• १० मंसिर २०८१, सोमबार

सलमान रुस्दी र द सटानिक भर्सेस

blog

चर्चित बेलायती उपन्यासकार सलमान रुस्दीमाथि अमेरिकाको न्युयोर्कमा छुरा प्रहार भएपछि उहाँको सुरक्षा थप चुनौतीपूर्ण बनेको छ। अगस्ट १२ मा उहाँमाथि छुरा प्रहार भएको थियो। छुरा प्रहारबाट गम्भीर घाइते रुस्दीको भेन्टिलेटरमा उपचार गरिएको थियो। अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य बन्दै छ। उहाँ बोल्न थाल्नुभएको छ। न्युयोर्कमा आयोजित कार्यक्रममा रुस्दीमाथि न्युजर्सीका २४ वर्षीय युवक हाडी मातरकले पटक–पटक छुरा प्रहार गरेका थिए। 

रुस्दीको फोक्सो र कलेजोमा गहिरो चोट लागेको छ। आक्रमणपछि रुस्दीलाई हेलिकोप्टरबाट तत्कालै नजिकैको अस्पतालमा लगिएको थियो भने आक्रमणकारीलाई प्रहरीले हिरासतमा लिएको छ। आक्रमणपछि रुस्दी मञ्चबाट ढल्नुभएको थियो। रुस्दी राल्फ हेनरी रिजसँग हुने एउटा अन्तरसंवाद कार्यक्रमका लागि न्युयोर्कमा हुनुहुन्थ्यो। बहुमुखी प्रतिभाका धनी भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ मा प्रकाशित कृति ‘मिडनाइट चिल्ड्रेन’बाट चर्चित बन्नुभएको हो। उक्त किताब बेलायतमा मात्रै १० लाखप्रति बिक्री भएको थियो। यही किताबका लागि उहाँले प्रतिष्ठित बुकर पुरस्कारसमेत पाउनुभयो। ७५ वर्षीय रुस्दीले हालसम्म १४ वटा उपन्यास लेख्नुभएको छ। सन् १९८८ मा लेखेको ‘द सटानिक भर्सेस’का कारण उहाँ नौ वर्षसम्म भूमिगत बस्न बाध्य हुनुभयो। सन् १९८८ मा यो कृति प्रकाशित भएपछि रुस्दीलाई ज्यान मार्ने धम्की आउन थाल्यो । पुस्तक प्रकाशनको एक वर्षपछि सन् १९८९ मा इरानका सर्वोच्च नेता आयतोल्लाह रुहोल्लाह खामेनीले सलमान रुस्दीको हत्याको आह्वान गर्दै फतवा जारी गरे । खामिनीले रुस्दीको हत्या गर्न आह्वान गर्दै टाउकाको मूल्य ३० लाख अमेरिकी डलर तोकेका थिए  । 

यो उपन्यास प्रकाशित भएपछि भएको हिंसात्मक प्रदर्शनमा पुस्तकका अनुवादकसहित कैयौँ मानिस मारिएका थिए। ‘द सटानिक भर्सेस’ प्रकाशनपछि जारी भएको फतवा र विवादलाई नै केन्द्रमा राखेर उहाँले ‘जोसेफ एन्टोन’ शीर्षकमा संस्मरणसमेत लेख्नुभएको छ। रुस्दीले केही दिनअघि मात्रै आफ्नो प्रकाशोन्मुख उपन्यास ‘भिक्ट्री सिटी’को कभर सार्वजनिक गर्नुभएको थियो। 

रुस्दीको जीवन जहिले पनि खतरामा परेको छ। पाँच दशकदेखि साहित्यको क्षेत्रमा सक्रिय उहाँले आफ्नो कामका लागि धम्की र मृत्यु चेतावनीको सामना गर्नुपरेको छ। उहाँको यो चौथो उपन्यास ‘द सटानिक भर्सेस’ सबैभन्दा विवादास्पद कृति हो। यस उपन्यासलाई लिएर विश्वभर हङ्गामा भएको थियो। रुस्दीको यो उपन्यासले मुस्लिमहरूलाई गहिरो चोट पु-यायो। अवस्था कस्तो बन्यो भने इरान र बेलायतले कूटनीतिक सम्बन्धसमेत तोडेका थिए। यद्यपि रुस्दीलाई पश्चिमा मुलुकको समर्थन रहेको छ। मुस्लिम कट्टरपन्थीहरूले लेखक रुस्दीलाई दिइएको धम्कीको पश्चिमा बुद्धिजीवी र साहित्यकारहरूले आलोचना गर्दै आएका छन्।

