• १० मंसिर २०८१, सोमबार

मौलिकतामा चुनौती

blog

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनदेखि पञ्चमीसम्म तीज पर्व मनाउने गरिन्छ। तीन हिन्दु नारीको विशेष पर्व हो। यो पर्वलाई परापूर्वकालदेखि नै चेली र माइतीघरबीचको अन्योन्याश्रित सम्बन्धका रूपमा नै मान्यता दिइँदै आइएको छ। धर्मग्रन्थअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनका निम्ति तपस्या गरिन्। व्रतका रूपमा बसेको तपस्या सफल भएकाले महादेव स्वामी पाई पार्वती खुसी भएको धार्मिक विश्वास रहिआएको छ। पार्वतीले महादेव स्वामी पाएका दिन श्रीहरि विष्णुले ताली बजाएर खुसी व्यक्त गरेका हुनाले उक्त दिनदेखि नै त्यस दिनलाई ठूलो खुसियालीको पर्वका रूपमा मानिएको हो। 

नेपाल धर्म र संस्कृतिले धनी देश हो। आफ्नो धर्म, संस्कृति, संस्कार जोगाउन हाम्रा पुर्खाले बनाएका चाडपर्व मनाएर रमाइलो गर्ने गर्दछौँ। आजसम्म पनि हाम्रा धार्मिक चाडपर्व, रीतिरिवाज, परम्परागत मान्यता हाम्रो मानसपटलमा ताजा नै रहिआएका छन्। तीज पर्वको व्रत बस्नुभन्दा अघिल्लो दिन ‘दर खाने’ दिन भनेर उक्त दिनलाई विशेष दिनका रूपमा मानिँदै आइएको छ। परापूर्वकालदेखि दरखाने दिनलाई अति नै महत्वको दिन मानिन्छ।

वर्षभरि फलेका मीठो मसिनो खाने कुरा सङ्कलन गरी दरखाने दिनलाई चाहिन्छ भन्दै साँचेर राख्ने चलन छ। दरखाने दिनका लागि चामल, घिउ, तामा, तोरीको गुन्द्रुक, खल्पी, गेडागुडीजस्ता सामान साँचेर उक्त दिनलाई खानका लागि राख्ने चलन छ। माइती पक्षबाट आफ्ना विवाहित चेलीलाई तीज मनाउन लिन जाने परम्परा पनि छ। चेली आफ्ना वर्षभरिका पीडा–थकान मेट्न, रमाइलो भेटघाट गर्न, माइतीघरमा दुःखसुख साट्न आउने गर्छन्। परापूर्वकालमा विवाहित चेलीलाई माइती आउन तीज नै पर्खनुपर्ने बाध्यता थियो। चेलीले तीजमा माइती जान पाइन्छ भनेर कुरेर बसेका हुन्थे।  

व्रत लिनु अघिल्लो दिन दर खाँदा ढकने, सेलरोटी, दही, चिउरा, कुराउनी, आलु कवाफजस्ता मिष्ठान्न पकवान पकाएर खाने र रमाइलो गरी नाचगान गर्ने चलन पनि परम्परादेखिकै हो। दर खाएको भोलिपल्ट नुहाइधुवाई गरी पवित्र भएर महादेवको पूजा गरी विवाहित नारीले सोह्रशृङ्गारमा सजिएर आफ्ना स्वामीको दीर्घायुको कामना गरी निराहार व्रत बस्ने गर्दछन्। उक्त दिन विवाहित नारीले आफ्ना विवाहमा लगाइएको सिन्दुर लगाउने स्वयंवरको पोते, फुर्के धागो लगाई चुल्ठो बनाउने, निधारमा टिकी र कोष निकालेर गाजल लगाई चिटिक्क परेर सोह्रशृङ्गार गरी सौभाग्यवती भएर आफ्नो स्वामीको दीर्घायुको कामना गर्दै निराहार व्रत बस्ने गर्छन् । अविवाहित नारीले पनि सुयोग्य वर प्राप्तिका लागि निराहार व्रत बसी महादेवको पूजाआजा गरेर रमाइलो गर्ने गर्छन् । 

तीजको ठूलो महिमा र विशेषता रहिआएको छ। यस पर्वमा आफ्ना स्वामी नभएका महिला दिदीबहिनीले पनि दिवङ्गत स्वामीको वैकुण्ठ बासको कामना गर्दै आफ्ना स्वामीलाई सम्झेर निराहार व्रत बस्ने गर्दछन्। उक्त व्रतका दिन महादेवको पूजाआजा गरी पण्डित बोलाई पूजा लगाएर दान दक्षिणा गरी सँगिनी खेलेर असाध्यै रमाइलो गर्ने चलन चलिआएको छ। यो पर्वमा विवाहित चेली र माइतीबीच गहिरो नाता सम्बन्धको उदाहरण पनि देख्न सकिन्छ। 

