• १३ साउन २०८१, आइतबार

सुनमाया फ्रान्समा उपविजेता

blog

उपाधिसहित सुनमाया बुढामगर । तस्बिर : गोरखापत्र

गोरखापत्र  समाचारदाता 

ब्रसेल्स, भदौ १४ गते । फ्रान्समा हालै भएको विश्वकै प्रतिष्ठित अल्ट्रा रेस मोन्ट ब्लांक ९यूटीएमबी० को १०० किमी दौडमा नेपालकी सुनमाया बुढामगर दोस्रो हुनुभएको छ । नेपालको विकेट जिल्ला जुम्लाकी २३ वर्षीया बुढामगरले “दि नर्थ फेस एडभेन्चर “ क्लबका लागि खेल्नुभएको दौडको दूरी ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा पूरा गर्नुभएको हो ।

उहाँ फ्रान्सकै ब्लेन्डिन ल हिरोन्डेलीसँग पछि पर्नुभएको थियो । हिरोन्डेलीले निर्धारित दूरी ११ घण्टा ४४ मिनेट ५५ सेकेन्डमा पार गर्नुभएको थियो । तेस्रो भएकी अमेरिकाकी धाविका अबी हलले निर्धारित दूरी १२ घण्टा १२ मिनेट ५६ सेकेन्डमा पूरा गर्नुभएको थियो । 

बाल्यकाल देखिनै दौडमा लगाव राख्ने बुढामगर जुम्लाकै स्कुल स्तरीय छोटो र लामो दूरीका प्रतियोगिताहरूमा विजेता बन्दै आउनुभएको थियो । उहाँ कर्णाली स्पोर्ट्स क्लब जुम्लामा रहेर आफ्नो तालिम पनि लिँदै आउनुभएको थियो ।

सन् २०१६ मा काठमाडौंको गोदावरी ट्रेल रङिनमा पहिलो पटक भाग लिनुभएकी बुढामगरको दौडकला राम्रो देखेर विश्व चर्चित अल्ट्रा धाविका  मिरा राईले काठमाडौं बस्न र तालिमको अवसर जुटाई दिनुभएको थियो । तर छोरीले गाउँ छाडेर काठमाडौं गएको बुढामगरको परिवारलाई मन परेको थिएन । आफूले बिस्तारै सफलता हात पारेपछि बाबाआमा समेत खुसी भएको बुढामगरले बताउनुभयो । 

विश्वको कठिन दौडमा सबै विधामा गरी २५ सय भन्दा बढी खेलाडी सहभागी हुने गर्छन् । यसअघि बुढामगरले सन् २०१७ मा पनि मोन्ट ब्लांक ८० किमी दौडमा सहभागिता जनाउँदा सातौँ स्थान हासिल गर्नुभएको थियो । उहाँले सन् २०१७ मा हङकङ र थाइल्यान्डमा सलोमोन योग एकाडेमीको लागि छनोट भएर ट्रेनिङ पनि लिनुभएको थियो । त्यहाँ बुढामगरले ११० किमी दौड समेत जित्नुभएको थियो ।

उहाँलाई अहिले विश्व चर्चित ट्रेड मार्क नर्थ फेसको टिममा अनुबन्ध गरेको छ । बुढामगर ‘मिरा राई इनिसीएटिभ ‘को पहिलो छात्रा पनि हुनुहुन्छ । हाल फ्रान्समै रहनुभएकी मिरा राईले नेपालमा हजारौँ सुनमायाहरू रहेको र अवसर बनाएको बताउनुभयो । राईले भन्नुभयो, ‘हामी उनीहरूको खोजी, प्रतिभाको पहिचान, प्रोत्साहन र अवसर खोज्ने काम गर्नेछौँ ।’