सन् १९४५ मा मुम्बईमा जन्मिएका रुस्दी १४ वर्षको उमेरमा अध्ययन गर्न बेलायत जानुभयो। पछि उहाँले किङ्ग्स कलेज, क्याम्ब्रिजबाट इतिहासमा औपचारिक अध्ययन पूरा गर्नुभयो। उहाँ बेलायती नागरिक बन्नुभयो र बिस्तारै इस्लाम धर्मबाट टाढा हुनुभयो। उहाँले केही समय अभिनेताका रूपमा पनि काम गर्नुभयो। पछि उहाँ विज्ञापनको क्षेत्रमा आएर कपिराइटरको भूमिकामा काम गर्नुभयो। यससँगै उहाँले उपन्यास पनि लेख्नुभयो। उहाँको पहिलो पुस्तक ‘ग्राइमस’ले खासै सफलता पाउन सकेन। रुस्दीले आफ्नो अर्को पुस्तक ‘मिडनाइट चिल्ड्रेन’ लेख्न पाँच वर्ष लगाउनुभयो। यो पुस्तक विश्वभर लोकप्रिय भयो। रुस्दीको ‘मिडनाइट चिल्ड्रेन’मा भारतको बारेमा कथा थियो तर दुई वर्षपछि आएको उहाँको तेस्रो उपन्यास ‘सेम’ पाकिस्तानका बारेमा थियो। चार वर्षपछि उहाँले निकारागुआमा आफ्नो यात्राको बारेमा ‘जगुआर स्माइल’ लेख्नुभयो । 

‘द सटानिक भर्सेस’ सन् १९८८ को सेप्टेम्बरमा प्रकाशित भएको थियो। उक्त किताबले उहाँको जीवनलाई खतरामा धकेलिदियो। मुस्लिमहरूको एक समूहले यस उपन्यासलाई ईश्वरनिन्दक ठाने र यसविरुद्ध व्यापक विरोध प्रदर्शन गरे। भारतले यस उपन्यासलाई प्रतिबन्ध लगायो। त्यति बेला भारतमा राजीव गान्धीको सरकार थियो। त्यसपछि पाकिस्तान, दक्षिण अफ्रिका र अन्य धेरै इस्लामिक देशहरूले यसलाई प्रतिबन्ध लगाए।

यद्यपि यो उपन्यासलाई धेरै विधामा प्रशंसा पनि गरिएको थियो र यसलाई ह्वाइटब्रेड पुरस्कार पनि दिइएको थियो तर पुस्तकको विरोध बढ्दै गयो र दुई महिनापछि यसको विरोधमा सडकमा प्रदर्शन हुन थाल्यो। मुस्लिमहरूले यो उपन्यासलाई इस्लामको अपमानका रूपमा हेरिरहेका थिए। मुस्लिमहरूको विरोध धेरै कुरामा थियो तर दुई पात्रका बारेमा विशेष विरोध थियो। तिनीहरूको नाम पैगम्बर मुहम्मदका दुई पत्नीको नामसँग हुबहु थियो।

सन् १९८९ को जनवरीमा ब्राडफोर्डका मुस्लिमहरूले पुस्तकका प्रतिहरू जलाए। पुस्तक बेच्ने समाचार एजेन्सी डब्लूएच स्मिथले पुस्तक प्रकाशन गर्न बन्द गरे। यसैबीच रुस्दीले भने ईश्वरनिन्दाको सबै आरोप अस्वीकार गर्नुभयो। सन् १९८९ को फेबु्रअरीमा मुस्लिमहरूले रुस्दीविरुद्ध मुम्बईमा ठूलो विरोध प्रदर्शन गरे। यस प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर १२ जनाको मृत्यु भएको थियो भने ४० भन्दा बढी घाइते भएका थिए।

