• १० मंसिर २०८१, सोमबार

एसियाका मानवतावादी नेता

blog

नेपाली भूमिमा बेलाबेलामा महान् विभूतिहरू जन्मिएर महत्वपूर्ण योगदान दिएको इतिहास छ। महान् तपस्वी र विभूतिहरूको लहरमा मानवतावादी नेता जयपृथ्वीबहादुर सिंह एक अग्रणी थिए जो राणाकालीन अन्धकार युगमा शिक्षा र मानवताको चिराग बनेर चम्किए। नेपालको दुर्भाग्य नै भन्नुपर्छ तत्कालीन शासकको कुदृष्टिका कारण उनले आफ्नो थातथलो मात्र छोड्नु परेन, स्वदेश नै छोडेर विदेशिनु प-यो। १९३४ सालको समय, जतिबेला नेपालमा जहानियाँ राणा शासन (आधुनिक नेपालको अन्धकार युग) ३१ वर्षमा पुग्दै थियो, त्यतिबेला नेपाल र नेपालीको भाग्य र भविष्य बनेर जन्मेका थिए, नेपालका दोस्रो गौतमबुद्ध– जयपृथ्वीबहादुर सिंह। नेपालको माटोमा जन्मिएका सिद्धार्थ गौतम बुद्धले समस्त मानव कल्याणका लागि आफ्नो राजगद्दी त्याग गरेजस्तै जयपृथ्वीबहादुरले पनि मानव सेवाका लागि आफ्नो बझाङ राज्यको राजपाठ त्याग गरेका थिए। यसैकारण उनलाई नेपालको दोस्रा गौतम बुद्ध भनिएको हो। 

राणाशासनको उत्तराद्र्धमा जतिबेला नेपालमा शहीदकाण्डको आलो घाउ निको भइसकेको थिएन, जयपृथ्वीबहादुरको वि.सं. १९९७ मा बेङ्लोरमा मृत्यु हुनु भयानक काकताली संयोग थियो। विश्वका अन्य समाचार संस्थाजस्तै भारतबाट प्रकाशित हुने ‘अमृतबजार पत्र’ नामक पत्रिकाले ‘नेपालका दोस्रो गौतम बुद्धको निधन’ भनेर समाचार प्रकाशित गर्दै गर्दा यता नेपालमा भने उनी गुमनाम बन्दै थिए। आजभन्दा १४५ वर्षअघि बझाङमा जन्मिएका हुन् जयपृथ्वी बहादुर सिंह । उनको योगदानलाई कदर गर्दै नेपाल सरकारद्वारा उनलाई राष्ट्रिय विभूतिको सम्मान दिइएको छ। नेपालका सच्चा नायक भएर पनि बिर्सिएका, महìव नदिइएका व्यक्तिको रूपमा यिनको गणना हुन्थ्यो। नेपालको इतिहासका युगद्रष्टा हुँदाहुँदै पनि यिनी लामो समयसम्म ओझेलमा परिरहे। राणाहरूको समयमा यिनलाई राणा विरोधी मानियो, प्रजातन्त्र आएपछि श्री ३ राणा प्रधानमन्त्री चन्द्रशमशेरको ज्वाइँको रूपमा मात्रै हेरियो। यसरी जयपृथ्वीले शिक्षा, स्वास्थ्य, कृषि, छापा पत्रकारिता, वैदेशिक रोजगार र अध्ययनसँगै स्वदेश र विदेशमा गरेको समाज सेवाको योगदानको कदर जति हुनुपर्ने हो त्यो भएन। समयभन्दा धेरै पहिले जन्मिएका जयपृथ्वी मानवतावादका प्रणेता हुन्। उनले मानवतावादको दर्शनबारे विदेशका विभिन्न ठाउँमा बोलेर, लेखेर, पुस्तक प्रकाशित गरेर प्रकाश पार्दै हिँडे।

विभिन्न भाषाका ज्ञाता

जयपृथ्वीलाई नेपाली, हिन्दी, अङ्ग्रेजी र संस्कृत भाषाको ज्ञान थियो। विदेशका विभिन्न स्थानमा विविध विषयमा बोल्दा उनले स्तरीय अङ्ग्रेजी भाषाको प्रयोग गर्दथे। जयपृथ्वीले आफ्नो इतिहास, सभ्यता र संस्कृतिको जरोकिलो नबिर्सिएर आधुनिक शिक्षा अवलम्बन गर्न बारम्बार प्रेरणा दिएका छन्। मातृभाषा, देवनागरी लिपि र सरल सहज ढङ्गको शिक्षामा जयपृथ्वीले शिक्षकहरूलाई घचघचाएर बोलेको, लेखेको विषयहरू प्रकाशित छन्। विद्यालयका शिक्षकहरूले स–साना केटाकेटीहरूलाई शिक्षा प्रदान गर्दा सरल भाषा र भावमा जोड दिनुपर्ने कुरा जयपृथ्वीले धेरैपल्ट भनेका छन्। विविध पुस्तक लेखन र प्रकाशनः अक्षराङ्क शिक्षा वि.सं. १९५८ मा प्रकाशित गरेपछि नेपाली शिक्षा क्षेत्रको इतिहासमा त्यो पुस्तक कोसेढुङ्गाको रूपमा स्थापित भयो। जयपृथ्वीका विभिन्न कृतिहरू प्रकाशित छन्। 

