• १२ पुस २०८१, शुक्रबार

कुसुन्डा भाषाको पुस्तान्तरण प्रयास

blog

दिवाकर पोख्रेल

देउखुरी, भदौ १० गते । ‘मन्नी मन्नी वयन चीउ भया’ (धेरै धेरै राम्रो छ भाइ) सरुमारानी–६, बूढीचौर प्युठानकी हिमा कुसुन्डाले आफ्नो भाषामा सामाजिक सञ्जालमा भाइको फोटोमा प्रतिक्रिया लेख्नुभयो । यस्तै गुर्भाकोट–५, कुर्मी सुर्खेतका तेजबहादुर कुसुुन्डाले फेसबुकमा सामूहिक फोटा राख्दै लेख्नुभयो, ‘टोक मन्नी वयन चीउ’ (हामी धेरै राम्रा छौँ ।) 

कुसुन्डा भाषा लोप हुने हो कि भन्ने चिन्ता बढिरहेको समयमा नयाँ पुस्ताका कुसुन्डा समुदायले भाषा अभ्यास सुरु गरेका छन् । आफ्नो भाषामा लेख्न र बोल्न पाउँदा अपनत्व अनुभव हुने गरेको हिमा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सबैको आफ्नो भाषा छ, हाम्रो पनि छ, फरक यति हो– हाम्रो भाषा लोप हुने हो कि भन्ने चिन्ता छ । यस कारण पनि जाने जतिका शब्द राखेर वाक्य बनाएर सार्वजनिक गर्ने गरेका छौँ ।”

कुसुन्डा भाषाकी एक मात्र प्रखरवक्ता ज्ञानीमैयाँ कुसुन्डाको मृत्यु भएपछि कुसुन्डा भाषा लोप हुने भयो भन्ने चिन्तामा कुसुन्डा समुदाय थियो । अहिले कुसुन्डा भाषा बोल्न सक्ने रोल्पा निवासी कमलासेन कुसुन्डा मात्रै हुनुहुन्छ । उहाँबाटै भाषा पुस्तान्तरणको प्रयास भएको हो । कुसुन्डा समुदाय, अनुसन्धानकर्ता र सरकारी पहलमा कुसुन्डा भाषा जीवितै राख्ने प्रयास भइरहेको छ । यही प्रयासस्वरूप २०७५ सालमा ज्ञानीमैयाँ कुसुन्डा जीवितै हुँदा भाषा आयोगको सहयोगमा मातृभाषा पुस्तान्तरण कार्यक्रमअन्तर्गत पहिलो चरणको कुसुन्डा भाषा कक्षा सञ्चालनको सुरुवात गरियो । जसमा १७ जना कुसुन्डा र तीन जना अन्य गरी २० जनाको सहभागिता रहेको थियो । दाङ, प्युठान, रोल्पा र सुर्खेतबाट सहभागी आएका थिए । जसमा स्रोतव्यक्ति स्वर्गीय ज्ञानीमैयाँ कुसुन्डा, कमला सेन कुसुन्डा र प्रशिक्षकको भूमिका उदयराज आलेले गर्नुभयो । कुसुन्डा भाषासम्बन्धी कक्षा अहिले तेस्रो चरण सकेर चौथो चरणमा चलिरहेको छ । 

पहिलो चरणमा सामान्य सङ्कलन गरिएका शब्दका आधारमा सुरु गरिएको कक्षा दोस्रो चरणदेखि ‘कुसुन्डा गिपन’ नामको पाठ्यपुस्तक निर्माण गरेर पठनपाठनको सुरुवात गरिएको हो । कुसुन्डा भाषाको कक्षा सञ्चालनमा अनुसन्धाता उदयराज आलेले सघाइरहनुभएको छ ।

भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले कुसुन्डा भाषा अन्य भाषा परिवारभित्र नपर्ने भएकाले पनि यसलाई जोगाइ राख्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई स्थानीय सरकारले पनि सघाएको छ, हामी क्रमागत रूपमै भाषा कक्षा सञ्चालन गर्छांै, बालबालिकामा मात्रै होइन, उमेर पुगेकासँग पनि जोडेर भाषालाई परिवारसम्म पु¥याउने प्रयास हुन्छ ।” 

यसरी कुसुन्डा भाषा पुस्तान्तरण हुन थालेपछि स्वयं कुसुन्डा समुदाय पनि खुसी छन् । कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डाले सरकारी पक्षले नै चासोका साथ कक्षा सञ्चालन गरेर आफूहरूको भाषा संरक्षण गर्न खोजेको प्रति खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “समुदायको हिसाबले म कुसुन्डा समुदायमै पर्ने भए पनि भाषा बोल्न जान्दिनँ, मैले नजान्दा छोराछोरीले कसरी सिक्ने भन्ने समस्या थियो ।” 

भाषाशास्त्रीहरूका अनुसार कुसुन्डा भाषा अन्य भाषा परिवारमा नपर्ने एकल भाषा हो । त्यस कारणले पनि कुसुन्डा भाषाको महìव बढी छ । आफ्नो समुदायको बस्ती एकीकृत नहुँदा भाषाको अभ्यास नहुने भएकाले कुसुन्डा भाषा लोभ हुने चिन्तामा यो समुदाय छ । खासमा अन्तरजातीय विवाह हुँदा कुसुन्डा भाषा प्रयोग नगर्ने भएकाले अहिले सिकिरहेकाबाट पनि पूर्ण रूपमा भाषा जोगिन्छ भन्नेमा ढुक्क हुने अवस्था छैन । अनुसन्धानकर्ता उदयराज आलेका अनुसार बेलायती नागरिक ब्राइन हड्सनले दुई सय वर्ष पहिले कुसुन्डा भाषाका दुई सय २३ मूल शब्दकोे अध्ययन गरेका थिए । त्यसपछि १९६८ मा अमेरिकी मानवशास्त्री योहान राइनहार्डले गोरखा र सुर्खेतमा बसेर तीन सय ५० भन्दा बढी मूल शब्द सङ्कलन र सांस्कृतिक अध्ययन पनि गरेका थिए । सन् २००४ देखि डेविड बोट्सले आठ सय ५० भन्दा बढी शब्द सङ्कलन गरेर कुसुन्डा भाषाको पहिलो व्याकरण लेखेका छन् । सन २००८ देखि दाङका उदयराज आलेले निरन्तर अध्ययन गरिरहनुभएको छ । आलेले एक हजारभन्दा बढी मूल शब्द रहेको ‘कुसुन्डा जाति र शब्दकोष’ प्रकाशन गर्नुभएको छ । जुन नेपाली, अङ्ग्रेजी र कुसुुन्डा भाषामा प्रकाशित छ । आलेले कुसुन्डा भाषाको व्याकरण तयार पारेर प्रकाशनको पर्खाइमा रहेको बताउनुभएको छ । कुसुन्डा समाजको तथ्याङ्कअनुसार नेपालमा दुई सय ७३ जनाको कुसुन्डाको बसोबास छ ।