सन् १९८९ को फेब्रुअरीमा भारत प्रशासित कश्मीरमा ‘द सटानिक भर्सेस’को विरोधमा प्रदर्शन गरिरहेका मानिस र प्रहरीबीचको झडपमा तीन जनाको मृत्यु भएको थियो भने सयभन्दा बढी घाइते भएका थिए। यसै क्रममा पाकिस्तानको इस्लामावादस्थित अमेरिकी सूचना केन्द्रबाहिर प्रदर्शनकारी र प्रहरीबीच भएको हिंसात्मक झडपमा छ जनाको मृत्यु भयो भने ८३ जना घाइते भए। उक्त भीडले अमेरिकामा पुस्तकमाथि प्रतिबन्ध लगाउन माग गरेको थियो।

सन् १९८९ मा इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले रुस्दीको हत्याको आह्वान गर्दा दिल्लीको जामा मस्जिदका शाही इमाम अब्दुल्ला बुखारीले पनि उनलाई समर्थन गर्दै रुस्दीको हत्याका लागि आह्वान गरे।

यसै क्रममा इरानमा भएको प्रदर्शनमा बेलायती दूतावासमा आक्रमण भएको थियो। रुस्दीको हत्या गर्नेलाई पुरस्कार पनि घोषणा गरिएको थियो। त्यति नै बेला तनावपूर्ण समयमा बेलायतका केही मुस्लिम नेताहरूले संयमका लागि अपिल गरिरहेका थिए, अरूले अयातोल्लाह खामेनीलाई समर्थन गरिरहेका थिए। अमेरिका, फ्रान्स र अन्य पश्चिमी देशहरूले रुस्दी हत्या धम्कीको आलोचना गरे। विश्वभर विरोध र इरानले हत्याको फतवा जारी गरेपछि रुस्दी आफ्नी श्रीमतीसँग लुकेर बस्नुप-यो। मुस्लिम धर्मावलम्बीहरूलाई चोट पु-याएकोमा गहिरो दुःख प्रकट गर्दै उहाँले माफी माग्नुभएको थियो। 

रुस्दीको पुस्तक प्रकाशक पेन्गुइन वाइकिङद्वारा प्रकाशन गरिएको थियो। प्रकाशकको ​​लन्डन कार्यालयबाहिर प्रहरी तैनाथ गरिएको थियो भने न्युयोर्कको कार्यालयमा पनि धम्की आएको थियो तर किताब एट्लान्टिक महासागरको दुवैतर्फ अर्थात् अमेरिका र युरोपमा निकै लोकप्रिय भयो। मुस्लिमहरूको चरम प्रतिक्रियाविरुद्धको प्रदर्शनलाई युरोपेली देशहरूले समर्थन गरे र लगभग सबै युरोपेली देशहरूले इरानबाट आफ्ना राजदूत फिर्ता गरे। रुस्दी सन् २००४ मा मुम्बई आउँदा मुस्लिमहरूले चर्को विरोध गरे। उक्त पुस्तकको विषयवस्तुका कारण लेखक सलमान रुस्दीले मात्रै धम्कीको सामना गर्नुपरेको थिएन। 

जापानी भाषामा पुस्तक अनुवाद गर्ने अनुवादकको शव सन् १९९१ को जुलाईमा टोकियोको उत्तरपूर्वी विश्वविद्यालयमा फेला परेको थियो। प्रहरीका अनुसार अनुवादक हितोसी इगारासीलाई सुकुबा विश्वविद्यालयको कार्यालयबाहिर धेरै पटक छुरा प्रहार गरी मृत्युका लागि छाडिएको थियो। उनी त्यहाँका सहायक प्राध्यापक पनि थिए। सन् १९९१ को जुलाईमा पुस्तकको इटालियन अनुवादक एटोरो क्याप्रियोलोलाई मिलानमा उनको अपार्टमेन्टमा हमला गरियो। यद्यपि उनी आक्रमणबाट बच्न सफल भए। अतः चर्चित लेखक रुस्दीको जीवनरक्षा र सुरक्षा फेरि चुनौतीपूर्ण बनेको छ। उहाँमाथि भएको छुरा प्रहार अत्यन्त अमानवीय कार्य हो। अब उहाँको उचित सुरक्षा प्रबन्ध मिलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउन आवश्यक छ।