• १४ जेठ २०८१, सोमबार

फोहोर व्यवस्थापन गर्दै पालिका

blog

काठमाडौँ, भदौ ११ गते । उपत्यकाको फोहोर व्यवस्थापन चुनौती बन्दै गएपछि काठमाडौँ उपत्यकाका नगरपालिकाले आफ्नै पालिकाभित्र फोहोर व्यवस्थापन गर्ने वैकल्पिक उपायको खोजी गर्न थालेका छन् । काठमाडौँ उपत्यकाको फोहोर नुवाकोटको सिसडोल र बन्चरे डाँडामा राख्न अवरोध हुन थालेपछि उपत्यकाका सबै नगरपालिकाले आआफ्नै पालिकाभित्र फोहोर व्यवस्थापन गर्ने वैकल्पिक उपायको खोजी गर्न थालेका हुन् । 

गोदावरी नगरपालिकाले नगरपालिकाको खुला स्थानमा फोहोर व्यवस्थापन गर्ने गरी प्रक्रिया अगाडि बढेको र केही प्राविधिक कारणले मात्र रोकिएको जनाएको छ । नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले नगरवासीलाई सम्भव भएसम्म फोहोर उत्पादन नै नगर्न अनुरोध गर्ने र फोहोर उत्पादन भइहाले उत्पादन स्थलमा नै छुट्याएर राख्न सचेतना अभियान चलाउन लागिएको बताउनुभयो । 

उपत्यकाका सबै नगरपालिका आआफ्नै पालिकाभित्र फोहोर व्यवस्थापन गर्ने वैकल्पिक उपायको खोजीमा ।

उहाँले भन्नुभयो, “फोहोरलाई मोहोरमा परिणत गर्न, सरसफाइको क्षेत्रमा उल्लेख्य योगदान गर्न, स्थानीयलाई प्रोत्साहन गर्न, अनुदानको व्यवस्था गर्न लागेका छौँ ।” फोहोर व्यवस्थापनमा कानुनको अभाव भए नगरपालिकाले कानुन निर्माण गरी फोहोरको व्यवस्थापन गर्ने तयारी गरिरहेको छ । केही समयभित्रै नगरपालिकाभित्र सञ्चालित विभिन्न ठूला र मझौला उद्योग कलकारखाना, बङ्गुर, कुखुरा फार्मलगायतका सबै वधशालाबाट हुने प्रदूषण र तिनको व्यवस्थापन गर्ने महर्जनले बताउनुभयो । 

चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले फोहोरमैलाको प्रकृतिअनुसार उत्पादन हुने क्षेत्रमा नै फोहोरको वर्गीकरण गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न लागिएको बताउनुभयो । त्यसका लागि नगरपालिकाले सबै घरधुरीमा फोहोरको प्रकृतिअनुसार छुट्याउन फरक/फरक रङका भाँडा नगरपालिकाले वितरण गर्न लागेको छ । 

उहाँले भन्नुभयो, “फोहोर उत्सर्जन हुने स्थानमा नै छुट्याउँदा फोहोर समस्यारहित हुने भएकाले पहिलो प्राथमिकता सबैले जहाँ फोहोर उत्पादन हुन्छ, सोही ठाउँमा नै छुट्याउन सबै नगरवासीलाई आग्रह गरेका छौँ । पुनः प्रयोग गर्न सकिने सबै फोहोरलाई पुनः प्रयोग गरिनेछ ।” 

गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसालले नगरपालिकाले आधुनिक प्रविधिबाट वातावरण प्रदूषणरहित रूपमा घरबाट निष्कने फोहोरलाई व्यवस्थापन गर्न जापानी प्रविधिको इन्सिनेटर मेसिन जडान गरी व्यवस्थापन गर्दै आएको छ । आगामी दिनमा त्यसलाई थप विस्तार गर्ने योजना बनाएको उहाँले बताउनुभयो । मध्यपुर थिमि नगरपालिकाले कुहिने फोहोरलाई गत तीन वर्षदेखि गन्धरहित रूपमा कम्पोस्ट मल बनाउँदै आएको र उक्त विधिलाई नगरपालिकाभरि विस्तार गर्ने योजना बनाएको छ । 

नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले फोहोरबाट कम्पोस्ट मल बनाउने कार्य अहिले सीमित स्थानमा मात्र भएको र अब सबै वडामा विस्तार गरी नगरपालिकाको समग्र फोहोर व्यवस्थापन गर्ने योजना बनाएको बताउनुभयो । टोखा नगरपालिकाले फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि पाँच सदस्यीय अध्ययन समिति निर्माण गरेको छ । उक्त समितिले फोहोर व्यवस्थापनको वैकल्पिक उपायका बारेमा सुझाव दिएपछि व्यवस्थापनको दीर्घकालीन योजना बन्ने नगरपालिका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।