१९६४ को युरोप यात्रा

राणा प्रधानमन्त्री चन्द्रशमशेर युरोपको औपचारिक भ्रमणका लागि १९६४ चैत २५ गते नेपालबाट प्रस्थान गरे। चन्द्रशमशेरको युरोप यात्रामा विभिन्न निकायका अफिसरदेखि भान्छा तैयार गर्ने ब्राह्मण र अरू काम गर्ने कामदार गरेर जम्मा ४५ जना थिए। जयपृथ्वी पनि चन्द्रशमशेरको छोरी ज्वाइँको हैसियतले युरोप यात्रामा सम्मिलित थिए। 

बेङ्लोर कलामन्दिर उद्घाटन 

१९९२, ३ मइ मा बेङ्लोरमा जयपृथ्वीले कला मन्दिरको उद्घाटन गरे। त्यसबेला जयपृथ्वीले बोलेका विषयहरू मध्य कला र आचरण बारेको वर्णन सारै रोचक र स्तरीय छ। कलाको पनि नैतिक मूल्य हुन्छ। कलाले बौद्धिकभन्दा मानिसको भावनात्मक पक्षलाई बढी अपील गर्छ। जसरी भावना बिना शारीरिक र मानसिक कार्य सम्भव छैन त्यसरी नै मानिसको भावना पनि सधैँ उच्च, स्तरीय र सुधारिएको हुनु पर्दछ जुन व्यक्तित्व सुधारका लागि अपरिहार्य आधार हो भन्ने उनको दृष्टिकोण थियो। यसकारण मानवजीवनमा सङ्गीत, चित्रकला, मूर्तिकला र वास्तुकलाले एउटा अद्भूत प्रभाव उत्पन्न गर्न सक्दछ भन्ने उनको विचारले प्रकारन्तरणमा मानवतावादी दर्शनलाई उजागर गरेको देखिन्छ। यसरी जयपृथ्वीले बेङ्लोर कला मन्दिरमा दिएको उद्घाटन भाषणमा कला र आचरण बारे नयाँ ढङ्गले चर्चा गरेका छन्।

नेपाली भाषा र शिक्षामा उनको योगदान

बालबालिकालाई नेपाली भाषाका माध्यमबाट प्रारम्भिक शिक्षा दिनुपर्छ भन्ने कुरामा जयपृथ्वी दत्तचित्त भएर लागेका थिए। उनले १९५८ सालमा बालबालिका लागि उपयुक्त ‘अक्षराङ्क’ नामक पुस्तक लेखेका थिए। पाशुपत छापाखानामा एक हजारप्रति छापिएको यस पुस्तकले नेपाली समाजमा नयाँ क्रान्ति ल्याएको थियो। सीपमूलक र व्यावहारिक शिक्षाका पक्षमा उनले आवाज उठाएका थिए। यस पुस्तकमा नापतौल, ऋतु–महिना, ग्रह–नक्षत्र र इस्लाम धर्मको चाडपर्वबारे सरल भाषामा वर्णन गरिएको छ।

जयपृथ्वीले ‘अक्षरमाला’, ‘पदार्थ तìव विवेक’, ‘बालबोध–भाग १’, ‘जापानको इतिहास’, ‘शारीरिक शिक्षा दर्पण’, र ‘श्रेस्ता दर्पण भाग १ र २’, ‘बालबोध’, ‘प्राकृत व्याकरण’, ‘भूगोलविद्या’, ‘मानवतावाद सम्बन्धी ३ भोल्युम’, ‘द फ्ल्याग अफ पिस’ जस्ता दार्शनिक पुस्तक लेखेका छन्। यी पुस्तकको अध्ययन गर्दा यीनको अध्ययन, मनन र लेखन अब्बल रहेको प्रस्ट हुन्छ। बझाङ र काठमाडाैँको नक्साल नारायणचोकमा सत्यवादी पाठशाला खोलेर जयपृथ्वीले आफू शिक्षाप्रेमी भएको प्रमाणित गरिदिए। बझाङ निवासी परिमल सुवेदारबाट जयपृथ्वीबारे एउटा रोचक जानकारी प्राप्त भएको छ। उनका अनुसार, पाठशालामा छोराछोरीलाई पढ्न पठाउन अभिभावकको ठूलो भूमिका हुन्छ भन्ने जयपृथ्वीले बुझेका थिए। त्यसैले उनले अभिभावकलाई अभिप्रेरित गर्न हप्तामा एक दिन भेटघाट र राम्रो खानपानको व्यवस्था पाठशालाको हातामा मिलाएका थिए। बालबालिकालाई नेपाली भाषाका माध्यमबाट प्रारम्भिक शिक्षा दिनुपर्छ भन्ने कुरामा जयपृथ्वी दत्तचित्त भएर लागेका थिए। उनले १९५८ सालमा बालबालिका लागि उपयुक्त ‘अक्षराङ्क’ नामक पुस्तक लेखेका थिए। 

