• १० मंसिर २०८१, सोमबार

वैचारिक ऊर्जाको दीप

blog

नेपालमा धेरै नेता जन्मे। कतिले इतिहास बनाएर गए भने कतिपय जसरी आए त्यसरी नै विलीन भए। बीपी कोइरालापछि इतिहास लेखनको विषय बनेर बिदा हुनुभयो सर्वाधिक चर्चित पात्र प्रदीप गिरी। गिरीको बौद्धिक र तार्किक क्षमताको जति प्रशंसा गरे पनि कमै हुनेछ। नेपाली कांग्रेसका नेता तथा बौद्धिक व्यक्तित्व गिरी बहुमुखी प्रतिभाका व्यक्ति हुनुहुन्थ्यो। उहाँ एक राजनीतिज्ञ व्यक्ति मात्र नभएर दर्शन, इतिहास धार्मिकलगायत सबै क्षेत्रका ज्ञाता नै हुनुहुन्थ्यो। माक्र्सवादी साहित्यका धुरन्धर विद्वान् मानिने भएकैले अधिकांश कम्युनिस्ट नेताले उहाँबाट माक्र्सवाद सिक्न रुचाउनुहुन्थ्यो । कम्युनिस्टहरूको कतिपय कार्यक्रममा उहाँ अतिथिका रूपमा निम्त्याइनुहुन्थ्यो। माक्र्सवादको ठूलो अध्येता भए पनि उहाँले कहिले पनि माक्र्सवादको समर्थन गर्नुभएन। जहिले पनि माक्र्सवादलाई आलोचनात्मक दृष्टिकोणबाट हेर्नुहुन्थ्यो। लोकतान्त्रिक समाजवादका कट्टर समर्थक गिरी बीपी कोइराला र सीके प्रसाईंपछिका एक लोकतान्त्रिक समाजवादी हुनुहुन्थ्यो। 

कांग्रेसभित्र मात्र नभएर देशभरि नै लोकतान्त्रिक समाजवादका आधिकारिक भाष्यकार हुनुहुन्थ्यो। त्यस विषयमा उहाँले सयौँ आलेख, व्याख्यान दिई पुस्तक पनि प्रकाशित गर्नुभएको छ। २०१७ सालदेखि २०३० सालसम्म प्रवास भारत, बनारस बसेर उच्च शिक्षा हासिल गर्नुभयो। त्यहीँ बीपीको सान्निध्यमा बसेर राजनीति गर्नुभयो। २०२४ सालमा बनारसमा स्थापित प्रजातान्त्रिक समाजवादी युवा सङ्घको उपाध्यक्ष भई समाजवादसम्बन्धी अध्ययन अनुसन्धानमा लाग्नुभयो। भारतीय समाजवादी नेता जयप्रकाश नारायण तथा डा.राममनोहर लोहियाको सम्पर्कमा आई उहाँहरूद्वारा लिखित समाजवादी साहित्यको अध्ययन गर्न थाल्नुभयो। 

त्यसैगरी भारतका अन्य समाजवादी नेतासित भेटेर समाजवादी आन्दोलनमा सक्रिय भएर लाग्नुभयो। २०३१–३२ सालतिर नेपाल प्रवेश गर्दा पक्राउ परी केही वर्ष नख्खु कारागारमा पनि बस्नुपरेको थियो। २०३६ सालमा जेठ १० गते जनमतसङ्ग्रहको घोषणापश्चात् आफ्नो गृहजिल्ला सिराहाको बस्तीपुरमा आई राजनीतिक सक्रियता बढाई बहुदलीय व्यवस्थाको पक्षमा युवा परिचालन गर्न थाल्नुभयो। सिराहाको लहानमा आश्रम खोली त्यस क्षेत्रका युवा विद्यार्थीलाई बहुदलीय प्रजातन्त्रको पक्षमा लगाउनुभयो। सिराहाको गाउँगाउँमा निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध जनमत सिर्जना गरी प्रशासनको त्रासले गर्दा बहुदलीय व्यवस्थाको पक्षमा खुला रूपमा आउन डराइरहेको अवस्थामा उहाँको उपस्थितिले गाउँका जनता पनि सडकमा आई पञ्चायतीविरोधी नारा लगाउन थाले। 

