• १३ साउन २०८१, आइतबार

जङ्गल संरक्षण गर्न स्टिम बोइलर चुलो जडान

blog

विद्यालयमा जडान गरिएको स्टिम बोइलर चुुलो । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, भदौ १३ गते । वन जङ्गलको संरक्षण गर्न जिल्लाको एक विद्यालयले स्टिम बोइलर चुलो जडान गरेको छ । नाम्खा गाउँपालिका –४ को याल्वाङको नाम्ख्युङ महामाया आधारभूत विद्यालयले सो चुलो जडान गरेको हो ।

उक्त विद्यालयका प्रधानाध्यापक पदमा लामाले विद्यालयले जङ्गल संरक्षण अभियानलाई सफल बनाउन स्टिम बोइलर चुलो जडान गरेर सञ्चालनमा ल्याएको बताउनुभयो । यो चुलो विद्यालयको छात्रावासमा प्रयोग गर्नुको मुख्य उद्देश्य वनजंगलको संरक्षण गर्नु रहेको उहाँले बताउनुभयो । चुलो जडान भएर सञ्चालनमा आए पनि बीस प्रतिशत दाउरा कम खपत हुनेगरेको उहाँको भनाइ छ । 

विद्यालयले तीन वर्ष अगाडिदेखि उक्त चुलो ल्याउने प्रयास गरेको र ढुवानी समस्या समाधान हुन नसकेको भए पनि अहिले आएर सफल भएको छ । उक्त चुलोको तल्लो भागमा दाउरा राख्ने र माथि भाँडामा बाफबाट खाना पाक्ने गर्छ । खाना छिटो पाक्ने, समय पनि कम लाग्ने, भाँडा पनि फोहोर नहुने भएको हुँदा धेरै उपयोगी भएको उहाँले बताउनुभयो । 

कक्षा ८ सम्म पढाइ हुने सो विद्यालयमा ३५० जना विद्यार्थी छन् । १५० जना गुम्बाका आनीहरुको लागि एउटा अर्को चुलो जडान गरेर सञ्चालनमा ल्याइएको छ । यसका लागि नाम्खा ख्यङूजोङ याल्वाङ गुम्बाका मुख्य गुुरु पेमा रिक्साल रिम्पोछे गुम्बाको आन्तरिक स्रोतबाट आर्थिक सहयोग गर्नुभएको छ ।

यसका लागि चुलो खरिद तथा ढुवानी र जडानका लागि ४० लाख रुपियाँ लागत लागेको विद्यालयले जनाएको छ । बिगत लामो समयदेखि लामा रिम्पोछे वन्यजन्तु तथा जङ्गल संरक्षणका लागि वकालत पनि गर्दै आउनुुभएको छ ।