• १३ साउन २०८१, आइतबार

लाप्चाबाट कैलाश दर्शन गर्ने बढे

blog

राजन राउत

हुम्ला, भदौ १२ गते । यस वर्षको पहिलो विदेशी पर्यटकको समूहले नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गरेको छ । हुम्लाको सदरमुकाम सिमकोट आइपुगेको चौथो दिन पर्यटकले मानसरोवर कैलाशको दर्शन गरेको हो । 

ट्रेकर सोसाइटीका प्रबन्धक प्रह्लाद लिम्बूले विभिन्न मुलुकका ५६ जनाको टोलीले लाप्चाबाट शनिबार दिउँसो मानसरोवर कैलाशको दर्शन गरेको बताउनुभयो । 

यो टोली स्थानीय वातावरणमा घुलमिल हुन दुई रात नाम्खा गाउँपालिका–६, लिमीको ताक्चीमा बसेको थियो । शनिबार बिहान ताक्चीबाट गाडीबाट चार घण्टामा यो टोली लाप्चा पुगेको लिम्बूले जानकारी दिनुभयो । शनिबार मौसम सफा भएले कैलाश दर्शन पनि सफल भएको छ । 

शनिबारदेखि सुुरु भएको मानसरोवर कैलाश दर्शन अब एक महिनासम्म निरन्तर चल्ने लिम्बूले बताउनुभयो । अन्य दुई टोली पनि लाप्चा जानका लागि ताक्चीमा तयारी अवस्थामा रहेको छ । यी दुई टोली ताक्चीबाट सोमबार सिमकोट फिर्ता हुने कार्यक्रम रहेको छ । 

सद्गुरुको भ्रमणले लाप्चाको प्रचार

लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्ने विदेशी टोली भारतीय सद्गुरुको समूहकै पहिलो टोली हो । सद्गुरुसहित एक हजार चार सय धार्मिक पर्यटकले कैलाश मानसरोवरको दर्शन गर्ने कार्यक्रम छ । 

भदौ १९ गते (सेप्टेम्बर ४)मा भारतीय सद्गुरु (जग्गी वासुदेव) सिमकोट आइपुुग्ने कार्यक्रम रहेको छ । सद्गुरुको टोलीलाई सिमकोटमा सांस्कृतिक झाँकीसहित स्वागत गर्ने कार्यक्रम छ । चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने मानसरोवर कैलाश हिन्दुका लागि पवित्र तीर्थस्थल हो । कैलाश पुग्न सहज नभएका कारण बर्सेनि नेपाली र भारतीय पर्यटक लाप्चा पुग्ने गरेका छन् ।

यस वर्ष हुम्ला भित्रिएका र आउने तय भएका पर्यटकको सङ्ख्या तीन वर्षयताकै सबैभन्दा धेरै हो । यसले यहाँका होटल तथा पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छ । 

गत वर्ष भदौमा सद्गुरुसहित ५० जनाको टोलीले सिमकोटबाट पैदल मार्ग हुँदै लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन गरेको थियो । गत वर्ष तीन सयभन्दा बढी आन्तरिक पर्यटकले पनि लाप्चाबाट दर्शन गरेका थिए । केही दिनअघिसम्म १०४ जना आन्तरिक पर्यटकले लाप्चाबाट दर्शन गरिसकेका छन् ।

३०२ जना पर्यटक हुम्ला भित्रिए

चार दिनमा ३०२ जना पर्यटक हुम्ला भित्रिएका छन् । शनिबारसम्ममा ५२ जना सिमकोटमै छन् भने ६७ जना लेकधिङ्गामा छन्, बाँकी भने ताक्चीमा बास बस्नुहुनेछ ।  

हालसम्म हुम्ला आइपुगेका पर्यटक भारत, अमेरिका, मोरक्को, अस्ट्रेलिया, जर्मनलगायतका देशका छन् ।  पर्यटकको बासका लागि लेकधिङ्गा र ताक्चीमा एक­/एक सय पाल टाँगिएका छन् । पर्यटक ओसार्नका लागि दसवटा बोलेरो जिप प्रयोग गरिएको छ । पर्यटककै लागि तीनवटा हेलिकोप्टर सिमकोटमा रहँदै आएका छन्  । 

पर्यटकको भान्सा व्यवस्थापनका लागि आवश्यक खाद्य तथा अन्य सामग्री पैदल र हेलिकोप्टरबाट ढुवानी गरेर सिमकोट, लेकधिङ्गा र ताक्ची पु-याइएको छ ।