• १४ पुस २०८१, आइतबार

आयोगद्वारा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनालाई प्रतिवेदन हस्तान्तरण

blog

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ १२ गते । मधेशी आयोगले हरितालिका तिज, चौरचन (चौठचन्द्र) र जितिया पर्वको अवसरमा संवाद तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । आयोगमा शनिबार भएको कार्यक्रममा मधेशी समुदायको चाडपर्वसम्बन्धी दुई वटा प्रतिवेदन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई बुझाएको हो । 

मधेशी आयोगकी सदस्य रेणुदेवी साहले सन्तानको सुखका लागि मनाइने जितियालाई सन्तानको सुख, आनन्द र प्रगतिका लागि मनाउने बताउनुभयो । उहाँका अनुसार एउटा उत्साहजनक चाडपर्वका रुपमा जितियालाई ‘जीवितपत्र’ पर्वको रुपमा मनाइन्छ । 

जितिया पर्व असोजको अष्टमीतिथीको कृष्णपक्षको दिन मनाइन्छ । सदस्य साहले भन्नुभयो, “यो पर्व आमाहरुले आफ्नो जीवित छोराछोरीका लागि व्रत बस्ने गर्छन् । ‘निर्जल’ अर्थात पानीसमेत नखाइ २४ घण्टासम्म भगवान जीतमहानको पूजागरी कठोर व्रत बस्ने परम्परा छ ।”

मनाउने तरिका

पहिलो दिन विशेषगरी नेपालको तराईलगायत भारतका केही स्थानमा सनातन हिन्दु धर्मअनुसार जितियाको व्रत लिइन्छ । यो व्रत कुनै धनधान्य ऐश्वर्यका लागि नभई नितान्त मातृ स्नेह र मातृ बात्सल्यका लागि लिइन्छ । असोज कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म तीन दिन मनाइने यो पर्वको पहिलो दिनलाई नहाई (खाई) अर्थात् विहानै उठेर नजिकको जलाशय अथवा नदीमा गएर नुहाएर तोरीको तेल, उखु चढाउने गरिन्छ । 

दोस्रो दिन आमाहरुले नुहाएर मात्र यस दिन चोखो खाने कुरा खान्छन् । जीवितपुत्रीको दिन अर्थात् अष्टमीको रुपमा मनाइन्छ । यो दिनलाई खर दिनु भनिन्छ । खर भनेको एक प्रकारको घाँस हो । 

तेस्रो दिनलाई पारण भनिन्छ । यस दिन खाना खाइन्छ । तिथिमितिमा तलमाथि परेमा वा एउटै तिथी दुई दिन परेमा आमाहरुले तीन दिनसम्म निर्जल व्रत बस्नुपर्ने हुन्छ ।

यस्तै, पूर्वी थारु समूदायका मानिसले पनि जितियालाई उत्तिकै महत्वकासाथ मनाउँछन् । जितियालाई बिजयी अर्थात् जितका रुपमा लिंदै नवलपरासीदेखि पूर्वका थारु महिलाले धार्मिक महत्वकासाथ तीन दिनसम्म मनाउँछन् । 

जितिया पर्वमा भगवान बिष्णु, शिव र सूर्यको पूजा पराम्परागत गीत, संगितकासाथै नाचगानसहित मनाइन्छ । खानेकुराको स्वाद समय अनि भान्छाअनुसार फरक भए पनि एउटी आमाको सन्तानप्रतिको माया सधैँ उस्तै पवित्र हुन्छ । जितिया सबै आमाका छोराछोरीको रक्षाका लािग मनाउने हुँदा छोराछोरीले आमालाई माया गरुन् भन्ने मान्यता पनि रहिआएको सदस्य साहको भनाइ छ । 

हरितालिका तिज

मधेशी समुदायमा बराबर प्रयोग हुने शब्द सभ्यता र संस्कृति हो । सभ्यताले मानवको भौतिक उन्नतिलाई बुझाउंंँछ भने संस्कृतिले आध्यात्मिक उन्नतिलाई जनाउने मधेशी आयोगकी जनचेतना अभिवृद्धि, कुरीति छुवाछूत जातिय तथा लैङ्गिक विभेद विभागकी सदस्य आभासेतु सिंहको भनाइ छ । 

उहाँका अनुसार मानव जीवन निर्वाह गर्नेक्रममा सामूहिक रुपमा पालना गर्नुपर्ने जातीय आचार व्यवहार नै संस्कृति हो । “जाति भनेको सामान सांस्कृतिक जीवनपद्धति र संस्कारका अनुयायी व्यक्तिको समूह हो ।” व्यक्ति, जाति सामाज विशेष प्रकारका सांस्कृतिक व्यवहार र संस्कारले बाँधिएको हुने उहाँको बुझाइ छ । 

उहाँले भन्नुभयो, “हाम्रा कलाहरु मूर्तिका रुपमा पुजिन्छन, हाम्रा साहित्यहरु मंगलगीतको रुपमा गुञ्जिन्छन् । यसरी हाम्रो संस्कृतिले साहित्य र कलालाई आत्मसात गर्दै युगौंदेखि सुरक्षित गर्दैआएको छ ।” 

ऐतिहासिक पृष्ठभूमि  

एक समय महाराज युधिष्ठिरले राजस्वी यज्ञ गर्नुभयो । सोही कार्यक्रमका लागि यस्तो मनोरम र अद्भुत यज्ञमण्डपको निर्माण भयो । जलमा स्थल, स्थलमा जल प्रतीत भयो । जति सावधानी अपनाए पनि मानिसहरुले धोखा खाए ।   

एक पटक दुर्योधन पनि त्यस यज्ञ मण्डप आइपुगे । पोखरीलाई स्थल सम्झेर त्यसमा लडे । द्रोपदीले देखेर अन्धोको सन्तान अन्धा भनेर उपहास गर्नुभयो । जसकाकारण दुर्योधन उनीसँग चिढिएका थिए । उनको मस्तिष्कमा अपमानको बदला लिने भाव उत्पन्न भयो । त्यहीकारण पछि पाण्डवलाई १२ वर्ष वनवासको सजाय भोग्नुपरेको थियो ।