सम्मानित नायक

नेपालको इतिहासमा जयपृथ्वी यस्तो पात्र हुन्, जो नायक भएर पनि बिर्सिएका थिए ओझेलमा परेका थिए तर ढिलै भए पनि नेपाल सरकारले उनको योगदान र गरिमालाई सम्झेर महान् राष्ट्रिय विभूतिको रूपमा घोषणा गरेको छ। पहिलो र दोस्रो विश्वयुद्धले आक्रान्त बनेको विश्व समाजलाई नै शान्ति र मानवताको महत्व दिलाउनका लागि उनी आफ्नो घर–परिवार र राजगद्दीको विरासतलाई त्यागेर मानवसेवाका लागि विश्वयात्रा गरेका थिए। शान्ति, अहिंसा र मानवतालाई आफ्नो जीवनको मूलमन्त्र बनाएर यसको सन्देश छर्दै उनी नेपालबाट भारत हुँदै पूर्वीएसिया, मध्यएसिया र पश्चिम युरोपसम्मको यात्रा गरेका थिए। मानवतावादको आवश्यकता र अभ्यास, शान्ति, सद्भावना र यसका उपाय, पद्धतिजस्ता मानवतावादी दर्शनलाई फैलाउँदै विश्वयात्रा गर्नुमा मानवसेवा नै प्रमुख आधार थियो। स्विट्जरल्यान्ड, जर्मनी, भियना, हंगेरी, बुखारेस्ट, पोल्यान्ड, फ्रान्स, लण्डन, जापान र अमेरिकालगायत ठाउँमा गएर मानवतावाद, अध्यात्म, पूर्वीय संस्कृति र सभ्यताको उनले प्रचार–प्रसार गरे। धर्म र संस्कृति विज्ञानसम्मत हुनुपर्छ, धर्मयुद्ध र जातीय युद्ध मानव समाजका लागि अत्यन्तै घातक हुन्छ भन्दै आफ्ना जीवनोपयोगी विचार पश्चिम मुलुकमा सम्प्रेषण गरे। पूर्व र पश्चिमलाई मानवतावादले मात्र जोड्न सक्छ भन्ने मूल मर्मलाई लिएर हिँडेका जयपृथ्वीले हजारौँ घाइते, रोगी, द्वन्द्वपीडित जनताका लागि आवश्यक उपचार र अन्य व्यवस्था गरेका थिए।

पूर्वका ताराका रूपमा परिचित जयपृथ्वीले पश्चिमा मुलुकमा प्रख्याती कमाए। अन्तर्राष्ट्रिय स्तरका रेडियो, टिभीलगायत सञ्चारमाध्यममा उनले धेरै अन्तर्वार्ता र प्रवचन दिएका थिए। उनी नेपालको इतिहासका महान् युगद्रष्टा भएर पनि इतिहासकारका आँखामा सदा नै ओझेल परे। सौभाग्य नै भनौँ, योगी नरहरिनाथले जयपृथ्वीको वंशावलीको खोज गरी प्रकाशमा ल्याएका छन्, (योगी नरहरिनाथ, इतिहास प्रकाशमा सन्धिपत्र संग्रह, २०५५:५५२ )। 

हिन्दु आदर्शअनुसार मानव जीवनका लागि त्याग महत्वपूर्ण विषय हो। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सर्वजन हितका लागि जीवन समर्पण गर्नु नै महान्कार्य हो। भारतीय उपमहाद्वीपमा त्यस्ता महान् त्यागीहरू पनि जन्मेका छन् जो देश र भूगोलको सीमाभन्दा माथि उठेर विश्वका निधि बनेका छन्। त्यस्ता निधिहरूमा महामानव गौतमबुद्ध एक हुन् जसलाई इडविन अर्नोल्डले सन् १८७९ मा प्रकाशित आफ्नो पुस्तक द लाइट अफ एसियामा एसियाको ज्योति भनेका छन् (केदार वशिष्ठ, नेपाल विद्या, पृष्ठः १०१)। 

गौतमबुद्ध जस्तै अर्का महाज्योति हुन् जयपृथ्वी जसले मानवातावादसम्बन्धी अन्तर्राष्ट्रिय संस्थाका (सन् १९४८) स्थापना हुनुभन्दा पहिले नै द्वन्द्वरत देशहरूमा गएर आफ्नो मानवतावादी विचार, मानवसेवा र परोपकारी भावनाहरूको प्रवाह मात्र गरेनन् की, व्यवहारमा परिणत गरेर देखाइदिए। त्यसकारण मानवतावादको इतिहासमा उनको योगदान र भूमिकाबारे नेपालले मात्र होइन विश्व समुदायले नै खोजी र अध्ययन गर्न जरुरी भइसकेको छ।