• १९ असार २०८१, बुधबार

चिया क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता

blog

बिर्तामोड समाचारदाता

बिर्तामोड, भदौ १७ गते । चिया क्षेत्रमा देखिएका समस्याको दिगो समाधान गर्न प्रदेश सरकारका मन्त्री र सरोकारवालाले प्रतिबद्धता जनाएका छन् ।  

संवाद समूह प्रदेश १ को आयोजनामा बिहीबार बिर्तामोडमा भएको छलफलमा उहाँहरूले चिया क्षेत्रका समस्याको दिगो समाधान गर्न प्रदेश सरकारको भूमिका प्रभावकारी बनाउने र समस्या समाधानको जिम्मेवारी लिने बताउनुभएको हो । सो भेलाबाट चिया समस्याका लागि सातबुँदे साझा प्रतिबद्धता सार्वजनिक गरिएको छ  ।

प्रदेश १ का कृषिमन्त्री झलकबहादुर मगर, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री ओमप्रकाश सराबगी, सांसद जसमाया गजमेरलगायतले प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणा गर्दै चिया खेतीमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

वार्षिक चार अर्ब रुपियाँ बराबरको विदेशी मुद्रा आर्जन गर्ने प्रदेश १ को मुख्य नगदेबाली चियाको प्रवद्र्धन, विकास र विस्तारका लागि प्राथमिकता दिन प्रदेश १ लाई प्रदेश सरकारबाट चिया विशेष क्षेत्र घोषणाको पहल गर्ने प्रतिबद्धता उहाँहरूले जनाउनुभयो । चिया क्षेत्रका समग्र समस्या सम्बोधन गर्न प्रदेशमा चिया नीति निर्माण गर्ने र यसका लागि तत्काल पहल थाल्ने जनाइएको छ । 

चिया निर्यातमा भारतीय अवरोध हटाउन सङ्घीय सरकारसँग समन्वय गरी कूटनीतिक पहल गर्ने प्रदेश सरकारका तर्फबाट प्रतिबद्धता जनाइएको छ ।

श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन सरकारी तथा नीति चिया क्षेत्रमा कार्यान्वयन गर्ने÷गराउने, यस प्रदेशमा चियाको गुणस्तर परीक्षण गर्न प्रयोगशाला स्थापना गर्नसमेत सरोकारवालाले प्रतिबद्धता जनाइएको छ । त्यस्तै प्रदेश १ मा चिया विकास बोर्ड स्थापनाको पहल गर्ने र चिया अक्सन बजार व्यवस्थापन गर्न प्रदेश सरकारमार्फत तत्काल पहल थाल्ने प्रतिबद्धता जनाइएको छ । हस्ताक्षरपछि बिहीबार नै कृषिमन्त्री झलकसिंह दर्लामी मगरमार्फत प्रदेश सरकारलाई प्रतिबद्धतापत्र बुझाइएको छ ।

कार्यक्रममा चिया श्रमिकका तर्फबाट अखिल नेपाल ट्रेड युनियन महासङ्घ, प्रदेश १ का इन्चार्ज भूपाल सापकोटा र नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङ, चिया किसान तथा चिया सहकारीका तर्फबाट पर्वत डाँगी, नेपाल चिया उत्पादक सङ्घका तर्फबाट सुरेश मित्तल र राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तर्फबाट इन्द्र अधिकारीले चिया क्षेत्रको अवस्था र विषयगत क्षेत्रका समस्याबारे कार्यपत्र प्रस्तुत गर्नुभयो  ।

प्रतिबद्धतापत्रमा राजनीतिक दलहरूका तर्फबाट नेपाली कांग्रेसका झापा जिल्ला सभापति देउमान थेबे, नेकपा एकीकृत समाजवादीका अध्यक्ष वेदराज रेग्मी, जसपाका सचिव सिवन सोराली मगर, लोसपाका अध्यक्ष अनुतसिंह राजवंशी, राप्रपाका अध्यक्ष केशवप्रसाद ओझाको हस्ताक्षर रहेको छ ।