्नुभयो । 

सरकारले लघुवित्तमार्फत सहुलियतपूर्ण ऋण जनताको खेतबारी पु-याउने लक्ष्य लिएको चर्चा गर्दै बीमा सेवा पनि सँगसँगै जानुपर्नेमा उहाँले जोड दिनुभयो । 

अर्थमन्त्री शर्माले संविधानमा रहेको सङ्घ–प्रदेशका साझा अधिकारको सूचीमा बीमा व्यवसाय पनि भएकाले प्रदेश सरकारले पनि बीमासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले बीमा समितिको प्रदेश कार्यालय स्थापनाले कर्णालीका किसान लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । 

यसैगरी आर्थिक मामिला तथा योजनामन्त्री कृष्णा शाह (आचार्य)ले गरिब परिवार बीमाको पहुँचबाहिर रहेकाले बीमा समितिले विशेष प्याकेज ल्याउनुपर्ने सुझाव दिनुभयो । 

सो अवसरमा बीमा समितिका अध्यक्ष सूर्य सिलवालले बीमासम्बन्धी सेवामा विविधीकरण गर्दै गरिबी न्यूनीकरणमा टेवा पुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।