जनमत सङ्ग्रहताका उहाँसँगै काम गर्न सौभाग्य पाएको पङ्क्तिकारले पनि सिराहाको गाउँगाउँमा घुमी बहुदलीय प्रजातन्त्रका पक्षमा प्रचारप्रसार गरेको थिए। उहाँको तर्कपूर्ण भाषणले सबै जनता आकर्षित हुन्थे। त्यसैले सिराहाका जनताले बहुदलीय व्यवस्थाको पक्षमा सर्वाधिक मतदान गरी अधिराज्यभरि पहिलो स्थान ग्रहण गरे। सिराहा जिल्लामा कांग्रेसको सङ्गठन कमजोर थियो। २०१७ देखि २०३५ साल सम्म निर्दलीय पञ्चायती व्यवस्थाले आफ्नो वर्चस्व कायम गरी अधिकांश जनतालाई पञ्च र पञ्चायती समर्थक बनाइसकेका थिए। त्यस विषम परिस्थितिमा उहाँ कांग्रेसको सङ्गठन बनाई जिल्लालाई नै कांग्रेसमय बनाइसक्नुभएको थियो गिरीले। त्यसैले त २०३७ सालको जनमत सङ्ग्रहमा सिराहा जिल्लाका ७० प्रतिशत जनताले बहुदलीय प्रजातन्त्रको पक्षमा मतदान गरे। दुर्भाग्यवश तत्कालीन पञ्चायती शासकले धाँधली गरी बहुदलीय व्यवस्थाको मतलाई अल्पमतमा पारी विजयी तुल्याए। बहुदलीय व्यवस्थाको पक्षमा २० लाख तथा निर्दलीय पञ्चायती व्यवस्थाको पक्षमा २४ लाख मत देखायो। करिब चार लाखको मतान्तरमा पराजित बहुदलीय व्यवस्थाले आफ्नो कोर्स लिइसकेको थियो, त्यसैले दश वर्ष नबित्दै २०४६ सालको जनआन्दोलनले बहुदलीय प्रजातन्त्रको स्थापना गरियो। 

२०४७ सालमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित सरकारले बहुदलीय संसदीय व्यवस्थाको संविधान निर्माण गरियो। त्यही संविधानका आधारमा २०४८ सालमा पहिलो आम निर्वाचन सम्पन्न भयो तर गृहजिल्ला सिराहाबाट गिरीले टिकट पाउनुभएन। केन्द्रीय नेतृत्वको तानातानकै कारण उहाँले टिकट पाउनुभएन। २०५१ सालको मध्यावधि चुनावमा आफ्नो गृह क्षेत्र रहेको सिराहा निर्वाचन क्षेत्र नं. ४ बाट टिकट पाई सांसदमा विजयी हुनुभयो। २०५६ सालमा पुनः त्यही क्षेत्रबाट टिकट दिइयो तर पराजित हुनुभयो। २०६३ र २०७० सालमा समानुपातिक कोटाबाट सांसद हुनुभयो भने २०७४ सालको आम चुनावमा आफ्नो गृह क्षेत्र सिराहा निर्वाचन क्षेत्र नं. १ बाट टिकट पाई सांसदमा राम्रै मतले विजयी हुनुभयो। 

२०७४ सालमा कांग्रेसले बहुमत नल्याएकाले सरकार बन्न सकेन। नेकपाको नेतृत्वमा सरकार बन्यो। कांग्रेस प्रतिपक्षमा बस्न बाध्य भयो। प्रतिपक्षको सांसदको हैसियतले माननीय गिरीको तर्कपूर्ण, तथ्यपूर्ण तथा वजनदार भाषणले सरकार पक्षका सांसद हायलकायल हुन्थे। संसद्को बैठकमा विशेष समय लिई निर्भीक, तर्कसङ्गत र ओजस्वी भाषण उहाँले दिँदै गर्दा पूरा हल नै निःशब्द र गम्भीर हुन्थ्यो। अरू बैठकका बेला खासै वास्ता नगर्ने सांसद उहाँको पालो आएपछि गम्भीरतापूर्वक बसेर सुन्थे। 

धाराप्रवाह रूपमा विभिन्न राजनीतिक, दार्शनिक तथा साहित्यको सन्दर्भ जोडेर दिएको उहाँको भाषण सुन्न लायक हुन्थ्यो। जस्तो कुनै बेला भारतीय संसद्मा बोल्दा डा.राममनोहर लोहियाको भाषण सुन्न धेरै व्यक्ति लालायित हुन्थे। त्यस्तै नेपालको संसद्मा गिरीको भाषण सुन्न संसद्भित्र र बाहिरका बौद्धिक वर्ग लालायित हुन्थे। मुलुकको ऐतिहासिक घटनाक्रमलाई जसरी उहाँले आफ्नो ओजपूर्ण भाषणद्वारा वाणी दिनुभएको छ, त्यो राष्ट्रको सम्पत्तिका रूपमा रहिरहनेछ। यसलाई शृङ्खलाबद्ध रूपमा अभिलेखीकरण गर्न संसद्ले पहल गर्नुपर्छ। 