परापूर्वकालमा बुहारीलाई माइत जान नदिने, दुःख दिने र कष्टकर बुहार्तनको समय थियो। बुहारीलाई काम मात्र लगाउनुपर्छ भन्ने मान्यता थियो। त्यसबेला चेलीलाई कहिले तीज आउला र माइती जाने अनुमति पाउँला भन्ने ठूलो पर्खाल नै थियो। चेली औँला भाँचिरहन्थे। आमाले पकाएको मिठोमसिनो खान र माइती जान पाउँदा चेलीका खुट्टा भुइँमा हुँदैनथ्यो। लामो समयपश्चात् माइती जान पाउँदा, साथीसँगी भेट हुँदा चेलीलाई हर्षको सीमा नै हुँदैनथ्यो। आजभोलि केही सोचाइमा पनि परिवर्तन हुन थालेको छ। बुहारीलाई पनि छोरीसरह मानेर सम्मान गर्ने, माइत जान दिनुपर्छ भन्ने, आफ्ना छोरीचेलीलाई पनि ल्याउनुपर्छ भन्ने सोचाइको विकास हुँदै गएको छ । शिक्षित र सभ्य परिवारले छोरी बुहारीलाई पनि सम्मान गर्नुपर्छ भन्ने भावनाको विकास भइरहेको छ, यो ज्यादै खुसीको कुरा हो ।

समयको परिवर्तनले गर्दा हो या मानसिक परिवर्तनले आजभोलि हाम्रा विभिन्न परम्परागत चाडपर्वलाई भड्किलो तडकभडक गरेर मनाउने चलन पनि चल्न थालेको छ। तीज आउनुभन्दा महिना दिन अगाडिदेखि विभिन्न खालका कार्यक्रम गरी होटलमा गएर टोलटोलमा जम्मा भएर नानाथरीका कार्यक्रम गरी समाजमा अपच हुने खालका क्रियाकलाप हुँदै आएका छन्। तीज मनाउन दरखाने देखासिकी गरी घरपरिवारमा कलह ल्याउनेजस्ता क्रियाकलापमा पनि कमी आएको छैन। महिनाभरि दरखाने प्रक्रियाले गर्दा घरपरिवारमा आँच आउने र पारिवारिक दुर्घटना पनि हुन थालेको देख्न र सुन्न सकिन्छ। महिनाभरिको यस्तो दरखाने प्रक्रिया र तीज मनाउने चलनले गर्दा साधारण महिलालाई सकस भएको छ । 

खासगरी मुख्य दिन दरखाने दिनको विशेष महत्त्व लोप हुन थालिसकेको छ। दरखाने दिनलाई महिनाभरि मनाएर विभिन्न उच्छृङ्खल तरिकाले तडकभडक र खर्चिलो खालको वातावरणको विकास गराइँदा समाजप्रतिको हेराइ नै नकारात्मक बन्न थालेको छ। यस्ता क्रियाकलापले गर्दा समाजमा ठूलो नोक्सान हुनुका साथै नकारात्मक विकृति दिन प्रतिदिन तीव्र गतिमा बढ्दै गइरहेको छ। यस्ता क्रियाकलापले गर्दा ठूला पारिवारिक दुर्घटना पनि घट्न थालेको देख्न र सुन्न सकिन्छ। सभ्य र संस्कृतिको यस्तो चाडलाई तडकभडक र खर्चिलो तरिकाले मनाउन थालेदेखि नै तीजको महिमा दिन प्रतिदिन घट्दै गइरहेको छ। यस्ता खालका नकारात्मक क्रियाकलाप बिथोल्न नदिई सभ्य र सरल तरिकाले मनाउन सम्पूर्ण महिला दिदीबहिनीलाई हार्दिक अपिल गर्न चाहन्छु । भड्किलो कपडा भड्किला गरगहना देखासिकी गर्ने चलनले गर्दा हाम्रो धर्म, संस्कृति र समाजलाई पनि नराम्रो असर पर्न सक्छ । 

सभ्य तरिकाले आफ्नो गच्छेअनुसार मनाउने यस्तो तीजको परम्परागत महिमा जीवित राख्नुपर्ने चुनौती थपिएको छ। दरका नाममा महिना दिनअघिदेखि मनाउने प्रचलन तोड्नुपर्छ। यस्ता क्रियाकलापले गर्दा समाजमा ठूलो असर र दुर्घटना निम्तिन सक्छ। देश–विदेशमा रहेका महिला दिदीबहिनीलाई यो तीजले नयाँ उमङ्ग र खुसियाली ल्याओस्। तीजको नाममा सामाजिक सद्भाव खलबलिने र मौलिक संस्कृति लोप हुने खालको भड्किलोपन अन्त्य गर्नुपर्छ। तीजले परम्परागत संस्कृतिको जगेर्ना गर्दै हाम्रो सभ्यता जोगाउन सकारात्मक ऊर्जा थप्न सकोस्।