• ११ मंसिर २०८१, मङ्गलबार

सञ्चारसम्बन्धी कानुन टुङ्गोमा पुर्‍याउन प्रधानमन्त्री सकारात्मक

blog

प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुहुँदै नेपाल पत्रकार महासंघका सभापति विपुल पोखरेललगायत । तस्बिर : नेपाल पत्रकार महासंघ

काठमाडौं, भदौ १४ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारसम्बन्धी कानुन टुङ्गोमा पुर्‍याउन सरकार सकारात्मक रहेको बताउनुभएको छ । मङ्गलबार पत्रकार महासङ्घका प्रतिनिधिसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो । 

मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानुन चालु अधिवेशनमा नै टुङ्गोमा पुर्याउन पहल गर्न प्रधानमन्त्री देउवालाई महासंघको प्रतिनिधिमण्डले मंगलबार आग्रह गरेको हो ।

भेटमा प्रधानमन्त्री देउवाले महासंघले उठाएका र राखेका मागहरूलाई सकारात्मक रूपमा लिनुहुँदै तत्काल टुङ्गोमा पुर्‍याउनका लागि पहल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई फोनमार्फत निर्देशन दिनुभएको महासङ्घका महासचिव रोशन पुरीले जानकारी दिनुभयो । 

भेटमा महासङ्घका तर्फबाट अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव पुरी सहभागी हुनुहुन्थ्यो । महासङ्घले प्रतिनिधिसभा भङ्ग हुनुअगावै सञ्चारसम्बन्धी कानुनका विषयलाई टुङ्गोमा पुर्‍याउन पहल गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटालाई पनि भेटेर ध्यानाकर्षण गराउने कार्यक्रम रहेको महासचिव पुरीले विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।