उहाँले नेपालको संसद्मा दिनुभएको सारगर्भित भाषणको अलावा जवाहरलाल नेहरू पुस्तकालय तथा भारतीय संसद् पुस्तकालयमा सन् १९७६ मा डा.हरदेव शर्माद्वारा लिइएको बीपीको अन्तर्वार्तालाई अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गरी पुस्तकका रूपमा प्रकाशित गर्नुभएको छ। त्यति मात्र नभई बीपीको दुर्लभ भाषण, सन्देशलाई निकै परिश्रम गरी राजनीतिक अभिलेखका रूपमा प्रकाशित गर्नुभएको छ। बीपीको संस्मरणात्मक साक्षात्कारमा उल्लेखित मेरो जीवन असफल भएन भनी उहाँले पुस्तक नै लेख्नु भएको छ। गिरीले बीपीका साथै जयप्रकाश नारायण तथा डा.राममनोहर लोहियाको राजनीतिक जीवनबारे पनि पुस्तक प्रकाशित गर्नुभएको छ। 

बनारस प्रवासबाट नेपाल फर्केपछि आफ्नो गृहजिल्ला सिराहा होस् वा काठमाडौँ उहाँले समाजवादी चिन्तन, मनन र लेखनमा नै जीवन बिताउनुभयो। आफ्नो गाउँ बस्तीपुरमा बुबा मित्रलाल गिरीको नाममा मित्र सेवा आश्रम खोल्नुभएको छ। उहाँको बुबा २०१६ सालमा नेपाली कांग्रेस, सप्तरीको निर्वाचित सभापति हुनुहुन्थ्यो। त्यति बेला उहाँको सभापतिको प्रतिद्वन्द्वी गजेन्द्रनारायण सिंह हुनुहुन्थ्यो। उहाँलाई सात मतले पराजित गर्नुभएको थियो। त्यो बेला सप्तरी र सिराहा एउटै जिल्ला थियो। गिरी राजनीतिक परिवारको उत्तराधिकारी हुनुहुन्थ्यो। उहाँका काका डा.तुलसी गिरी तथा रुद्रप्रसाद गिरी नेपालको प्रधानमन्त्री र मन्त्री भइसक्नुभएको थियो। एउटा ठूलो जमिन्दार परिवारमा जन्म लिए पनि प्रदीपजी समाजवाद र सादगीको प्रतिमूर्ति हुनुहुन्थ्यो। 

भारतको महात्मा गान्धी, जयप्रकाश, लोहिया तथा नेहरूबाट प्रभावित गिरी जिन्दगीभरि उहाँहरूकै समाजवादी आदर्शप्रति समर्पित रहेर खादी पोसाक र सामान्य 

रहनसहनमै बस्नुभयो। उहाँले धेरै समाजवादी कार्यकर्ता उत्पादन गर्नुभयो। कांग्रेसले गर्न नसकेको काम गर्नुभयो। वैचारिक अभियानलाई द्रुत गति दिई प्रजातान्त्रिक समाजवादी क्षेत्रमा थुप्रै कार्यकर्ता प्रशिक्षित गर्नुभयो। यसरी गिरी एक्लै वैचारिक ऊर्जा प्रदान गरी प्रतिपक्षलाई समेत निरन्तर चनाखो बनाइरहनुभयो। यसका लागि सिङ्गै पार्टी 

पङ्क्तिलगायत आमकार्यकर्ता उहाँप्रति ऋणी हुनुपर्छ। बीपीको निधनपछि कांग्रेसमा बौद्धिक र वैचारिक ऊर्जा प्रदान गर्ने गिरीप्रति हामी प्रजातन्त्रवादी कृतज्ञ हुनैपर्छ।

ब्रिटिस भारतका शासकले सन् १९४२ मा बीपीलाई सुपुर्दगी गर्न राणाशासकलाई पत्राचार गरेका थिए। यो मुद्दा भारतको सर्वोच्च अदालतमा चलेको थियो र तत्कालीन प्रधानन्यायाधीश विलियम पेट्रिक स्पेन्स किटले १६ डिसेम्बर १९४४ ई.मा नेपाल सरकारलाई सुपुर्दगी गर्न नसक्ने फैसला गरिएको थियो। त्यसपछि विराटनगरको मजदुर हडतालका क्रममा पक्राउ गरी बीपीलाई धनकुटा हुँदै पैदल २२ दिन लगाएर काठमाडौँ लगी जेलमा हालिएको थियो। उहाँले जेलमै भोक हडताल सुरु गर्नुभयो। उहाँको अवस्था गम्भीर भएपछि भारतका नेता महात्मा गन्धी, नेहरू, जयप्रकाश र लोहियाद्वारा बीपीको रिहाइका लागि राणाशासकलाई चिठी लेखिएको थियो। 

बौद्धिक, प्राज्ञिक तथा कुशाग्र बुद्धिका धनी गिरी नेपाल आमाको सपुत हुनुहुन्थ्यो। उहाँद्वारा लेखिएको आत्मकथालगायत अन्य अप्रकाशित कृति प्रकाशन गर्न पार्टीलगायत बौद्धिक समुदायसित पङ्क्तिकार विनम्रतापूर्वक आग्रह गर्दछ। तेह्रौँ दिनको पुण्यतिथिमा गिरीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।